ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गाडी आयात घटेपछि वीरगञ्ज भन्सारको राजस्व लक्ष्य पुगेन

Jul 19, 2019  
समाचार मुख्य खबर
Image Not Found वीरगञ्ज । आयात कारोबार अपेक्षित वृद्धि नभएपछि वीरगञ्ज भन्सारले राजस्व असुलीको लक्ष्य पूरा गर्न सकेन । आयात निर्यात कारोबार परिमाणका आधारमा सबैभन्दा ठूलो मानिएको यो भन्सारले आर्थिक वर्ष (आव) २०७५/७६ मा १ खर्ब ४७ अर्ब ५३ करोड रुपैयाँ कुल राजस्व संकलन गरेको छ । संकलित कुल राजस्व लक्ष्यको तुलनामा १४ प्रतिशत कम उठेको प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले जानकारी दिए । आव २०७५/७६ का लागि यो भन्सारलाई १ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो । ‘गत आवका लागि राजस्वको लक्ष्य ३० प्रतिशतले बढेकामा आयात भने १५ प्रतिशत मात्र वृद्धि भयो,’ उनले आर्थिक अभियानसित भने, ‘सवारी साधन र केही औद्योगिक कच्चा पदार्थको आयातमा समेत कमी आएको छ ।’ बढी राजस्व दिने जीप, कार भ्यान, गाडीका चेसिस, मोटरसाइकल, क्लिंकर, सिमेन्टलगायत वस्तुको आयातमा कमी आएको वीरगञ्ज भन्सारका सूचना अधिकृत मनिष महतोले बताए । उक्त भन्सारमा संकलन हुने राजस्वमध्ये आधाभन्दा बढी परिमाण गाडी र इन्धन आयातबाट संकलन हुन्छ । गाडीमा २३० देखि ३०० प्रतिशतसम्म राजस्व तोकिएको छ । सरकारले अटो लोनमा कडाइ गरेपछि गाडीको आयातमा कमी आएको हो । वाणिज्य बैंकहरूलाई गाडी कर्जामा मूल्यको ५० प्रतिशतभन्दा बढी कर्जा लगानी नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन गरेपछि आयात प्रभावित भएको छ । वीरगञ्ज नाकाबाट क्लिंकर आयातमा अवरोध कायम छ । २०१७ डिसेम्बर २२ देखि भारतीय रेलको रक्सौल गोदाममा क्लिंकर लोड अनलोडमा रोक लगाइएको छ । अहिले मुजफ्फरपुरबाट ट्रकमा लोड भएर क्लिंकर आयात हुने गरेको छ । सोही कारण क्लिंकरको आयात घटेको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले बताए । स्वदेशमा क्लिंकर उत्पादन बढ्नु र ढुवानीमा समस्या भएपछि वीरगञ्जबाट यसको आयातमा कमी आएको उद्योगीहरू बताउँछन् । क्लिंकर पनि वीरगञ्ज भन्सारलाई राजस्व दिने मुख्य औद्योगिक कच्चा पदार्थको सूचीमा थियो । दूध, मरीच र अल्कोहलरहित पेय पदार्थको आयात पनि घटेको महतोले बताए । राजस्व दिने मुख्य वस्तुको आयात अपेक्षा अनुसार नभएपछि भन्सार महशुलतर्फ लक्ष्यको ७३ प्रतिशत मात्र उठेको छ । ७२ अर्ब २४ करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य राखिएकामा ५२ अर्ब ६९ करोड रुपैयाँ संकलन भएको हो । ५१ अर्ब ८८ करोड रुपैयाँ मूल्य अभिवृद्धि करको लक्ष्य राखिएकामा ६१ अर्ब २ करोड रुपैयाँ मात्र संकलन भएको भन्सारले बताएको छ । यो लक्ष्यभन्दा २० प्रतिशत कम हो । भन्सारले अन्तःशुल्क भने लक्ष्यभन्दा ५९ करोड रुपैयाँ बढी उठाएको छ । २३ अर्ब ४ करोड रुपैयाँको लक्ष्यमा २३ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको महतोले जानकारी दिए ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्