arthik abhiyan
ad banner

कर्णालीका ४० पर्यटकीय गन्तव्य सार्वजनिक, ५ सदस्यीय प्रादेशिक पर्यटन प्रवर्द्धन समिति गठन

Aug 4, 2019
प्रदेश ०६
Image Not Found
author avatar आकाश तारा बयक

साउन १८, सुर्खेत । नेपाल भ्रमण वर्ष–२०२० शुरु हुन साढे ४ महीनामात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारले प्रदेशका उत्कृष्ट ४० पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले शनिवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी प्रदेशका ४० उत्कृष्ट पर्यटकीय गन्तव्य सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा कर्णालीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले राजु कार्कीको संयोजकत्वमा पाँच सदस्यीय प्रादेशिक पर्यटन प्रवर्द्धन समिति गठन गरिएको जानकारी गराइएको छ । समितिका सदस्यमा दिलबहादुर महत, देवराज जैशी, देवीकृष्ण रोकाया र सदस्य सचिवमा मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधान रहेका छन् । उक्त समितिले कर्णालीको समग्र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले अपेक्षा राखेको छ । मन्त्रालयका अनुसार पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा खोलिने कार्यालयका लागि लंकबहादुर शाही, जनकराज शर्मा र छेवाङ लामा सम्पर्क व्यक्तिको रुपमा तोकिएको छ ।

‘नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने योजनालाई सफल बनाउन हामीले कर्णालीका ४० ओटा पर्यटकीय गन्तव्यलाई छानेका हौं,’ कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले भने, ‘प्रदेशभर १०१ पर्यटकीय क्षेत्र भएपनि अहिले सबै स्थानमा विकास गर्न नसकिने भएकाले पहिलो चरणमा ४० ओटा क्षेत्रको चयन गरेका हौं ।’ उनले नेपाल भ्रमण वर्ष–२०२० लाई प्रभावकारी रुपमा सञ्चालन गर्न देवराज जैशीको संयोजकत्वमा प्रचार–प्रसार विभाग गठन गरिएको जानकारी दिए । जनकराज शर्मालाई होटल ट्राभल तथा ट्रेकिङ व्यवस्थापन विभाग, देवीकृष्ण रोकायालाई मानव संशाधन विभाग, लंकबहादुर शाहीलाई आर्थिक विभाग दिलबहादुर महतलाई पर्यटकीय उत्पादन तथा सांस्कृतिक विभागको जिम्मा दिइएको उनले बताए । उनका अनुसार ५ जना ख्यातीप्राप्त व्यक्तिलाई कर्णालीको साथीको रुपमा ‘गूड वेल एम्बास्डर’को रुपमा चयन गरिने छ ।

उक्त कार्यक्रम सञ्चालनका लागि संघीय सरकारबाट बजेट आउने र अपुग रकम प्रदेश सरकारबाटै उपलब्ध गराइने मन्त्री बुढाको भनाइ छ । ‘बढीभन्दा बढी पर्यटक कर्णालीमा ल्याउने हाम्रो योजना छ,’ उनले भने, ‘त्यसका लागि प्रादेशिक पर्यटन प्रवर्द्धन समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।’ उनले प्रदेशका १० ओटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

‘हुम्लाको लिमी भ्याली, रेलिङ बाराडेउ, दुधेदह, खार्पुनाथ र सिमीकोट, मुगुको रारा क्षेत्र, छायानाथ, जुम्लाको चन्दननाथ, गुठीचौर, पातारासी र सिंजा भ्याली, कालिकोटको पचाल झरना, चुलीमालिका, कोट दरबार, पञ्चा दरबारलाई पर्यटकीय गन्तव्यमा समेटेका छौं,’ उनले भने, ‘दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, पञ्चपुरी सर्किट र विद्यापुर, सल्यानको कुपिण्डे ताल, छायाक्षेत्र, खैराबाङ मन्दिर, रुकुम पश्चिमको सिस्ने हिमाल, सर्फु ताल, मुसीकोट दरबार र डिग्रे मन्दिर, जाजरकोटको भेरी नदी, नादाइ गढ, कुशे ठाकुर जीका गढ र डोल्पाको अप्पर डोल्पा, से फोक्सुण्डो, गुम्बा, भिजेर, धो ताराप र त्रिपुरासुन्दरी, छलामष्टा तथा दुनै समेटेका छौं ।’

प्रदेश सरकारले भदौ २५ गते माथिल्लो डोल्पामा महोत्सव आयोजना गर्ने निर्णय भएको समेत मन्त्री बुढाले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्