arthik abhiyan
ad banner

एमसीसी परियोजनाको ‘काउन्टडाउन’ बिहीवारदेखि : ५ वर्षभित्र काम नसकिए बाँकी पैसा फिर्ता जाने

Aug 7, 2019 
विकास
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपालमा निर्माण हुने परियोजनाको ५ वर्षे अवधि बिहीवारदेखि शुरू हुने भएको छ । उक्त दिन औपचारिक कार्यक्रम गरी परियोजना अन्तर्गतका प्रसारण लाइन र सडक निर्माणको ‘इन्ट्री इन्टू फोर्स–ईआईएफ’ मिति घोषणा गर्न लागिएको ‘मिलेनियम च्यालेन्ज अकाउन्ट–एमसीए’ ले जानकारी दिएको छ । एमसीए उक्त दुवै परियोजना सम्पन्न गर्न स्थापित नेपालस्थित कार्यालय हो । 

नेपाल र अमेरिकाको मित्रताको ७० वर्ष पुगेको अवसरमा अमेरिकी सरकारले सन् २०१७ को फेब्रुअरीमा एमसीसी कम्प्याक्टअन्तर्गत ५० करोड अमेरिकी डलर अनुदान सहयोगको घोषणा गरेको थियो । अमेरिकी सरकार र नेपाल सरकारले हस्ताक्षर गरेको उक्त कम्प्याक्टमा नेपाल सरकारले १३ करोड अमेरिकी डलर थप गरी परियोजना अगाडि बढाउने प्रतिबद्धता गरेका हुन् । 

परियोजनामा सिन्धुपाल्चोकदेखि परासीसम्मको ४ सय किलो भोल्टको हाइभोल्टेज ३ सय किलोमिटर लामो विद्युत् प्रसारणलाइन निर्माण हुनेछ । त्यसैगरी, यही परियोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा सडक मर्मत गरी उच्चस्तरीय गुणस्तर कायम पनि हुनेछ । 

भएकै सडक मर्मत गरिने भएकाले यो पक्ष सजिलो भए पनि निर्धारित अवधिमा प्रसारण लाइन निर्माण सम्पन्न हुनु निकै चुनौतीपूर्ण छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा मन्त्रिपरिषद्ले घोषणा गरिसकिएको प्रसारण लाइन परियोजनाको जग्गा प्राप्ति सबैभन्दा जटिल रहेको छ । २०७७ को असारसम्म जग्गा प्राप्ति सकी निर्माण कार्य थाल्ने एमसीएको योजना छ । 

प्रसारणलाइन योजना
सिन्धुपाल्चोकको लप्सीफेदीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा हुक गरी शुरू हुने यो परियोजना नुवाकोटको रातमाटेमा ४०० रोपनी क्षेत्रफलमा बन्ने सबस्टेशनमा जोडिने छ । त्यसपछि तनहुँको दमौली हुँदै एउटा लाइन परासीको सुनवल पुग्नेछ भने अर्को लाइन रातमाटेबाट हेटौंडा पु¥याइने छ । 
यो प्रसारण लाइनको रातमाटे–हेटौंडा खण्ड हुँदै बिजुली प्राधिकरणले निर्माण गरिरहेको हेटौंडा–ढल्केवर–इनरुवा (४०० केभी) प्रसारणलाइन मार्फत आन्तरिक खपतमा विद्युत् प्रणालीमा प्रवेश गर्नेछ । त्यसैगरी, रातमाटेबाट दमौली हुँदै सुनवलमा पुगेर टुंगिने अर्को खण्ड भारतसँगको अन्तरदेशीय प्रसारणका लागि निर्माण गर्ने भनिएको न्यू बुटवल–गोरखपुर प्रसारणलाइनमा प्रवेश गर्छ । यसले दुवै देशको माग र आपूर्तिको आधारमा विद्युत् आयात÷निर्यातमा भूमिका खेल्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्