arthik abhiyan
ad banner

अवैध फोनको आयात र प्रयोग रोक्नुपर्नेमा जोड

Aug 5, 2019
प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालमा अवैध मोबाइल फोनको आयात र प्रयोग रोक्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल मोबाइल वितरक संघको शुक्रवार आयोजित तेस्रो वार्षिक साधारणसभामा उनीहरूले सरकारसँग यस्तो माग गरेका हुन् । 

कार्यक्रममा संसद्को प्रविधि तथा विकास समिति सभापति कल्याणी खड्का (नेकपा)ले नेपालमा ‘हाई प्रोफाइलका’ अधिकांशले कर नतिरेको महँगा मोबाइल फोन बोक्ने गरेको भन्दै करछली रोक्नुपर्ने बताइन् । मोबाइल फोन दर्ता प्रक्रियामा सरकार र नियामक निकायले काम नगरेको उनको टिप्पणी थियो । ‘अहिले नेपालमा मोबाइल तथा अन्य विद्युतीय सामग्री व्यवस्थापनबारे कसैले ध्यान दिएका छैनन्,’ उनले भनिन् । अवैध फोनको आयात र प्रयोग रोक्न पनि सरकारले कदम चाल्नुपर्ने उनले औंल्याइन् ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको प्रक्रिया शुरू भइसकेको बताए । यो प्रणाली लागू भएपछि मोबाइलको अवैध आयात रोकिने उनको दाबी छ । ‘यस्ता सामग्रीको अवैध आयात अझै रोकिएको छैन, त्यसैले हामीले एमडीएमएस यो वर्षभित्रै शुरू गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘यसले सबैलाई फाइदा हुन्छ ।’

मोबाइल फोन इम्पोर्टस एशोसिएशनका अध्यक्ष दीपक मल्होत्राले सरकारको राजस्वमुखी नीतिले गर्दा मोबाइलको अवधै कारोबार फस्टाएको बताए । ‘अहिले सरकारले कर घटाएको भए करीब ४२ करोड राजस्व कम हुन्थ्यो, तर सबै आयात कानूनी रूपमा हुनेथियो,’ उनले भने, ‘जसले गर्दा भविष्यमा सरकारलाई नै फाइदा हुनेथियो, तर त्यसमा ध्यान गएन ।’ अवैध कारोबारले व्यवसायी मर्कामा परेको र सरकारको राजस्व पनि गुमेको उनको भनाइ छ ।

एशोसिएशनका अध्यक्ष दिनेश चुल्याँदोले गतवर्ष मोबाइल व्यवसायका लागि घाटाको वर्ष भएको, तर यो वर्ष सकारात्मक हुने अपेक्षा गरे । मोबाइल फोनको अवैध कारोबार बढ्दा कतिपय व्यवसायी यो क्षेत्रबाटै पलायन हुनुपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्