arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाली भाषामा गण्डकी र गणितमा प्रदेश–२ का विद्यार्थी अब्बल

Aug 6, 2019  
शिक्षा
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल असेसमेन्ट अफ स्टुडेन्ट अचिभमेन्ट (नासा) को प्रतिवेदनअनुसार नेपाली विषयमा गण्डकी प्रदेश र गणितमा प्रदेश–२ का विद्यार्थी अब्बल रहेका छन् । संस्थाले गतवर्ष (सन् २०१८ मा) देशभरिका कक्षा ५ का विद्यार्थीको नेपाली र गणित विषयको सिकाइ उपलब्धिका सम्बन्धमा गरेको परीक्षणबाट यो तथ्य आएको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सोमवार राजधानीमा कार्यक्रम आयोजना गरी परीक्षणको नतीजा सार्वजनिक गरेको छ । 

निर्धारित ढाँचामा लिइएको परीक्षाका आधारमा नतीजा तयार गरिएको केन्द्रका शाखा अधिकृत श्यामप्रसाद आचार्यले जानकारी दिए । परीक्षणबाट नेपाली भाषामा विद्यार्थीको उपलब्धिका हिसाबले गण्डकी प्रदेश, प्रदेश–३, प्रदेश–१, सुदूरपश्चिमप्रदेश, प्रदेश–२ र कर्णाली प्रदेश क्रमशः पहिलोदेखि सातौं स्थानमा छन् । त्यसैगरी गणिततर्फ प्रदेश–२, प्रदेश–३, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश–१ र प्रदेश–५ क्रमशः पहिलोदेखि सातौं स्थानमा छन् । 

लैंगिक रूपमा गरिएको तुलनाबाट छात्राको नेपाली र छात्रको गणितमा उपलब्धि राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ । जातीय दृष्टिले ब्राह्मण÷क्षत्रीका बालबालिकाको नेपाली विषयमा राम्रो देखिन्छ भने गैर नेपालीभाषी एवम् माडवारी जातिहरूको गणितमा सबैभन्दा राम्रो पाइएको आचार्यले बताए । ११ वर्षको उमेरमा कक्षा ५ मा पुगेका विद्यार्थीको दुवै विषयमा त्योभन्दा कम वा बढी उमेरमा सो कक्षामा पुगेका विद्यार्थीको भन्दा राम्रो सिकाइ उपलब्धि भएको परीक्षणले देखाएको छ । यसबाट बालबालिकाको उमेर र कक्षाको तहमा मेल भएमात्रै विद्यार्थीले राम्रोसँग सिक्ने तथ्य पाइएको आचार्यले जानकारी दिए ।

अन्य पेशाको तुलनामा शिक्षण पेशामा रहेका अभिभावकका बालबालिकाको नेपाली र गणित दुवै विषयमा सिकाइ उपलब्धि राम्रो रहेको छ । स्कूलमा हुने ‘बुलिङ’ले विद्यार्थीको सिकाइ उपलब्धिमा सबैभन्दा बढी नराम्रो असर पारेको प्रतिवेदनमा उल्लेख छ । तथ्यांकअनुसार नेपाली र गणित दुवै विषयमा संस्थागत विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि राम्रो रहेको देखिएको छ । 

परीक्षणले ट्युसन पढेका विद्यार्थीको सिकाइ उपलब्धि राम्रो रहेको देखाएको छ । यो तथ्यांक प्रस्तुत भएपछि राज्य तथा अभिभावकले शिक्षामा गरेको लगानीले उचित नतीजा किन दिन सकिरहेको छैन भनी कार्यक्रमका सहभागीहरूले प्रश्न उठाएका थिए । अभिभावकमध्ये पनि बाबुको तुलनामा आमाले सिकाएका बालबालिकाको सिकाइ उपलब्धि राम्रो पाइएको छ । 

कार्यक्रममा शिक्षाविद् मनप्रसाद वाग्लेले समग्रमा सन् १९९७ को र सन् २०१८ को सिकाइ उपलब्धिमा खासै प्रगति नभएको पाइएको बताए । परीक्षण गरेर प्रतिवेदन निकाल्ने मात्रै नभई नेतृत्व तहबाट विशेष पहलको आवश्यकता रहेको उनको भनाइ छ । अर्का शिक्षाविद् विद्यानाथ कोइरालाले सबै स्थान, वर्ग र अवस्थाका विद्यार्थीको सिकाइ उपलब्धि एउटै मापदण्डका आधारमा परीक्षण गरिनु नै गलत भएको धारणा राखे । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्