arthik abhiyan
ad banner

आईटी ल्याब स्थापना : रू. ३ अर्बको ठेक्का ओबीसीआई कम्पनीलाई दिने तयारी

Aug 5, 2019
प्रविधि
Image Not Found

युवराज बस्नेत

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा देशभरका झन्डै १ हजार सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला  (आईटी ल्याब) बनाउन ओसीबी कम्पनीलाई ठेक्का दिने भएको छ । प्राधिकरणले खोलेको टेन्डर प्रस्तावमा तीन कम्पनी उक्त ल्याब बनाउन इच्छुक देखिएका थिए, जसमा ओबीसीआई, म्याक्स, नेपा ज्वाइन्ट भेन्चरसहित आँखु इन्टरप्राइजेज प्रालि र वल्र्ड डिष्ट्रिब्युशन नेपाल थिए ।

दूरसञ्चार प्राधिकरणका अनुसार प्राधिकरणले ९३० विद्यालयमा यस्तो प्रयोगशाला बनाउन ३ अर्ब ४७ करोड लगानी गर्ने भएको छ । प्राधिकरणले निकालेको टेन्डरबाट सबैभन्दा कम रकम कबोल गर्ने ओबीसीआई, म्याक्स, नेपा ज्वाइन्ट भेन्चरले ठेक्का पाउने भएको छ ।

असार २२ मा प्राधिकरणले खोलेको तीनओटै कम्पनीको आर्थिक प्रस्ताव तथा मूल्यांकन समितिको निर्णयका आधारमा उक्त कम्पनी छनोटमा परेको प्राधिकरणका सहायक निर्देशक सन्दीप अधिकारीले बताए । उनका अनुसार आँखुले करीब ३ अर्ब ६६ करोड रुपैयाँ, वर्ल्ड डिस्ट्रिब्युशनले करीब ३ अर्ब ४९ करोड रुपैयाँ र नेपाआई, म्याक्स, नेपाको जेभीले करीब ३ अर्ब ४७ करोड रुपैयाँको टेन्डर हालेका थिए । 

प्राधिकरणका अनुसार १५ दिनभित्र आशयपत्र बुझ्न कम्पनीलाई बोलाइएको छ । छनोटमा परेको कम्पनीले प्रत्येक आईटी ल्याबमा करीब २४ ओटा कम्प्युटर र दुई सेट हार्ड डिस्क (एक्सर्टनल), प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्विच, राउटर र बत्ती नभएका स्थानमा सोलार सिस्टमसमेत जडान गर्नुपर्नेछ ।

सरकारको डिजिटल नेपालको अवधारणअनुसार यो परियोजनाले पनि सहयोग गर्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । ‘सरकारी र सामुदायिक विद्यालयहरूमा विद्यालय स्तरबाटै आईटी विषय अध्यापन गराउने योजनाअनुसार ल्याब बनाउन थालिएको हो,’ उनले भने, ‘छनोटमा परेको कम्पनीले टेन्डर पाएको ६ महीनाभित्र यो काम सम्पन्न गर्नुपर्नेछ ।’

प्राधिकरणले सातओटै प्रदेशका सामुदायिक तथा सरकारी माध्यमिक विद्यालयमा आईटी ल्याब स्थापनाका लागि विद्यालयहरूको प्रस्ताव मागेको थियो । त्यसमध्ये ९३० विद्यालय छनोट भएका थिए ।

छनोट भएका विद्यालयमा आईसीटी इन एजुकेशन मास्टर प्लान रणनीतीअन्तर्गत ई–लर्निङ, ई–स्कूल र ई–एजुकेशनका लागि आधार तयार पारिनेछ । त्यसअघि पनि प्राधिकरणले मन्त्रालयको वार्षिक कार्ययोजनाअनुरुप सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नम्बर प्रदेशकाका साथै दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी (सुस्ता पूर्व तथा सुस्ता पश्चिम) र सुनसरी जिल्लाका विद्यालयमा पनि आईटी ल्याब स्थापना गरेको थियो । उक्त प्रदेशका जिल्लाको प्रतिनिर्वाचन क्षेत्र कम्तीमा ६ र अन्य जिल्लाको प्रतिनिर्वाचन क्षेत्र कम्तीमा चार विद्यालयमा  ल्याब स्थापना गरिएको थियो । बाँकी रहेका केही विद्यालयलाई अबको योजनामा गाभिएको प्राधिकरणले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्