arthik abhiyan
ad banner

स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर आयो

Aug 6, 2019
यातायात
NA
author avatar अभियान संवाददाता

काठमाडौं । एकैपटक धेरै स्मार्ट लाइसेन्स छाप्ने मेशिन (मास प्रिन्टर) नेपाल आएको छ । उक्त प्रिन्टर आइतवार नेपाल आइपुगेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

विभागले वैशाख १६ गते भारतीय कम्पनी भारतीय मद्रास सेक्युरिटी प्रिन्टर्ससँग रू. ४ करोड ८३ लाख ९३ हजार ३९६ मा मास प्रिन्टर किन्ने सम्झौता गरेको थियो । असार २९ गतेसम्म कम्पनीले प्रिन्टर उपलब्ध गराउनुपर्ने र सम्झौता मितिभित्र प्रिन्टर उपलब्ध नगराए दैनिक शून्य दशमलव शून्य ५ प्रतिशतका दरले जरीवाना लाग्ने सम्झौतामा उल्लेख थियो । कम्पनीले सम्झौता मितिभन्दा २१ दिन ढिलो प्रिन्टर उपलब्ध गराएको हो । यसबाट दैनिक २४ हजार १९६ का दरले ५ लाख ८ हजार ११६ रुपैयाँ कम्पनीलाई जरीवाना लागेको महानिर्देशक दाहालले बताए ।

आवेदन दिएको २ वर्ष बितिसक्दा पनि कतिपय चालकले स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । विभागसँग भएका ९ ओटा प्रिन्टर मेशिनमध्ये पाँचओटा बिग्रिएर थन्किएकाले बाँकी ४ प्रिन्टरले लाइसेन्सको भार थाम्न नसकेको विभागले बताएको छ ।  विभागका प्रिन्टरले दैनिक ३ हजार मात्र लाइसेन्स छाप्छ, तर दैनिक ८ हजारभन्दा बढीले स्मार्ट लाइसेन्सका लागि आवेदन दिने गरेका छन् । यहीकारण लाइसेन्स वितरणमा ढिलाइ भइरहेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए ।

मास प्रिन्टर आएसँगै आगामी दशैंसम्ममा लाइसेन्स वितरणको समस्या समाधान हुने दाबी विभागको छ । उक्त प्रिन्टरले प्रतिघण्टा साढे ४ सय स्मार्ट लाइसेन्स छाप्न सक्ने सूचना अधिकारी खनालले बताए । विभागले हालसम्म ७ लाख लाइसेन्स छापेर ६ लाख लाइसेन्स वितरण गरेको छ । ७ लाख भन्दा बढी चालकले भने लाइसेन्सको राजस्व तिरेको रसिदको भरमा सवारीसाधन चलाउँदै आएका छन् । 
 

प्रतिक्रिया दिनुहोस्