arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गण्डकी प्रदेशको बजेट कार्यान्वयनमा बेथिति

असार महीनामै ५ अर्ब खर्च

Jul 31, 2019  
विकास
Image Not Found

कास्की (अस) । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष (आव)को जेठसम्ममा कुल बजेटमध्ये १९ प्रतिशत मात्र खर्च गर्‍यो । ११ महीनामा १९ प्रतिशत मात्र बजेट खर्च गरेपछि प्रदेशवासीको आक्रोश बढ्न थाल्यो । तर जनआक्रोश थामथुम पार्न मुख्यमन्त्री गुरुङले बजेट खर्च, ‘खर्चका लागि’ नगर्ने, बरु बचाएर अर्को वर्ष धेरै योजनामा खर्च गरिने तर्क दिए । तर उनको भनाइविपरीत गत आवको अन्त्यमा प्रदेश सरकारले ११ महीनामा खर्च गरेबराबरको बजेट एकै महीनामा खर्च गर्‍यो ।

गत आवको जेठ मसान्तसम्म चालू र पूँजीगत गरी कुल रू. ६ अर्ब २० करोड ६४ लाख ६८ हजार खर्च गरेको गण्डकी प्रदेश सरकारले असार महीनामा मात्रै रू. ४ अर्ब ७६ करोड ७६ लाख ९६ हजार खर्च गरेको गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालय पोखराले बताएको छ । कार्यालयका अनुसार सो महीना चालूतर्फ रू. २ अर्ब ६ करोड ९७ लाख ३८ हजार र पूँजीगततर्फ २ अर्ब ६९ करोड ७९ लाख ५८ हजार खर्च भएको हो ।

प्रदेश सरकारले गत आवका लागि कुल रू. २४ अर्ब २ करोड ३३ लाख बजेट छुट्ट्याएको थियो, जसमध्ये पूँजीगततर्फ रू. १५ अर्ब ९० करोड ७८ लाख र चालूतर्फ ८ अर्ब ११ करोड ५५ लाख थियो । गत आवको असार मसान्तसम्ममा प्रदेश सरकारले कुल बजेटमध्ये ५९ प्रतिशत अर्थात् रू. १३ अर्ब ९५ करोड ७४ लाख खर्च भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुदीप गौतमका अनुसार प्रदेश सरकारले चालूतर्फको बजेटमध्ये रू. ५ अर्ब २३ करोड ३५ लाख र पूँजीगततर्फ ८ अर्ब ७२ करोड २३ लाख मात्र खर्च गरेको हो ।

असारको अन्तिम ५ दिनमा मात्र २ अर्ब निकासा भएको गौतमले बताए । यो कुल बजेटको २० प्रतिशत हो । असार मसान्तमा मात्रै कुल बजेटको ३३ प्रतिशत खर्च भुक्तानी भएको उनले जानकारी दिए ।

अधिकांश बाँकी बिल भर्पाईको भुक्तानी असार मसान्तमा हुने हुँदा मन्त्रालयको पूँजीगत खर्च ठूलो देखिएको लेखा अधिकृत गौतमको भनाइ छ । उपभोक्ता समितिमार्फत भएका निर्माणसम्बन्धी काम सम्पन्न भइसकेपछि मात्रै भुक्तानी लैजाने हुनाले पनि यस्तो खर्च देखिएको कर्मचारीहरू बताउँछन् । बितेको ११ महीनामा भने उक्त मन्त्रालयको दुवैतर्फको खर्च ३ अर्ब ४५ करोड ७७ लाख मात्र थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्