arthik abhiyan
ad banner

दीर्घकालीन लाभ लिन चाहने लगानीकर्ता सफल हुन्छन्

Jul 28, 2019
अन्तरवार्ता
Image Not Found
सुष्मा ढुंगाना, प्रथम उपाध्यक्ष, शेयर लगानीकर्ता दबाब समूह

प्राथमिक बजारमार्फत पूँजीबजारमा प्रवेश गरेकी सुष्मा ढुंगाना अहिले सक्रिय लगानीकर्ताको रूपमा परिचित छिन् । शेयर लगानीकर्ता दबाब समूहमा प्रथम उपाध्यक्षको रूपमा रही उनले लगानीकर्ताको हकहितका लागि आवाज उठाउँदै आएकी छिन् । अल्पकालीनभन्दा दीर्घकालीन लाभ लिन चाहेर शेयर बजारमा प्रवेश गर्ने लगानीकर्ता सफल हुने उनको बुझाइ छ । यिनै विषयवस्तुमा रहेर आर्थिक अभियानकी प्रजिता बुढाथोकीले उनीसँग गरेको कुराकानीको सार :

पूँजीबजारमा तपाईं कहिलेदेखि सक्रिय हुनुहुन्छ ? 
पूँजीबजारमा मेरो सक्रियता २०६९/७० सालदेखिको हो । मेरो पहिलो आईपीओ कमर्श एन्ड ट्रस्ट बैंकको थियो । यो कम्पनी ग्लोबल आईएमई बैंकसँग गाभियो ।

लगानीका अन्य क्षेत्रहरू पनि थिए । त्यो समयमा पूँजीबजार नै किन रोज्नुभयो ?
मेरो एकजना साथी हुनुहुन्थ्यो । उहाँको श्रीमान् त्यो समयमा पूँजीबजारमा लगानी गर्नुहुँदो रहेछ । पूँजीबजारमा लगानी गर्दा फाइदा हुने साथीबाटै थाहा पाएँ । म साथीकै सल्लाहबाट प्रेरित भएर यो क्षेत्रमा लागेको हुँ । त्यतिबेला शेयरबजारको राम्रो माहोल बन्दै थियो ।

त्यतिबेला के गर्दै हुनुहुन्थ्यो ? पूँजीबजारमा लगानी गर्न तपाईंको आम्दानीको स्रोत के थियो ?
त्यो समयमा मेरो श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । म यहाँ बसेर छोरा हुर्काउँथेँ । श्रीमान्को विदेशको कमाइबाटै मैले पूँजीबजारमा लगानी गरेको हुँ । शुरूमा यसबारे श्रीमान्लाई नभनी लगानी गरेँ । आईपीओ पनि पर्‍यो, तर त्यो कहाँ लगेर बेच्ने भन्ने थाहा थिएन । प्रमाणपत्रहरू ब्रोकर विक्री गर्ने ठाउँ खोज्दै ५५ नं ब्रोकर कम्पनी भृकुटी स्टक ब्रोकिङ कम्पनीमा पुगेँ । शेयर कारोबारसम्बन्धी धेरै जानकारी त्यहाँबाट पाएपछि म दोस्रो बजारमा पनि प्रवेश गरेँ ।

यो क्षेत्रमा लगानी गरेर सन्तुष्ट हुनुहुन्छ ? 
जुन बेला म आईपीओमा लगानी गर्थें, त्यो बेला सबै कम्पनीको आईपीओ पथ्र्यो । म सबैजसो कम्पनीको आईपीओमा लगानी गर्थें । पहिले प्राथमिक शेयरबाट बजार प्रवेश गरेकाले घाटा भने भएको छैन । बजार १८८१ को बिन्दुुमा पुग्दा समेत शेयर नबेची बसेँ । त्यो बेला बेच्दा हुने फाइदा सम्झेर घाटामा छु भन्ने लाग्दैन । मैले श्रीमान्ले पठाएको पैसा बैंकमा राखेको भए सीमित ब्याजमात्र पाउँथे होला । तर यसमा भएको लगानी बढ्दै गएको छ । त्यो बेलाको भन्दा अहिले आर्थिक रूपमा जीवनस्तर विकास भएको जस्तो लागेको छ । त्यसैले आफ्नो लगानीप्रति सन्तुष्ट नै छु । सन्तुष्ट भएरै यो क्षेत्रलाई निरन्तरता दिएकी हुँ ।

प्रवेश गर्दा र अहिलेको पूँजीबजार कसरी विश्लेषण गर्नुहुन्छ ?
शेयरबजारमा पहिलेभन्दा अहिले महिलाको सहभागितामा धेरै परिवर्तन देख्छु । मैले कारोबार गर्ने ब्रोकर कम्पनीमा त्यो समयमा महिला म मात्र हुन्थेँ । शेयर भर्न बिहानदेखि बेलुकासम्म लाइन बसेको अनुभव पनि छ । दोस्रो बजारमा कारोबारका लागि पनि ब्रोकर अफिस धाइरहनुपर्ने अवस्था थियो । शेयर पर्‍यो भने क्यापिटलमा प्रमाणपत्र लिन जानुपथ्र्यो । जुन कामका लागि पनि कम्पनीमै धाउनुको विकल्प थिएन । अहिले यस्ता सबै झन्झट हटेका छन् । आजभोलि हामी साथीभाइ भेट हुन्छ, नयाँ कुराको अपटेड हुन्छ भनेर मात्र ब्रोकर कार्यालय जान्छौं । कारोबार त घरमै बसेर गर्न सकिने सुविधा पाइसकेका छौं । छोटो अवधिमै पूँजीबजारमा प्रविधिले निकै फड्को मारेको छ । यो सब नियाल्दै आएको हामीले पूँजीबजारको भविष्य उज्ज्वल देखेका छौं ।

यो क्षेत्रमा महिला लगानीकर्ताको उपस्थिति बढिरहेको छ । यो क्षेत्रमा लगानी गरेर आत्मनिर्भर हुने अवस्था छ ?
सुझबुझ तरीकाले अध्ययन गरेर प्रवेश गर्ने हो भने यो क्षेत्रमा आत्मनिर्भर हुने अवस्था छ । अहिले बजारमा हेर्ने हो भने धेरै महिला दिदीबहिनी यही क्षेत्रको लगानीबाट आर्थिक रूपमा सबल बन्दै गएका उदाहरण छन् । चुनौती त जुन क्षेत्रमा पनि हुन्छन् । व्यवसाय गर्ने भएपछि कि नाफा हुन्छ कि घाटा, यो निश्चित छ । त्यसैले नाफा भयो भन्दैमा अन्धाधुन्ध लगानी गर्ने र घाटा भयो भन्दैमा निराश हुने लगानीकर्ता भने पूँजीबजारमा मात्र होइन, कुनै पनि क्षेत्रमा सफल हुँदैनन् । अल्पकालीन होइन, दीर्घकालीन लाभको आशा गरेर बजारको उतारचढावमा चल्न सक्ने लगानीकर्ता सबै सफल नै भएको देखेको छु ।

लगानीकर्ताको हकहितका लागि संगठनमा पनि आबद्ध हुनुहुन्छ । निर्णय गर्नुपर्दा महिला भएकै कारण तपाईंहरूको मत कत्तिको प्राथमिकतामा पर्ने गरेको छ ?
अरू संघमा के कस्तो छ, मलाई जानकारी छैन । तर हाम्रो संगठनमा भने हामी महिलाका विचार/अभिव्यक्तिलाई प्राथमिकतामा राखेरै निर्णय हुने गरेको छ । लगानीकर्ता संघमा नेतृत्व गर्ने जति पनि हामी महिला छौं, सबैलाई सक्रिय देखेरै जिम्मेवारी दिइएको छ जस्तो लाग्छ । यो क्षेत्रमा सक्रिय भइरहँदा केही धेरै बुझ्दै गएका छौं । निर्णय गर्दा मात्र होइन, पूँजीबजार सम्बन्धी हरेक सेवा सुविधामा महिलालाई प्राथमिकता दिएको पाएको छु । 

पूँजीबजारको विकासका लागि लगानीकर्ता संघहरूले विगत १ वर्षमा ठूलै पहल गरेको देखिन्छ । यस्ता संघहरूको पहलबाट प्राप्त ठूलो उपलब्धि के हो जस्तो लाग्छ ?
विगत १ वर्षलाई भने पूँजीबजारको विकास र विस्तारका लागि लगानीकर्ता संघहरूले धेरै पहल गरेका छन् । यसका उपलब्धि पनि धेरै छन् । महत्त्वपूर्ण उपलब्धिको रूपमा पूँजीगत लाभकर ७ दशमलव ५ प्रतिशत देखि घटेर ५ प्रतिशत कायम भएको छ । समयमै दोस्रो बजारमा अनलाइन भित्र्याउन लगानीकर्ता संघहरूले पहल गरे । यसको प्रभावकारी कार्यान्वयनमा समेत सम्बद्ध निकायहरूलाई घच्घच्याउने काम गरियो । अहिले यसको प्रभाव राम्रो देखिएको छ । नियामक निकायहरूले आफ्नो ठाउँमा बसेर काम गरिरहनु भएको छ  । तर उहाँहरूलाई पनि घच्घच्याउदा झनै प्रभावकारी नीतिनियम आउने र कार्यसम्पादन हुने अहिलेको उपलब्धिले स्पष्ट पारेको छ ।

अहिले पूँजीगत लाभकर गणना कागजी प्रक्रियामा भइरहेको छ । यसलाई प्रविधिमैत्री बनाउने सम्बन्धमा नियामक निकायसँग सहमति भएको छ । खासमा समस्या कहाँ रहेछ ?
पूँजीगत लाभकर गणनाका लागि स्पष्ट आधार नभएकाले जुन दिन कागजी प्रक्रियामा लैजाने निर्देशन आयो, त्यो दिनदेखि नै हामी सम्बन्धित निकायहरूसँगको छलफलमा थियौं । २०६४ साउन ३० गतेभन्दा पहिलाको रेकर्ड सीडीएस र नेप्सेमा नभएकाले खास समस्या त्यहीँ पायौं । सम्बन्धित निकायले रेकर्ड राखिदिएको भए अहिले लगानीकर्तालाई दुःख हुने थिएन । यो समस्या समाधानका लागि पूँजीबजार सम्बद्ध सरोकारवाला निकायबीच छलफल भयो । उक्त छलफलपछिको सहमतिमा २०६४ साउन ३० गतेदेखि २०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीको मूल्यको औसतलाई आधार बनाई सोही आधारमा पूँजीगत लाभकर गणना गर्ने र उक्त निर्णयलाई अर्थ मन्त्रालयमा सिफारिश गर्ने सहमति भएको छ । यो विषय चाँडै टुंगिनेछ ।

यो वर्षको मौद्रिक नीतिलाई कसरी लिनुहुन्छ । पू“जीबजारलाई सहयोग हुने केही कुरा आए जस्तो लाग्छ ? 
अहिलेको मौद्रिक नीतिले पूँजीबजारको विषय समेट्ला भन्ने उत्साह लगानीकर्तामा कम थियो । त्यसैले पूँजीबजारका विषय समेटिएनन् भनेर निरुत्साहित हुनुपर्ने अवस्था पनि छैन । तर राष्ट्र बैंकले वाणिज्य बैंकहरूको मर्जरको कुरा ल्याइरहँदा यसबाट पूँजीबजारमा प्रभाव नपर्ने खालको विषय समेट्न लगानीकर्ताले सुझाव भने दिएका थिए । शेयरबजारको सबैभन्दा बढी हिस्सा ओगटेका वाणिज्य बैंकहरू मर्जरमा जाँदा कारोबार बन्द गर्नुपर्ने व्यवस्थाले बजारमा पर्ने असर कम गर्ने खालको व्यवस्था राष्ट्र बैंकले गर्नुपर्थ्यो  । योबाहेक पूँजीबजारको विकास र विस्तारका लागि बजेटमा सम्बोधन भएका केही विषय र उच्चस्तरीय सुझाव समितिको ५८ बुँदे सुझाव कार्यान्वयनकै चरणमा रहेकाले असन्तुष्ट हुनुपर्ने विषय छ जस्तो लाग्दैन ।

आम लगानीकर्ताका र नियामक निकायलाई तपाईंको के सुझाव छ ?
आफू महिला भएको नाताले भन्नुपर्दा विशेषगरी महिला दिदीबहिनीहरूलाई यो क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ । हाम्रा लागि अन्य व्यवसायभन्दा पूँजीबजार राम्रो छ  । किनभने यसलाई समय दिन हामीहरूलाई धेरै सजिलो हुन्छ । ११ देखि ३ बजेको समय हामी घरव्यवहारमै अल्झिएका महिलाका लागि त धेरै उपयुक्त हो । बिहान–बेलुकाको समय घरपरिवार र दिउँसोको समय शेयर बजारलाई दिएर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने मेरो अनुभव छ । नियामक निकायलाई मेरो सुझाव, हाम्रो संघले दिएको ३२ बुँदे सुझाव यथाशीघ्र कार्यान्वयन गर्नुपर्‍यो । ब्रोकर कमिशन बढी भयो । यसलाई घटाउन पहल गर्नुपर्‍यो । अहिले स्टक एक्सचेन्ज एउटा मात्र भएकोमा निजीक्षेत्रको अर्को स्टक एक्सचेन्ज भए प्रतिस्पर्धामा राम्रो हुन्थ्यो कि ? पूँजीबजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने कुरा मात्र भइरहेको छ । विदेशमा भएका नेपालीको लगानी भित्र्याउन नियामक निकायले समयमै नीतिगत व्यवस्था गरिदिए हुन्थ्यो । यस्तै बैंकलाई ब्रोकर लाइसेन्स जतिसक्दो चाँडो दिए हामी लगानीकर्तालाई राम्रो हुन्थ्यो ।
 

प्रतिक्रिया दिनुहोस्