arthik abhiyan
ad banner

पाम आयल क्षणिक अवसर

Aug 8, 2019
सम्पादकीय
NA

नेपालमा उत्पादन नै नहुने पाम आयल गत आर्थिक वर्षमा भारत निर्यात हुने वस्तुमा पहिलो बन्न पुगेको छ । पाम आयल तेस्रो मुलुकबाट नेपाल ल्याई प्रशोधन गरेर भारत निर्यात गरिन्छ ।

 आर्थिक वर्ष (आव) २०७५/७६ मा ११ अर्ब ८६ करोडको कच्चा पाम आयल आयात भएकामा भारततर्फ १० अर्ब ३३ करोडको प्रशोधित पाम आयल निर्यात भएको छ । त्यस्तै रू. २ अर्ब बराबरको भटमासको तेल पनि भारत निर्यात भएको छ । यी दुवै वस्तुको निर्यात स्थिर रहला त ?

 स्वदेशी किसानलाई राहत दिन भारत सरकारले खान तेल र यसको कच्चा पदार्थ आयातलाई निरुत्साहित गर्ने उद्देश्यले पाम आयलको आयातमा ५९ दशमलव ४ र प्रशोधित भटमासको तेलको आयातमा ४४ प्रतिशत भन्सार शुल्क पुर्‍यायो । तर, साफ्टाका प्रावधान अनुसार सार्क मुलुकहरूले शून्य भन्सारको सुविधा पाएका छन् । यही भएर अहिले नेपाल, बंगलादेश र श्रीलंकाले समेत भारतमा पाम आयलको निर्यात बढाएका हुन् । विदेशबाट ल्याएको कच्चा पाम आयल प्रशोधन गरी भारत निर्यात गर्दा अनुदान सहुलियत समेत पाउने भएकाले नेपाली व्यवसायीहरूले मौका छोपेका हुन् । बन्द भएका मिल र सञ्चालनमा रहेका तोरी मिलहरू समेत अहिले धमाधम पाम आयल प्रशोधन गर्न थालेका छन् ।

 पाम आयल निर्यातबाट नेपालले राम्रो लाभ लिन सक्छ । व्यापारघाटा कम गर्न सहयोगी हुन सक्छ । निर्यात गरिएको वस्तु नेपालमा प्रशोधित गरी मूल्य अभिवृद्धि गरिएको भने हुनुपर्छ ।

 भारतीय व्यापारीले भने नेपालले प्रशोधित तेल नै ल्याई भारत निर्यात गरेको आशंका गरी विरोध गरेका छन् । उनीहरूले खानेतेललाई साफ्टा प्रावधान अन्तर्गत नकारात्मक सूचीमा राख्न सरकारसँग माग गरिरहेका छन् र यसलाई ‘वैधानिक तस्करी’को नाम दिएका छन् ।

 नेपालले आफूले कच्चा पदार्थमात्रै ल्याएको र प्रशोधन गरेर भारत निकासी गरेको भनी भारतीय सरकारलाई आश्वस्त नपार्ने हो भने यसरी बढेको निर्यात अर्थहीन हुन सक्छ । अझ भन्ने हो भने नेपालका धेरै उत्पादनलाई भारतले कच्चा पदार्थको नाममा तयारी वस्तु ल्याएर भारतलाई बेचेको आरोप लाग्न सक्छ र भोलिका दिनमा नेपाली कृषि उपज भारत निर्यात गर्न झन् गाह्रो हुन सक्छ । चिनियाँ अदुवालाई नेपाली भनेर भारत निर्यात गर्ने, अन्य देशबाट ल्याएको सुपारी भारत निकासी गर्ने जस्ता कामले नेपालको व्यापारिक छवि खराब बनेको छ । यसैले यस्तो निर्याततर्फ सचेत हुनु जरुरी छ ।

 हरेक देशले आफ्नो व्यापारिक स्वार्थलाई पहिलो प्राथमिकतामा राख्छ । उसले आफ्ना व्यवसायीको स्वार्थ पूरा गर्न कुनै पनि कसर बाँकी राख्दैन । भारत आप्mनो आन्तरिक मामिलमा बढी केन्द्रित भएकाले पाम आयल निर्यातमा कुनै अवरोध खडा गरिएको छैन । तर, उसले कुनै पनि दिन यसमा कुनै बहाना झिकेर निर्यातमा अवरोध खडा गर्न सक्छ ।

 डेढ देशकसम्म भारतीय बजारमा नेपाली वनस्पति घिउको राम्रो बजार थियो । तर, भारतले नेपाली वनस्पति घिउमा अनेक अवरोध लगायो । अन्य छिमेकी मुलुकलाई सहज व्यापारिक क्षेत्रमा निर्यात गर्न दियो भने नेपाली उत्पादनलाई अपायक पर्ने बजारमा निर्यात गर्न दियो । त्यसले गर्दा नेपाली उत्पादनले अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न गाह्रो भयो । नयाँनयाँ प्रावधान लगाएपछि हाल घिउ निर्यात नै बन्द भएको छ र कतिपय घिउ उद्योगहरू बन्द भएका छन् ।

 पाम आयलमा पनि यस्तै हुन सक्छ । तर, यो नेपालको उत्पादन नभएकाले त्यसमा अवरोध आए पनि ठूलो समस्या आउँदैन । नेपालका उत्पादनलाई भारतीय व्यापारी र सरकारले हेर्ने दृष्टिकोण नकारात्मक बन्न पुग्यो भने त्यो ठूलो दुर्भाग्य हुनेछ । त्यसैले यस्तो क्षणिक लाभका पछि लाग्नुको साटो दीर्घकालीन निर्यात बढाउने वस्तुको उत्पादनमा लाग्नु नेपालका लागि हितकर हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस्