arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लमही–कोइलावास सडक : मुआब्जा विवादले कालोपत्र रोकियो

Aug 6, 2019  
यातायात
Image Not Found

घोराही (अस) । हुलाकी राजमार्गअन्तर्गत लमही–कोइलावास सडकको मुआब्जा वितरणमा विवाद हुँदा कालोपत्रको काम रोकिएको छ । उक्त सडकको सेम्रहवादेखि गढवाको सिमानासम्मको करीब डेढ किलोमिटर क्षेत्रमा मुआब्जा विवाद उत्पन्न भएपछि कालोपत्रको काम अवरुद्ध भएको हो । सरकारले उपलब्ध गराएको मुआब्जा कम भएको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरूले मुआब्जा बुभ्mन समेत मानेका छैनन् । 

जग्गाको मूल्यांकन सिफारिश समितिले सेम्रहवा क्षेत्रको जग्गाको मूल्य न्यून निर्धारण गरेको भन्दै स्थानीयले सडक कालोपत्रको काममा अवरोध गरेका छन् । साथै आफूहरूले जग्गाको मूल्य निर्धारण संशोधन गर्न माग गरिएका स्थानीय सुशील चौधरीले बताए । कोलहीदेखि गढवाको सिमानासम्म एकै प्रकृतिको जग्गा रहेको तर, जग्गाको मूल्य निर्धारण फरक–फरक गरिएकाले विरोध गरिएको उनको भनाइ छ । ‘यहीँ डेढ किलोमिटर सडक क्षेत्रमा पर्ने जग्गाको तीन प्रकारको मूल्यांकन छ, त्यसमा पनि आकाश–जमीनको फरक छ,’ उनले भने, ‘एउटा छिमेकीले धेरै र अर्को छिमेकीले थोरै मुआब्जा पाउने अवस्था आयो, हामीमाथि सरकारले अन्याय गरेको छ ।’

जग्गाको मूल्य निर्धारण समितिको असारमा बसेको बैठकले जिल्लाभरका जग्गाको मूल्य निर्धारण गरेको थियो । नयाँ मूल्यअनुसार पनि सेम्रहवा क्षेत्रको सडकमा पर्ने जग्गालाई तीनओटा मूल्यांकन गरिएको थियो । यहाँको जग्गाको मूल्यांकन प्रतिवर्गमिटर २४ सय, १५ सय र ५२५ रुपैयाँ कायम गरिएको छ । सेम्रहवा क्षेत्रको सडकमा पर्ने जग्गाको मूल्य प्रतिवर्गमिटर रू. २५ सय कायम गर्न स्थानीयले माग गरेका छन् ।

३२ करोड मुआब्जा बाँडियो
लमही–कोइलावास सडक क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न जिल्लामा प्राप्त भएको रू. ३५ करोड बजेटमध्ये अहिलेसम्म ३२ करोड ११ लाख ४४ हजार मुआब्जा वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा रकम वितरण भइरहेको छ । अब रू. २ करोड ९७ लाख २९ हजार मुआब्जा वितरण गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ३ सय ८७ कित्ताको मुआब्जा वितरण गरिएको छ । ३२ ओटा कित्ताका जग्गाधनीमध्ये १० जना सम्पर्कमा आएको र २२ कित्ताको जग्गाधनी सम्पर्कमा नआएको उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्