arthik abhiyan
ad banner

प्रजननसम्बन्धी समस्या हुने ४०% महिलामा पीसीओडी देखिएको छ

Aug 2, 2019 
अन्तरवार्ता
Image Not Found
डा. सरिता श्रेष्ठ, वरिष्ठ आयुर्वेद विशेषज्ञ

नेपालमा पोलिसिस्टिक ओभरियन डिजिज (पीसीओडी) बढ्दै गएको छ । विशेषगरी २० देखि ४० वर्षका महिलामा यो रोग बढी पाइएको वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. सरिता श्रेष्ठ बताउँछिन् । पछिल्लो डेढ दशकमा यो रोग व्यापक रूपमा देखिएको उनको अनुभव छ । प्रस्तुत छ, स्त्री तथा प्रसूतिसम्बन्धी रोग, पोलिसिस्टिक ओभरियन डिजिज (पीसीओडी), यसका लक्षण, कारण र रोकथामका उपायबारे आर्थिक अभियानका काशीराम बजगाईंले डा. श्रेष्ठस“ग गरेको कुराकानीको सार :

स्त्री तथा प्रजननसबन्धी रोग भन्नाले के बुझिन्छ ?
महिलाको प्रजनन अंगहरू, मुख्यतः पाठेघरसम्बन्धी समस्या, अण्डाशयको समस्या, मूत्ररोग, पाठेघर खस्ने, सेतोपानी बग्ने, महीनावारी हुँदा पेट दुख्ने लगायत समस्या स्त्री तथा प्रजननसम्बन्धी रोग हुन् । यस्तै गर्भाशयमा बच्चा हुनुअघि, बच्चा बनेपछि र बच्चा जन्मिएपछिका ४५ दिनसम्म देखिने समस्या पनि यो रोगमा पर्छन् ।

पोलिसिस्टिक ओभरियन डिजिज (पीसीओडी) कस्तो रोग हो ?
स्त्रीरोग विभिन्न प्रकारका हुन्छन् । त्यसैमध्ये पीसीओडी पनि एक हो । महिलाको डिम्बाशयमा स–साना सिस्ट (पानी जमेर बन्ने फोका) देखिने रोग पीसीओडी हो । महिलाको पाठेघरका दुवैतर्फ अण्डाशय हुन्छन् । यो रोग केहीको एउटा र कतिपयको दुवै अण्डाशयमा देखिन सक्छ । यो रोग लाग्दा अण्डाशयमा कहिलेकाहीँ पानी जमेका केही ठूला एक÷दुईओटा फोका मात्र पनि बन्न सक्छ । यस्तै स–साना धेरै फोका बन्न सक्छन् ।

के कारण यो रोग लाग्छ ?
महिलाहरूमा हर्मोनको गढबढीका कारण यो रोग देखिन्छ । महीनावारी समयमा गराउने, पाठेघरको भित्री तहमा बच्चा बस्ने नरम ठाउँ बनाउने, परिपक्व अण्डाशयबाट डिम्ब बाहिर निकाल्ने लगायत काम गर्न महिलामा एस्ट्रोजन र प्रोजेस्ट्रोन नामका हर्मन हुन्छन् । यी दुई हर्मोनमा समस्या आएपछि यो रोग देखापर्दछ । अण्डाशयमा रक्तसञ्चार तथा पोषणको कमी र अन्य विभिन्न कारणले यी हर्मोनमा असन्तुलन हुन्छ ।

एस्ट्रोजन र प्राजेस्ट्रोन हर्मन बिग्रिनुका अन्य कारण पनि छन् ?
हाम्रो जीवनशैलीकै कारण यी हर्मोन बिग्रिन सक्छन् । आधुनिक चिकित्साले यसको यही कारण भनेर पत्ता लगाइसकेको छैन । अनुसन्धानले थाइराइडको कमीले यो रोग लाग्न सक्ने बताएको छ । मुख्यतः शारीरिक गतिविधिमा कमी आउनाले यो रोग देखिन्छ । यसबाहेक घामको कमी, कृत्रिम प्रकाशमा धेरै समय बिताउने बानी, चिल्लो पदार्थको बढी सेवन, चाउचाउ, बिस्कुट जस्ता उद्योगमा बनेका तथा विषादी मिसिएका खानेकुरा खानाले यो रोग लाग्न सक्छ ।

यो रोगका लक्षणहरू के के हुन् ?
महीनावारी समयमा नहुने, मोटोपन बढ्ने र बच्चा नहुने यो रोगका मुख्य लक्षण हुन् । यसबाहेक कुनैकुनै महिलामा महीनावारी हुँदा अति रक्तस्राव हुन सक्छ । यस्तै तल्लो पेट अथवा पेल्भिसमा पीडा हुने, पेट भरिएको जस्तो वा गह्रौं महसूस हुने, डिम्बाशयमा बनेको सिस्ट फुटेर धेरै दुख्ने, थकाइ लाग्ने, टाउको दुख्ने, वाकवाक लाग्ने, यौनसम्पर्कका बेला पीडा महसूस हुने लगायत लक्षण देखिन्छन् ।

यस्ता लक्षण देखिएमा के गर्ने ? 
उक्त लक्षणहरू देखिएमा सम्बन्धित विशेषज्ञसँग यसबारे परामर्श गर्नुपर्छ । आयुर्वेद चिकित्सामा नाडीको गति र लक्षण हेरेर पनि यो रोग भए÷नभएको जानकारी लिइन्छ । आधुनिक चिकित्सामा अल्ट्रासाउन्ड, सीटीस्क्यान वा एमआरआई गरेर यसको पहिचान गर्न सकिन्छ ।

कुन उमेर समूहका महिलामा यो रोग बढी देखिन्छ ?
विशेषगरी उमेर २० देखि ४० वर्षमा महिलामा यो रोग बढी देखिएको छ । यसको अर्थ महिलामा प्रजननको उपयुक्त समयमा यो रोग लाग्ने गर्छ । ३ वर्षअघि म यस क्षेत्रमा आउँदा पीसीओडी एकदमै न्यून थियो । वर्षमा मुश्किलले एक–दुई महिलामा यो रोग देखिन्थ्यो । तर पछिल्लो डेढ दशकमा यो रोग व्यापक रूपमा बढेको छ । हाल स्त्री तथा प्रजननसम्बन्धी समस्या भएर आउनेमध्ये ४० प्रतिशतमा यो रोग देखिने गरेको छ ।

यो रोगको उपचार कसरी हुन्छ ?
शुरूमा मधुमेहको पूर्वावस्थाको रूपमा यस रोगलाई लिइन्थ्यो र मधुमेहकै उपचार गरिन्थ्यो । तर मधुमेहको औषधि सेवन छाडेपछि यो रोग पुनः देखिन सक्थ्यो । अझै पनि कतिपयले यसलाई मधुमेहकै पूर्वावस्थाको रूपमा हेरिरहेका छन् । अनुसन्धानले भने थाइराइड ग्रन्थीको कम सक्रियताका कारण यो रोग बढी देखिने गरेको देखाएको छ । अहिले थाइराइड सक्रिय गर्ने औषधि बजारमा पाइन्छन् । आधुनिक चिकित्सा प्रणाली र आयुर्वेदिक चिकित्सा प्रणाली दुवैमा यसको उपचार हुन्छ । कतिपय अवस्थामा आधुनिक चिकित्सा विधिबाट निको नभएपछि आयुर्वेदिक पद्धतिबाट उपचार गराउन आउनेहरू पनि हुन्छन् । यस्तै कतिपयले आयुर्वेदिक उपचारबाट निको नभएर आधुनिक चिकित्सा लिएको पनि देखिएको छ । आधुनिक चिकित्सामा हर्मोन सक्रिय पार्ने औषधि दिइन्छ । आयुर्वेदिक चिकित्सामा भने सुठो (सुकेको अदुवा), पिपली, मरिचको मिश्रणबाट तयार गरेको त्रिकटुमा बेसार मिसाएर बनाइएको औषधि सेवन गराइन्छ ।

कति समयसम्म यसको उपचार गराउनुपर्छ ?
आयुर्वेदिक पद्धतिबाट महीनावारी तथा अण्डाशयसम्बन्धी उपचार कम्तीमा ४५ दिनदेखि बढीमा ३ महीनासम्म गरिन्छ । यसरी उपचार गराउँदा अधिकांशमा राम्रो नतीजा निस्किएको छ । तर उपचार अवधिमा दही, केरा, ओखर, काजु, बदाम, पिस्तालगायत पाचनमा बढी समय लाग्ने खानेकुरा खानुहुन्न । त्यसको सट्टा साधारण तथा सन्तुलित खाना, ताजा सागपात, तरकारी लगायत पचाउन सकिने खानेकुराको सेवन गर्नुपर्छ ।

यसबाट बच्न के गर्नुपर्छ ?
यो हाम्रो जीवनशैलीकै कारण उत्पन्न हुने रोग हो । पहिले मानिस शारीरिक रूपमा बढी सक्रिय हुने गरेकाले यो रोग देखिँदैनथ्यो भन्दा पनि हुन्छ । तर प्रविधिको विकाससँगै हामीमा अल्छीपना बढ्यो र काम गर्न छाड्यौं । यसकारण शारीरिक सक्रियताको कमीले यो रोग देखापरेको हो । तर नियमित व्यायाम र शारीरिक काम गर्ने हो भने यो रोगबाट धेरै हदसम्म बच्न सकिन्छ ।

मुख्यतया कुन समस्या लिएर उपचारका लागि आउने गरेका छन् ?
कतिपय महिलाले थाहा नपाएरै यो रोग पालेर बसेका हुन्छन् । बिहेपछि बच्चा नभएर चेकजाँचका लागि आउने कतिपयमा यो रोग देखिएको छ । प्रजननसम्बन्धी अन्य समस्या लिएर आउनेहरू पनि हुन्छन् ।

अन्त्यमा के भन्नुहुन्छ ?
हामीमा शारीरिक अल्छीपना बढेकाले यस्ता रोग देखिन थालेका छन् । त्यसैले हाम्रो जीवनशैलीमा धेरै सुधार गर्नुपर्ने बेला आएको छ । सन्तुलित खाना खान, शारीरिक रूपमा सक्रिय बन्न र यो रोगका केही लक्षण देखिएमा तुरुन्त विशेषज्ञको परामर्श लिन तथा चेकजाँच गराउन सबैमा अनुरोध गर्दछु । 

प्रतिक्रिया दिनुहोस्