arthik abhiyan
ad banner

अहिलेका अधिकांश शिक्षण पद्धति परिवर्तन गर्नुपर्छ

Aug 1, 2019
अन्तरवार्ता
Image Not Found
डा. मीनाक्षी दाहाल, बालमनोविज्ञ

बालबालिकाको शिक्षण सिकाइ पद्धतिबारे शिक्षाक्षेत्रमा बेला बेला चर्चा र बहस हुने गरेको छ । विद्यालयमा अहिले विद्यमान शिक्षण शैली बालमैत्री नभएको टिप्पणी समेत कतिपय शिक्षाविद्को छ । प्रारम्भिक बाल विकास क्षेत्रमा करीब २० वर्ष अनुभव बटुलिसकेकी डा. मीनाक्षी दाहाल भने सिकाइ पद्धति नै परिवर्तन गर्नुपर्ने धारणा राख्छिन् । शिक्षा संकायबाट प्रारम्भिक बाल विकास विषयमा विद्यावारिधि गरेकी उनी बालबालिकाले अध्ययन गर्ने विद्यालय र घरको वातावरण अनुसार उनीहरूको सिकाइ विकास हुने बताउँछिन् । बालबालिकालाई स्वतन्त्र हिसाबले खेल्न, लेख्न दिँदा छिटो सिक्ने, तर गृहकार्य मात्र दिने, घोकाउने जस्ता सिकाइ पद्धतिले उनीहरूको मनोविज्ञानमा नकारात्मक असर पार्ने उनको शोधपत्रको निचोड छ । प्रस्तुत छ, प्रारम्भिक बाल विकास, बाल मनोविज्ञान, सिकाइ पद्धति लगायत विषयमा रहेर डा. दाहालसँग आर्थिक अभियानकी ममता थापाले गरेको कुराकानीको सार :

बालबालिकाको मनोभावना कसरी बुझ्नपर्छ ?
शुरूमा बालबालिकाको भावना कस्तो छ भनेर शिक्षक तथा अभिभावकले बुझ्न जरुरी छ । यो अनुभव पार गरेका जो कोहीले यसलाई बुझ्नुपर्छ । मानिस स्वभावैले स्वतन्त्रता चाहन्छ । बच्चाहरू पनि यस्तै चाहन्छन् । ३ वर्षदेखि ५ वर्षको बालबालिकामा आत्मविश्वास हुन्छ । आपूm जे पनि गर्न सक्छु भन्ने उनीहरूलाई लाग्छ । उनीहरूलाई बुबा–आमाले गरेजति म पनि गर्न सक्छु भन्ने हुन्छ । तर यो भावनाको बुझाइ आमाबुबामा नहुँदा उनीहरूको आत्मबल घट्छ । अभिभावकले ‘यसो गर्नुपर्छ’, ‘तिमीले गरेको भएन’ भन्दा उनीहरू भावनात्मक रूपमा कमजोर बन्न सक्छन् । त्यसैले उनीहरूको आत्मविश्वास बढ्ने कुरा गर्नुपर्छ । यसका लागि उनीहरूलाई स्वतन्त्र छाड्नुपर्छ । उनीहरूलाई सक्दैनौ भनेर दुरुत्साहन गर्नुहुँदैन । 

अभिभावक तथा शिक्षक शिक्षिकाले बालबालिकालाई कसरी मार्गदर्शन गर्नुपर्छ ?
बालबालिकाको रुचि बुझ्नुप¥यो । उसको काम, भावनामा दबाब पर्नेगरी आफ्ना विचार राख्नु भएन । उनीहरूलाई भाषाका प्रारम्भिक वर्ण, अक्षर वा शब्द लेखाउन जबरजस्ती गर्नु हुँदैन । यस्तो बेलामा उसलाई शीप सिकाउनुपर्छ । अक्षर लेख्न भन्दा पनि लेख्ने शीप विकास गर्ने जस्ता क्रियाकलाप गराउनुपर्छ । चित्रकथा दिने, कथा भन्ने र बोल्न लगाउने गर्नुप¥यो । 

प्रारम्भिक बाल विकासमा बालबालिकालाई कस्तो शिक्षण पद्धति अवलम्बन गर्नुपर्ला ?
अहिले अवलम्बन गरिएका धेरैजसो शिक्षण पद्धति बाल मनोभावना विपरीत छन् । अब यो शैली परिवर्तन गर्नुपर्छ । क्रियाकलापमा आधारित शिक्षण सिकाइ हुनुपर्छ । बच्चालाई ए, बी, सी, डी जस्ता वर्ण वा कलम, पुस्तक जस्ता शब्द कण्ठ गराएर भन्दा पनि खेलाएर, गीत गाएर, नचाएर वा उसको चाहनाअनुसारको क्रियाकलापबाट सिकाउनुपर्छ । उनीहरूलाई सिकाउँदा बढीभन्दा बढी सामग्रीको प्रयोग गर्न जरुरी छ । 

अहिलेको शिक्षण पद्धतिमा सुधार आवश्यक छ त ?
एकदम छ । केही समयअघि ‘अर्ली ग्रेड रिडिङ प्रोग्राम’ले गरेको अध्ययनअनुसार ३ कक्षामा सहभागी विद्यार्थीमध्ये केहीले खर्रर पढ्न सकेनन् । नेपाली विषयमै उनीहरू कमजोर भएको पाइयो । किनकि हाम्रो सिकाउने शैली नै सही भएन । तरीका ठीक नभएपछि जति खर्च गरे पनि उपलब्धि हुँदैन । बालबालिकालाई सानो उमेरमा विद्यालय पठाइयो भने धेरै पढ्छन् भन्ने गलत बुझाइ छ । बच्चाले गर्भदेखि नै सिक्न शुरू गर्छ र घरमा बस्दा आमाबुबाले गरेको काम देखेर समेत उसको सिकाइ विकास भइरहेको हुन्छ । विद्यालयका भुइँमा गलैंचा बिछ्याएर बच्चालाई बसाएर मात्र बालमैत्री शिक्षा हुँदैन । सिकाइको वातावरण नै उसको इच्छाअनुसार हुनुपर्छ । बच्चालाई पढ्न मन छैन भने जे गर्न मन छ, त्यो गर्न दिनुपर्छ । 

कक्षामा विषयगत शिक्षण छ । अधिकांशको किताब पढ्ने, किताबकै लेख्ने सार्ने भन्ने बुझाइ छ । यो गलत शैली हो । बच्चाले सिक्दा गणित, विज्ञान फरक फरक सिक्दैनन् । उनीहरूले समग्रमा सिक्छन् । जस्तै– बल खेल्दै गन्ती गर्दै गणित, त्यो बल कति माथि गयो भनेर विज्ञान र यस्तै अन्य विधिबाट भाषाबारे उनीहरूको ज्ञान बढाउन सकिन्छ । ८ कक्षासम्मका  बालबालिकालाई क्रियाकलाप गरी सिकाउँदा प्रभावकारी हुन्छ । आज दिनभरमा विद्यार्थीले विषयगत के के सिक्छन् भनेर शिक्षकको तयारी हुनुपर्छ । बालबालिकालाई पुस्तक पढ्न होइन, पढ्ने शीप सिकाउन जरुरी छ ।  बालबालिकाले जुनसुकै वातावरण, व्यक्तिको अनुहार, रूख–बिरुवा पढ्न जान्नुप¥यो, किताबमा रहेको अक्षर मात्र घोक्ने होइन । अहिले हाम्रा बालबालिकालाई पठाउने शैली परम्परागत छ ।  किताबमै सीमित छ, उसले अध्ययन गर्ने व्यावहारिक ज्ञान छैन । त्यसैले अहिलेको अध्ययनशैली पढाइमा सहयोगी बनेको छैन ।

बालबालिकाको नेतृत्व विकास कसरी गर्न सकिन्छ ?
गुहकार्यको विकल्पमा शिक्षकले ‘भोलि तिमीलाई मनपर्ने किताब ल्याऊ’, ‘मनपर्ने विषयमा भन’ भन्दा शिक्षकसँग विद्यार्थी सहभागी हुन पाउँछ । उसले यसरी भन्दा आफू खुशी भएको महसूस गर्छ । यसले उसको नेतृत्व विकास र कल्पना गर्ने क्षमता बढ्छ, जसले बालबालिकाको स्मरणशक्ति पनि बढाउँछ । यो नै उनीहरूको सृजनशीलता हो । यसले उनीहरूलाई नेतृत्वदायी बनाउँछ । यस्ता वैकल्पिक क्रियाकलापबारे थाहा भए पनि लागू गर्ने/गराउनेबारे शिक्षक र अभिभावकले सोच्दै सोचेनन् । 

बालबालिकालाई गृहकार्य दिइन्छ । यसो नगरे उनीहरूले पढेको बिर्सिन्छन् भन्ने मानसिकता छ । यो कत्तिको सही हो ?
धेरै अभिभावकले यस्तो भनेको सुन्छु । उनीहरूको दोष नै त नभनौं, तर ती अभिभावकले दिनभर थाकेका छोराछोरीलाई  घरमा पुनः पढ्न–लेख्न दबाब दिनुहुन्न भन्ने बुझ्नुपर्छ । यसका लागि अन्य तरीका अपनाउन सकिन्छ । अभिभावकले पनि राम्रै होस् भनेर गृहकार्य चाहेका हुन सक्छन् । तर उनीहरूले यो सही र गलत के हो भन्नेबारे बुझेनन् । बरु अभिभावकले बालबच्चासँग दिनभर के गरेको, के पढेको भनेर सोध्दा पनि पुग्छ । यसकारण घोकाउने र गृहकार्यको भार बोकाउने भन्दा पनि नयाँ विकल्प सोच्नुपर्‍यो । पढाइका लागि बाहिरी वातावरणमा निस्किने, खेलाउने, घुमाउने गर्नु पनि आवश्यक छ ।

मन्टेस्सोरी जस्ता अन्तरराष्ट्रिय शिक्षण पद्धतिअनुरूप सिकाइमा पनि जोड दिइएको छ । यो कत्तिको प्रभावकारी हो ?
बाहिरी मुलुकमा जे गर्‍यो, त्यही हुनुपर्छ भन्ने होइन । हाम्रा पनि असल र राम्रा अभ्यास छन् । जस्तै– हजुरबुबा/हजुरआमासँग कथा सुन्ने जस्ता अभ्यास छन् । बुज्रुकहरूबाट यस्तो सुनेका बालबालिका तीक्ष्ण बुद्धिका हुन सक्छन् । तर यसलाई हामीले क्रमशः बिर्संदै गएका छौं । हामीमा सानैदेखि किताबै पढेर, किताबै जानेर, यसैबाट राम्रो नम्बर ल्याउनुपर्छ भन्ने धारणा छ । तर उपलब्धि नै सर्वस्व होइन भनेर बुझ्न सकिएन । विद्यार्थी जान्यो कि जानेन भनेर नम्बर दिन्छौं । यसमा हाम्रो मूल्यांकन पद्धति गलत छ ।

प्रत्येक बालबालिका क्षमता, स्वभाव र प्रतिभा फरक हुन्छन् । उनीहरूसँग भिन्दाभिन्दै क्षमता हुन्छ । हामीले त्यस्तो क्षमताको मूल्यांकन गर्ने हो । प्रत्येकको क्षमतालाई एउटै टोकरीमा राख्नु भएन । बालबालिकाहरू कोही नाच्ने, कोही गीत गाउने, कोही दौडने जस्ता फरक फरक क्षमताका हुन्छन् । नेपालमा विभिन्न अन्तरर्राष्ट्रिय नामका मन्टेस्सोरी, यूरो किड्स, किज्जी लगायत संस्था सञ्चालनमा छन् । नेपालमा यस्ता संस्थाको अनुगमन गर्ने कुनै संयन्त्र छैन । वास्तवमा भन्ने हो भने यस्ता संस्थामा बच्चाको आफ्नो मातृभाषा जस्ता मौलिक भाषिक शीपको विकास हुँदैन । यसैकारण भोलि उनीहरू भाषिक दक्षतामा कमजोर हुन्छन् । यसरी शिक्षण सिकाइ पाएका बालबालिका पछि गएर न अंग्रेजीमा राम्रोसँग बोल्न–लेख्न सक्ने बन्छन्, न त नेपालीमा पोख्त हुन सक्छन् । उनीहरूमा यस्तो अधकल्चो अवस्था आउन नदिन बेलैमा सजग हुनुपर्छ ।

अहिले अधिकांश विद्यालय बालमैत्री वातावरणमा अध्यापन गरेका छौं भन्ने दाबी गर्छन् । अवस्था यस्तै छ त ?
सबै विद्यालयमा बालमैत्री वातावरण छैन । बालमैत्री भनेर बनाइएका धेरै विद्यालय पनि बालमैत्री छैनन् । बालमैत्री भन्नेबित्तिकै सम्बन्धित विद्यालयका भौतिक, शैक्षिक संरचना बालबालिकालाई केन्द्रित हुनुपर्छ । उनीहरूलाई सहज हुने बस्ने ठाउँको व्यवस्था हुनुपर्‍यो । बच्चालाई भित्र–बाहिर हिँड्न मन लाग्यो भने रोक्नुभएन । बच्चाले चाहने इच्छाअनुसारको सिकाइ वातावरण हुनुपर्‍यो ।

प्रतिक्रिया दिनुहोस्