arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मानिसहरू आम सोचाइभन्दा बढी इमानदार हुँदा रहेछन्

Aug 4, 2019  
रोजगारी
Image Not Found

काठमाडौं । समय तथा परिस्थितिसँगै मानिसमा इमानदारी हराउँदै गएको धेरैको बुझाइ छ । त्यो बुझाइलाई थप बल दिने धेरै घटना पनि सञ्चार माध्यममा आउने गरेका छन् । यसबाट अधिकांश मानिसमा इमानदारी छैन भन्ने हामी सबैलाई लाग्न सक्छ । तर, हालैको एक अध्ययनले भने वास्तवमा मानिसहरू हामीले सोचेभन्दा बढी इमानदार हुने देखाउँछ ।

केही वर्षअघि भारतका विभिन्न आठ शहरका बैंक, थिएटर, होटल, प्रहरी चौकी, हुलाक कार्यालय र अदालत लगायत सार्वजनिक भवनमा अर्थविद्हरूको टोलीले एक अध्ययन गरेको थियो । ती ठाउँमा शोधकर्ताका सहयोगीले भेट्टाएको भन्दै ४०० पर्स सम्बन्धित स्थानका सुरक्षा गार्ड वा रिसेप्सनिस्टलाई बुझाएका थिए । 

यीमध्ये केही पर्समा पैसा थिएन । अरू सबैमा समान वा २३० भारू नगद पैसा थियो । सबै पर्समा एक÷एकओटा चाबी र पहिचान खुल्ने तीनओटा एकैखाले बिजनेश कार्ड पनि राखिएका थिए । ती बिजनेश कार्डमा दिइएको सम्पर्कसूत्र शोधकर्ताहरूकै थियो । अब उनीहरू सुरक्षा गार्ड र रिसेप्सनिस्टबाट फोनको प्रतीक्षामा थिए । यसरी ती सुरक्षा गार्ड र रिसेप्सनिस्टको इमानदारी जाँच गरियो ।

उक्त पर्सहरू ३१४ पुरुष र ८६ महिलाका हातमा थमाइएका थिए । यो अनुसन्धान अहमदावाद, बैंगलुरु, कोयम्बटुर, हैदरावाद, जयपुर, कोलकाता, मुम्बई र दिल्लीमा गरिएको थियो । यसरी छरिएका पर्समध्ये पैसा भएका ४३ प्रतिशत पर्स फिर्ता आएका थिए । तर, पैसा नभएका भने केवल २२ प्रतिशत पर्स मात्र फिर्ता आएका थिए । 

यो अनुसन्धानको नतीजा हालैमात्र ‘साइन्स’ पत्रिकामा प्रकाशित भएको छ । यो अनुसन्धानले मानिसहरू हामीले सोचेभन्दा बढी इमानदार हुँदा रहेछन् भन्ने प्रमाणित गरेको छ । शोधपत्र लेखनको नेतृत्व गर्नेमध्ये एक हुन् मिचिगन युनिभर्सिटीका बिहेभियरल अर्थशास्त्री एलेन कोहन । उनी यस नतीजालाई अनपेक्षित बताउँछन् । शोध आलेख अनुसार यदि इमानदार नहुँदा धेरै फाइदा हुन्छ भने मानिसमा ठग्ने चाहना त बढ्छ । तर, साथसाथै आफू ‘चोर’ भएको महसूस गर्ने मनोवैज्ञानिक लागत पनि बढ्छ । कतिपय अवस्थामा यस्तो मनोवैज्ञानिक लागतभन्दा यस्तो कामबाट प्राप्त हुने लाभ निकै थोरै हुन्छ । 

भारतको दक्षिणी क्षेत्रका शहरमध्ये बैंगलुरुमा सबैभन्दा बढी अर्थात् ६६ प्रतिशत पैसा भएका पर्स फिर्ता आएका थिए भने हैदरावादमा २२ प्रतिशत फिर्ता आएका थिए । त्यस्तै, पैसा नभएका पर्स भने कोयम्बटुरमा सबैभन्दा बढी अर्थात् ५८ प्रतिशत र दिल्लीमा सबैभन्दा कम अर्थात् १२ प्रतिशत फिर्ता आएका थिए । समग्रमा पुरुषको तुलनामा महिलाले बढी (पैसा भएका र नभएका दुवै) पर्स फिर्ता गरे ।

भारतमा गरिएको यो अध्ययन विश्वभर गरिएको अनुसन्धानको एक भाग हो । सन् २०१३ देखि २०१६ को बीचमा शोधकर्ताले १७ हजार पर्स यसै गरी ४० मुलुकका ३५५ शहरमा छाडेका थिए । त्यसमा केही पर्समा स्थानीय मुद्राअनुसार १३ डलर ४५ सेन्टको हाराहारीसम्म पैसा राखिएको थियो । एउटा मुलुकमा ५ देखि ८ ओटासम्म ठूला शहरमा यो अनुसन्धान गरिएको थियो । विश्वका ती ४० मध्ये ३८ मुलुकमा छाडेको पैसासहितको पर्स फिर्ता आउने सम्भावना बढी रहेको पाइएको थियो । पेरु र मेक्सिकोमा भने पैसासहितको पर्स फिर्ता आउने सम्भावना निकै न्यून पाइएको थियो । तीनओटा मुलुकमा पर्समा राखिएको पैसा ७ गुणा बढाउँदा पर्स फिर्ता हुने दर १८ प्रतिशत बढेको थियो । 

विश्वभरको अनुसन्धानमा पैसा भएको पर्स सबैभन्दा बढी फिर्ता आउने मुलुकमा डेनमार्क थियो । डेनमार्कमा यस्ता ८२ प्रतिशत पर्स फिर्ता आएका थिए । पेरुबाट सबैभन्दा कम (१३ प्रतिशत) पर्स फिर्ता आएका थिए । पैसा नभएका पर्स भने स्वीट्जरल्यान्डबाट सबैभन्दा बढी ७३ प्रतिशत र चीनबाट सबैभन्दा कम ७ प्रतिशत मात्र फिर्ता आएका थिए । यसबाट मानिसहरूले पैसा भएको पर्समा बढी इमानदारी देखाउने गरेको पाइएको थियो । 

हुन त इमानदारीको मापन गर्नु त्यति सजिलो काम भने होइन । बेलायती शोधकर्ताले सन् २०१५ मा १५ मुलुकका १ हजार ५०० मानिसमाझ गरेको एक अनुसन्धानले भारतसहित चीन, जापान र दक्षिण कोरिया निकै कम इमानदारी भएका मुलुक रहेको निष्कर्ष निकालेको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०१८ को भ्रष्टाचार कम हुने मुलुकको सूचीमा भारत १८० देशमध्ये ७८औं स्थानमा थियो । अहिलेको पर्स फिर्तासम्बन्धी अध्ययनको नतीजा ट्रान्सपरेन्सी इन्टरनेशनलको नतीजासँग निकै मेल खान्छ भन्छन् क्रिश्चियन लुकास चुन्ड जो जुरिख विश्वविद्यालयका अर्थशास्त्री हुन् र यो अनुसन्धानको आलेख तयार पार्ने प्रमुख व्यक्तिमध्ये हुन् । 

भारतमा यो अनुसन्धान गर्दा केही चाखलाग्दा घटना भएका थिए । केही सार्वजनिक भवनमा अनुसन्धानकर्तालाई प्रवेश अनुमतिको बदलामा सुरक्षाकर्मीले घुस मागेको थियो । त्यो सुरक्षाकर्मीले पर्स फिर्ता गरेन । केही भवनका सुरक्षाकर्मीले पर्सको मालिकलाई भेट्न नसकेको खण्डमा सो रकम कुनै संस्थालाई दान गर्ने बताएका थिए । 

चुण्ड भन्छन्, ‘पैसाको कुरा छ भने मानिसहरू बढी इमानदार हुने तथ्य विश्वव्यापी नै हो ।’ भारत र अन्य एशियाली मुलुकमा पनि यही हो भन्ने उनको बुझाइ छ । पैसा नभएको पर्स नफर्काउनुले इमानदारी नभएको भन्ने संकेत गर्दैन भन्छन् चुण्ड । त्यसो भए फिर्ता नआएका पर्सबारे के भन्ने त ? अर्थशास्त्रीहरूका अनुसार त्यस्ता मानिस इमानदार नहुन पनि सक्छन् । तर, उनीहरू धेरै व्यस्त वा बिर्सने समस्या भएका मानिस पनि हुन सक्छन् । 

ड्युक युनिभर्सिटीका मनोविज्ञान तथा ‘बिहेभियरल’ अर्थशास्त्रका प्रोफेसर डान एइरिलीले पनि आफ्नो पुस्तकमा यस्तै एक अध्ययनबारे उल्लेख गरेका छन् । उनले म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको एउटा डर्मिटरीमा रहेका  रेफ्रिजेरेटरमध्ये आधामा कोकाकोलाका ६ ओटा प्याक सुटुक्क राखे । बाँकी रेफ्रिजेरेटरमा ६ ओटा पेपर प्लेटमा एक/एक डलरका ६ ओटा नोट राखेका थिए । त्यसको ७२ घण्टापछि हेर्दा पैसा जस्ताको तस्तै पाइएको थियो भने कोकाकोला सकिएको थियो । उनले पुस्तकमा दिएको निष्कर्षअनुसार यो अध्ययनले मानिसहरू सोझै पैसाको कुरा छैन भने त्यस्तो कुरा चोर्न बढी सहज रूपमा तयार हुन्छन् भन्ने मान्नुपर्छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्