arthik abhiyan
ad banner

उद्यमीलाई निरुत्साहित गर्दैछ संघीय सरकार, नभए कर छुटमा आपत्ति किन ?

Aug 7, 2019
प्रदेश ०२
Image Not Found

साउन २२, जनकपुरधाम । संघीय सरकारका कारण प्रदेश–२ मा उद्योग स्थापनामा जटिलता थपिएको गुनासो गरिएको छ । प्रदेश–२ सरकारले प्रदेशमा उद्योग स्थापनामा लगानी गर्नेलाई करमा छुट दिने नीति बनाएको, तर त्यसप्रति संघीय सरकारले आपत्ति जनाउँदै आएको बताइएको छ ।

अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)ले बुधवार आयोजना गरेको ‘लघु, साना तथा मझौला उद्योगका लागि उपयुक्त वातावरण निर्माण’ विषयक सार्वजनिक निजी संवाद कार्यक्रममा सो गुनासो गरिएको हो । प्रदेश सरकारले प्रदेशभित्र उद्योग स्थापना गर्ने लगानीकर्तालाई २० वर्षसम्ममा करमा छुट दिने नीति लिएकोमा संघीय सरकारले आपत्ति जनाउँदै आएको बताइएको छ । मुख्यमन्त्री लालबाबु राउतले लगानी गर्न उत्साहित उद्यमीलाई संघीय सरकारले विभिन्न किसिमको बहाना गरी निरुत्साहित गरेका कारण उद्योग स्थापनामा जटिलता थपिएको बताए ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष किशोर प्रधानले प्रदेश–२ सरकारले २० वर्षसम्म उद्योगमा लगानी गर्नेलाई करको छुट दिने घोषणा गरेपछि ठूला उद्योगी सो घोषणाबाट उत्साहित भएको बताउँदै संघीय सरकारले अनेक कानूनी जटिलता खडा गरेपछि उत्साहित उद्योगी निरुत्साहित भएको प्रसंग उल्लेख गरे । यस्तै, प्रा.डा. भोगेन्द्र झाले औद्योगिक असुरक्षाका कारण प्रदेशका दर्जनौं उद्यमी पलायन भई औद्योगिक स्खलनको अवस्था रहेको बताए ।

प्रदेश–२ का नीति आयोगका उपाध्यक्ष हरिवंश झाले प्रदेश सरकारले औद्योगिक प्रवर्द्धन लागि प्रदेशमा विभिन्न स्थानमा उद्योग स्थापना गर्ने नीति आत्मसात् गरेको जानकारी दिए ।

प्रदेश–२ का प्रदेशसभा सदस्य रामअशीष यादवले मृत्यु शय्यामा छटपटाइ रहेको कृषिजन्य उद्योगलाई जीवन्तता दिनु आजको आवश्यकता भएको विचार व्यक्त गरे । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले प्रदेश–२ मा उद्योग स्थापना गर्ने पर्याप्त सम्भावना भएकाले प्रदेश सरकारले जग्गा उपलब्धलगायत तरुण जनशक्तिको परिचालनमा ध्यान केन्द्रित गर्नु जरुरी रहेकोमा जोड दिए ।

कार्यक्रममा अन्तरराष्ट्रिय श्रम संगठनका राष्ट्रिय कार्यक्रम संयोजक नवीनकुमार कर्ण, उद्योगी ललितकुमार साह, जीतेन्द्रप्रसाद साह, सुधा कर्ण, सहकारी अभियानकर्मी धु्रवनारायण यादवले प्रदेश–२ मा कृषि, पर्यटनलगायत उद्योग स्थापनाको पर्याप्त सम्भावना भएको धारणा राखेका थिए । रासस

 

प्रतिक्रिया दिनुहोस्