arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सञ्चालनमा आएन बसपार्क

Aug 6, 2019  
यातायात
Image Not Found

भक्तबहादुर शाही 

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन बसपार्क अझै सम्पन्न हुन सकेको छैन । ठेकेदारले समयमा काम नसक्दा बसपार्क सञ्चालन अनिश्चित बनेको हो । अन्तिम पटक तोएिको म्यादअनुसार बसपार्क निर्माण २०७६ साउन १५ भित्रै सम्पन्न गर्नुपर्ने थियो । तर ठेकेदार कम्पनी युनाइटेड बिल्डर्स र नेपालगञ्ज उपमहानगरपालिकाको उदासीनताले निर्माण पुनः पछि धकेलिने भएको छ । 

‘साउन १५ भित्रै बसपार्क सञ्चालनको तयारी गरिएको थियो,’ नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौड्यालले भने, ‘तर काम पूरा नहुँदा यो सम्भव भएन ।’ ठेकेदारको ढिलासुस्तीकै कारण बसपार्क सम्पन्न गर्न कठिनाइ भएको उनको भनाइ छ । उक्त बसपार्कको काम सम्पन्न गर्न पाँच पटकसम्म म्याद थपिएको उपमहानगरपालिकाले बताएको छ । 

अत्याधुनिक बसपार्क निर्माणका लागि ठेकेदार कम्पनीले रू. १४ करोड ९४ लाखमा ठेक्का कबुल गरेको छ । साढे चार बिगाहा क्षेत्रफलमा बन्ने बसपार्कमा टर्मिनल भवन, शपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र रहनेछन् ।

पार्किङमा समस्या, यात्रुलाई सास्ती  
बसपार्कको निर्माणमा ढिलाइ हुँदा सवारीसाधन पार्किङ गर्न समस्या छ भने बस चढ्न र झर्न यात्रुहरूले सास्ती खेप्नुपरेको छ । बसका स्टाफले बसपार्कमा पार्किङ गर्ने ठाउँ छैन भन्दै जहाँ पायो त्यहीँ झार्ने गरेको कालीकोटका हिमाल सिंहले बताए । ‘बसपार्क हुँदा कुन बस कहाँ जान्छ भन्ने सबै थाहा हुन्थ्यो,’ उनले भने, ‘बीच बजारमा ओरालिदिँदा गन्तव्यसम्म पुग्ने बस पाउनै अन्योल भएको छ ।’ बसपार्क नहुँदा टिकट काउन्टर सञ्चालनमा पनि समस्या भएको छ । ‘घुम्तीमा काउन्टर छ, धूलोधूँवाले हैरान पार्छ,’ भलाकुसारी यातयातका एक कर्मचारीले भने । 

सडकमै पार्किङ गर्दा गाडी जाम हुने गरेको छ । गणेशपुरस्थित सो बसपार्कबाट मुलुकभर दैनिक ५ सयभन्दा बढी सानाठूला सवारीसाधन आउजाउ हुन्छ । करीब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चाप धान्न नसकेकाले नयाँ बसपार्क बनाउन लागिएको हो । बसपार्कमा नेपालगञ्ज उपमहानगरपालिका, नगर विकास कोषको ऋण लगानी छ । सवारीसाधनबाट उठेको पैसाबाट ऋण रकम तिर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्