arthik abhiyan
ad banner

तथ्यांकोवाच : सुर्ती खेतीमा विद्यमान सम्भावना

Aug 7, 2019
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । सुर्ती र चुरोट सेवन स्वास्थ्यका हानिकारक छ । परन्तु, आयात गरेरै सुर्ती र चुरोट सेवन गर्नुभन्दा स्वदेशी सुर्ती तथा चुरोट सेवन गर्दा मुलुकको अर्थतन्त्रलाई भए पनि हितकर हुन्छ । 

विगत १० वर्षको तथ्यांकलाई हेर्ने हो भने कच्चा सुर्तीको आयात वार्षिक ६ प्रतिशत बढेको देखिन्छ । विश्व खाद्य संगठनको सन् २०१८ को तथ्यांक अनुसार नेपालमा करीब १ हजार मेट्रिक टन सुर्ती आयात भएको देखिन्छ । नेपालमा आर्थिक वर्ष २०१८/१९ मा रू. २ अर्ब ३५ करोडको ५ हजार ५८३ मेट्रिक टन सुर्ती आयात भएको देखिन्छ । यस वर्ष नेपाललाई चाहिने सम्पूर्ण कच्चा सुर्ती भारतबाट आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । यसरी हेर्दा नेपालका कुल ४ हजार ५८३ मेट्रिक टन सुर्तीको आपूर्ति न्यून भएको देखिन्छ ।

नेपालमा १ हेक्टरमा करीब १ टन सुर्ती उत्पादन हुने गर्छ । यसलाई मात्र आधार मान्ने हो भने पनि थप ४ हजार ५८३ हेक्टरमा सुर्ती खेती गर्नु आवश्यक देखिन्छ । जमीन बाँझो राख्ने प्रवृत्ति बढ्दै गएको वर्तमान सन्दर्भमा करीब ४ हजार हेक्टर अर्थात् ६ हजार बिघा जमीन प्राप्त गर्न त्यति असहज पनि छैन । यसका लागि नेपालमा स्थापित चुरोट कारखानाले पृष्ठयोजनाको मान्यतामा आधारित रही सुर्ती उत्पादनमा पनि संलग्न हुुनुपर्छ । यसले एकातिर सुर्तीमा मुलुक आत्मनिर्भर हुने र अर्कोतिर सुर्ती उत्पादनमा रोजगारीका अवसर सृजना भई गरीबी निवारणमा पनि योगदान पुग्ने देखिन्छ । यसका लागि सर्वप्रथम चुरोट उद्योगलाई सुर्ती खेतीमा संलग्न हुन सक्ने वातावरण सृजना गर्नु आवश्यक छ भने अर्कोतिर सुर्ती खेतीको विकास र विस्तारमा विश्व स्वास्थ्य संगठनका प्रावधानलाई दृष्टिगत गर्दै प्रमुख सुर्ती उत्पादक देशले लागू गरेका नीति अंगीकार गर्नु आवश्यक छ । सुर्ती उत्पादनलाई विषादीरहित जैविक विधिबाट उत्पादन गरी नेपाली सुर्तीलाई विशेष पहिचानका साथ निर्यात गर्ने सम्भावना पनि उत्तिकै छ । विगतमा सुर्ती विकास कम्पनी खोेलेर सरकारले यसतर्फ संगठित सक्रियता समेत देखाएको सन्दर्भमा अब चुरोट उत्पादक कम्पनीहरूले यसतर्फ व्यावसायिक लगानी गर्नु आवश्यक देखिन्छ । वार्षिक करीब रू. २ अर्बभन्दा बढी आयात गरिने सुर्ती खेतीमा विद्यमान सम्भावनालाई कम आकलन गर्नुहुँदैन । सन् १९६५ मा नेपालले नै करीब ९ हजार मेट्रिक टनभन्दा बढी सुर्ती उत्पादन गरेको इतिहास छ । 

प्रतिक्रिया दिनुहोस्