arthik abhiyan
ad banner

गाउँ जाने बिमा कम्पनीलाई विशेष सुविधा

Aug 5, 2019 
१० वर्ष अघि
NA

नयाँ बिमा कम्पनी दर्ता कार्यलाई केही समययता अघोषित रूपमा रोक्दै आएको बिमा समितिले बिमा कपनीहरूलाई गाउँमा जान प्रेरित गर्ने उद्देश्यले नयाँ नीति ल्याउने भएको छ । 

सो नीतिअनुसार गाउँमा मुख्य कार्यालय राखेर कम्पनी स्थापना गर्नेहरूलाई  कुल पुँजी पाँच करोड र निर्जीवन बिमा कम्पनीहरूको कुल पुँजी तीन करोडमात्र भए पुग्नेछ । हाल जीवन बिमा कम्पनीहरूको कुल पुँजी २५ करोड र निर्जीवन बिमा कम्पनीहरूको पुँजी १० करोड हुनुपर्ने व्यवस्था छ । बिमा समितिका अध्यक्ष देवेन्द्र प्रताप शाहका अनुसार बिमा कम्पनीहरू सहरमा मात्रै केन्द्रित भए पछि उनीहरूलाई गाउँमा जान प्रेरित गर्ने उद्देश्यले यस्तो नीति ल्याउन लागिएको हो । ‘सहरमा धेरै भएर अस्वस्थ प्रतिस्पर्धा हुने तर गाउँमा बिमा कम्पनीहरू पुग्दै नपुग्ने प्रवृत्तिलाई रोक्नका लागि नयाँ नीति ल्याउन लागिएको हो’ शाहले अभियानसँग भने । अहिले सञ्चालित बिमा कम्पनीहरूले दूरदराजका ग्रामीण क्षेत्रमा गएमा उनीहरूले थप सुविधा पाउँछन् कि पाउँदैनन् भन्ने बारेमा भने समिति अहिलेसम्म टुंगोमा पुगेको छैन ।
 
शाहका अनुसार स्थानीय स्तरका विकास बैंकहरूलाई बिमा व्यवसायमा लगानीको लागि आकर्षित गर्न पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने भएको छ । त्यसका लागि विभिन्न चरणमा छलफल भइसकेको जानकारीसमेत शाहले दिए । यस्तै बिमा कम्पनीका लेखापरीक्षकहरूको योग्यता र हैसियतसम्बन्धी छुट्टै नियमावली ल्याउने तयारी बिमा समितिले गरेको छ । समितिका अनुसार लेखा परीक्षकहरूले जानेर वा नजानेर वित्तीय विवरण राम्रोसँग तयार नगर्ने प्रवृत्ति देखिएकाले त्यस्तो नियमावली ल्याउन लागिएको हो । ‘लेखापरीक्षकहरूले आफ्नो मूल्यमान्यताअनुसार काम गर्ने हो भने बिमा व्यवसाय धेरै राम्रोसँग अगाडि बढ्छ । उनीहरूले मनपरि गर्नाले धेरै कुरा बिग्रिएको छ । त्यही भएर नयाँ नियमावली ल्याउन लागिएको हो ।’ शाह भन्छन् ।

वर्ष ३, अंक ४८ २०६५, साउन २०–२६
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्