arthik abhiyan
ad banner

वैदेशिक रोजगारी : मृत्यु भएकाका परिवारलाई साढे ४८ करोड

Jul 25, 2019 
रोजगारी
NA
author avatar अभियान संवाददाता

काठमाडौं । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आर्थिक वर्ष २०७५/७६ मा कल्याणकारी कार्यअन्तर्गत रू. ६२ करोड ३६ लाख ५४ हजार वितरण गरेको छ । यसमध्ये वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायताअन्तर्गत ४८ करोड ४९ लाख ४० हजार प्रदान गरेको छ । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएमा ७ लाखबराबरको आर्थिक सहायता दिने गर्दछ ।

बोर्डका अनुसार गत आवमा २३ महिला र ७३० पुरुष गरी ७५३ जनाको मृत्यु भएको छ । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार अंगभंग र बिरामी भएका कामदारलाई ९ करोड १४ लाख १३ हजार आर्थिक सहायता दिइएको छ । यस्तो सहायता पाउनेहरूमा १२ महिला र ३२३ पुरुष छन् । कामदारका परिवारलाई औषधोपचार सहयोगअन्तर्गत १२ लाख १५ हजार सहयोग पनि गरिएको छ ।

हाल वैदेशिक रोजगार बोर्डबाट विदेशमा मृत्यु भएकाका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च, विदेशमा अलपत्र परेका शव ल्याउन सहयोग गर्ने गर्दछ । बोर्डले अलपत्र परेका कामदारलाई नेपाल ल्याउन टिकट खर्चबापत ६५ लाख ६५ हजार खर्च गरेको छ । बोर्डका अनुसार गत आव पाँच महिलासहित ७८ जनालाई नेपाल आउने हवाई टिकट दिइएको छ । यस्तै अलपत्र कामदारको शव नेपाल ल्याउन पेश्की रकम मात्र ७८ लाख ५८ हजार पठाएको पनि बोर्डले जानकारी दिएको छ ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार वैदेशिक रोजगारको क्रममा मृत्यु हुने श्रमिकका परिवारलाई ७ लाख र सन्ततिलाई छात्रवृत्तिलगायत सुविधा दिने गरिएको छ । वैदेशिक रोजगार छात्रवृत्ति शीर्षकमा कुल १ करोड ४८ लाख ६५ हजार खर्च गरिएको छ । यसरी छात्रवृत्ति पाउने कामदारका छोराछोरीको संख्या १ हजार ४३३ छ । 

वैदेशिक रोजगारको क्रममा मृत्यु भएका कामदारको शव घर ठेगानासम्म ल्याउन बोर्डले १ करोड ५७ लाख ६० हजार खर्च गरेको छ । यसैगरी गत आवमा १ हजार ४८० महिलालाई अभिमुखीकरण तालीम दिएको छ । यसका लागि १० लाख ३६ हजार खर्च गरिएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस्