arthik abhiyan
ad banner

नेपालमा ३० लाख मानिसलाई मिर्गाैला सम्बन्धी रोग छ

Jul 26, 2019
अन्तरवार्ता
Image Not Found
डा. पुकारचन्द्र श्रेष्ठ, कार्यकारी निर्देशक, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसँग मिर्गौला प्रत्यारोपण, मिर्गौला फेल हुने कारण, अंगदान तथा नेपालमा मिर्गौला रोग र उपचारको अवस्थाबारे आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार :

मिर्गौला प्रत्यारोपण के हो ?
शरीरका कुनै पनि अंगले काम नगरेपछि त्यसको सट्टा नयाँ अंग फेर्नु नै प्रत्यारोपण हो । त्यसैगरी मिर्गौला पनि फेल भएपछि अर्को व्यक्तिको स्वस्थ मिर्गौला प्रत्यारोपण गरिन्छ । मिर्गौला हाम्रो शरीरलाई जीवित राख्न नभई नहुने अंग हो । यसले काम गर्न छाडेपछि प्रत्यारोपण गर्नु आवश्यक छ ।

मिर्गौला फेल कसरी हुन्छ ?
मिर्गौला फेल हुने सबैभन्दा ठूलो कारण मधुमेह र उच्च रक्तचाप हो । ८० प्रतिशतसम्म मिर्गौला रोग यसैकारण हुन्छ । त्यस्तै ‘ग्लोमेरुलोनेफ्राइटिस’ अर्थात् मिर्गौला सुन्निने समस्याका कारण पनि मिर्गौला फेल हुन सक्छ । सामान्यतया २० देखि ५० वर्ष उमेर समूहका व्यक्तिमा ग्लोमेरुलोनेफ्राइटिस हुन्छ र सोभन्दा बढी उमेरका व्यक्तिमा मधुमेह, उच्च रक्तचाप लगायत समस्या देखिन्छन् । पत्थरी, वंशाणुगत रोग, जथाभावी औषधि सेवन, गलत खानपान आदि मिर्गौला रोगका अन्य कारण हुन् ।

मिर्गौला फेल हुनुपूर्व कस्ता किसिमका लक्षण देखिन्छन् ?
मिर्गौला फेल हुनुअगाडि वाकवाकी लाग्ने, शरीर पहेँलो हुने, रगत कम हुने, पिसाबको मात्रा कम हुने, थकावट हुने, मुख फुल्ने, खान मन नलाग्ने, फोक्सोमा पानी जमेर श्वास फेर्न गाह्रो हुने लगायत लक्षण देखिन्छन् । तर ९० प्रतिशत मिर्गौला फेल भइसक्दासम्म पनि कुनै लक्षण नदेखिन पनि सक्छन् ।

मिर्गौला फेल हुन नदिन के गर्नुपर्छ ?
मिर्गौला रोग संसारकै महँगो रोगमध्ये पर्दछ । मिर्गौला फेलपछि प्रत्यारोपण हुने भए पनि अंग पाउन गाह्रो छ । तर मिर्गौला फेल हुनबाट बच्ने बचाउने भने प्रशस्त उपाय छन् । यसका लागि साधारण जीवनशैली अपनाउनुपर्छ । दाल, भात, तरकारी लगायत खाना खानु नै राम्रो हुन्छ । चिल्लो, गुलियो, जंकफुड इत्यादि खानु हुँदैन । जथाभावी औषधि सेवन नगर्ने, पिसाबको संक्रमणबाट बच्ने, पत्थरी लगायत रोग लाग्न नदिने र समयमै उपचार गर्ने, पानी प्रशस्त पिउने, शारीरिक व्यायाम र तौल नियन्त्रण गर्ने तथा खानपिनमा ध्यान दिने लगायत उपाय अपनाउँदा मिर्गौला रोग लाग्न तथा मिर्गौला फेल हुनबाट बच्न सकिन्छ । मिर्गौला फेल जटिल समस्या हो, ९० प्रतिशतसम्म मिर्गौला फेल भइसक्दासम्म कुनै पनि लक्षण नदेखिन सक्ने हुँदा शुरूमै सावधानी अपनाई वर्षको एकपटक मिर्गौलाको जाँच गर्नुपर्छ ।

मिर्गौला फेलपछि प्रत्यारोपण नै गर्नुपर्छ अथवा डायलासिस गर्दा पनि हुन्छ ?
मिर्गौला फेल भएपछि सकेसम्म प्रत्यारोपण नै गर्नुपर्छ । हेमोडायलासिसबाट पनि मेशिनले सफा गरेर बिरामीलाई बचाउन सकिन्छ । तर डायलासिसका सीमित फाइदा भएकाले प्रत्यारोपण गर्नु नै राम्रो हुन्छ । प्रत्यारोपण गरेको व्यक्ति प्राकृतिक रूपमै पुरानो जीवनशैलीमा फर्कन सक्छ । डायलासिस मात्र गर्दा यसलाई जीन्दगीभर निरन्तरता दिइराख्नुपर्ने हुन्छ । अर्को कुरा, २ वर्षमा डायलासिस गर्ने पैसाले नै मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । तर क्यान्सर, मुटु तथा फोक्सोसम्बन्धी रोग लागेको व्यक्ति अथवा प्रत्यारोपण गर्न नसकिने व्यक्तिलाई भने डायलासिस नै गर्नुपर्छ । 

मिर्गौला प्रत्यारोपणपछि केही संक्रमण पनि देखिन्छ कि ?
मिर्गौला मात्र नभएर प्रत्यारोपण गरिएको शरीरको कुनै पनि अंगलाई शरीरले अस्वीकार गर्न खोज्छ । यसका लागि प्रतिरक्षा शक्ति कमजोर पार्न औषधि दिइन्छ । यस्तो अवस्थामा रोग छिटो सर्न सक्ने, रोगले छिटो आक्रमण गर्न सक्ने सम्भावना हुन्छ । मिर्गौला प्रत्यारोपणको केही समयसम्म रोगी व्यक्तिबाट सकभर टाढै रहनुपर्छ । प्रत्यारोपणपछि कुनै पनि किसिमको संक्रमण भएमा परामर्श गर्नुपर्छ ।

मिर्गौलाको प्रत्यारोपण कसरी गरिन्छ ?
शरीरमा दुईओटा मिर्गौला हुन्छन् । दुईमध्ये एउटामा कुनै खराबी आएमा अथवा निकालिदिएमा कुनै फरक पर्दैन । मिर्गौलाको शल्यक्रियापूर्व डायलासिस गरिन्छ । यो रगत सफा गर्ने प्रक्रिया भएकाले प्रत्यारोपणपूर्व आवश्यक हुन्छ । डायलासिस मात्रै गरिरहे व्यावहारिक जीवनमा अप्ठ्यारो पर्छ । यातायात खर्च, खाना खर्च, उपचार खर्च लगायत धेरै खर्च हुनुका साथै बिरामीले पहिलेको जसरी काम गर्न सक्दैन । यसले गर्दा बिरामी मात्र नभएर बिरामीका आफन्त पनि प्रभावित हुन्छन् । मिर्गौला प्रत्यारोपणका लागि सर्वप्रथम त अंगदाता हुनुपर्छ । नेपालको कानूनमा नजीकको नातेदार सबैले अंगदान गर्न पाउने व्यवस्था छ । म्याच नभए अर्को बिरामीको परिवारको अंगसँग साटासाट गरिन्छ । त्यसपछि शल्यक्रिया गरी मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ।

अंगदानबाट प्राप्त मिर्गौलाको प्रत्यारोपण कस्ता व्यक्तिमा गरिन्छ ?
पहिलेदेखि डायलासिस गर्दै कुरेर बसेको व्यक्तिलाई मिर्गौला प्रत्यारोपणको प्राथमिकतामा राखिन्छ । त्यस्तै प्रत्यारोपण नियमावलीअनुसार पुरुषलाई भन्दा महिलालाई प्राथमिकताका साथ प्रत्यारोपण गरिन्छ । किनभने अधिकांश ठाउँमा पुरुषले भन्दा महिलाले पुरुषलाई अंगदान गर्ने गरेको बाध्यात्मक परिस्थिति देखिन्छ । आफन्तलाई मिर्गौलादान गर्नुपर्दा महिलाले नै गर्ने गरेको अवस्था धेरै छन् । यसकारण पनि अंगदानबाट प्राप्त अंगका लागि महिलालाई प्राथमिकतामा राखिएको हो । यस्तै अंग लिने र दिने व्यक्तिको उमेरको फरक, म्याचिङ लगायत अवस्था हेरेर अंग प्रत्यारोपण गरिन्छ ।

नेपालमा मिर्गौला प्रत्यारोपण विश्वस्तरीय छ त ?
नेपालमा मिर्गौला प्रत्यारोपणको अवस्था एकदमै राम्रो छ । हामीले विगत अढाई वर्षमा ४३० जनाको मिर्गौला प्रत्यारोपण ग¥यौं, जसमा शतप्रतिशत सफलता मिलेको छ । राजनीतिज्ञ, व्यवसायी र धनीहरू यसका लागि मुलुकबाहिर जाने चलन अझै छ । बाहिर मिर्गौला प्रत्यारोपण गर्दा कतिले ज्यानै गुमाएको पनि सुनिएको छ । नेपालमा गरिने मिर्गौला प्रत्यारोपण विकसित देशका प्रत्यारोपण केन्द्रमा गरिने जत्तिकै सफल छ । त्यसैले मिर्गौला प्रत्यारोपणकै लागि बाहिर जानु आवश्यक छैन । यसको प्रत्यारोपणमा सरकारले अनुदान दिएकाले खासै खर्च पनि लाग्दैन ।

नेपालमा मिर्गौलासम्बन्धी रोगको डाटा कस्तो छ ?
नेपालमा ३० लाख जना मिर्गौलासम्बन्धी कुनै न कुनै रोगले ग्रसित रहेको अनुमान गरिएको छ, जसमा वर्षपिच्छे औसत ३ हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको देखिन्छ । हाम्रो प्रत्यारोपण केन्द्रबाट वार्षिक करीब २०० जनामा मिर्गौला प्रत्यारोपण हुने गरेको छ । २०० को लक्ष्य रहेकोमा गत आवमा हामीले मात्र १७९ जनामा मिर्गौला प्रत्यारोपण गर्‍यौं । केन्द्रबाहेक अन्य अस्पतालले पनि केही मात्रामा मिर्गौला प्रत्यारोपण गर्ने गरेका छन् ।

नेपालको सन्दर्भमा मिर्गौला प्रत्यारोपणका समस्या के कस्ता छन् ?
हुनेखाने, राजनीतिज्ञ, व्यापारीहरूले गैरकानूनी ढंगले अन्य परिवारको अंग ताक्ने गरेको देखिन्छ । नेपालमा प्रत्यारोपण नगरिए गैरकानूनी रूपमा छिमेकी देशमा गएर महँगो दरमा प्रत्यारोपण गर्ने गरेको पनि पाइन्छ । दुर्घटनामा परेर एकजना स्वस्थ व्यक्तिको मृत्यु भएमा उसका आठओटा अंग प्रत्यारोपण गर्न सकिन्छ । नेपालको सन्दर्भमा मानिसले अंगदान गर्न हिच्किचाएको देखिन्छ ।

नेपालमा अंगदानको अवस्था कस्तो छ ?
दुर्घटनाबाट मरेको व्यक्तिबाट तीनजना व्यक्ति बचाउन सकिन्छ । तर सबैमा सोचको विकास हुन सकेको छैन । त्यसैले अंगदान गर्नुपर्छ भन्ने चेतना फैलाउनुपर्ने देखिएको छ । नेपालमा सडक दुर्घटनाबाट वर्षेनि २ हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको छ । मस्तिष्क मृत्यु भनेको पूरा मृत्यु नै भएकाले अंगदान गर्नुपर्छ भन्ने चेतना पनि फैलाउन आवश्यक छ । अर्को कुरा, आफू ज्यूँदै छँदा स्वेच्छाले अंगदान गर्न सकिन्छ । मृत्युपछि कुहिएर वा जलेर नष्ट हुने अंगबाट तीनजनाको ज्यान बच्छ भने अंगदान किन नगर्ने ?

मिर्गौला प्रत्यारोपणपछि कति समयमा घर फर्किन सकिन्छ ?
मिर्गौला प्रत्यारोपणपछि ७० प्रतिशत बिरामी १ हप्तामै ‘डिस्चार्ज’ हुन्छन् । बाँकी १५ प्रतिशत २ हप्ता र कतिपयलाई सोभन्दा केही बढी समयमा डिस्चार्ज गरिन्छ । 

अन्त्यमा के भन्नुहुन्छ ?
आफू मरेर गए पनि अंगदान गरेर अन्य व्यक्तिलाई बचाउन सकिन्छ । त्यसो हुँदा जीवित छँदै स्वेच्छाले अंगदान गर्न सबैलाई आग्रह गर्दछु । मिर्गौला प्रत्यारोपण स्वदेशमै विदेशमा जत्तिकै सुरक्षित र भरपर्दो हुन्छ । त्यसैले यसको उपचारका लागि बाहिन नजान पनि अनुरोध गर्दछु । कुनै लक्षण नदेखिकनै पनि मिर्गौला फेल हुन सक्ने भएकाले वर्षमा कम्तीमा एकपटक मिर्गौलाको जाँच गरेर स्वस्थ रहौं । 

प्रतिक्रिया दिनुहोस्