arthik abhiyan
ad banner

पार्टटाइम स्टडी गरे पनि हुन्छ, कामचाहिँ सिक्नुपर्‍यो

Aug 8, 2019 
अन्तरवार्ता अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
शैलेन्द्रराज गिरी, अध्यक्ष एवं प्रबन्ध निर्देशक, मेरो जब डटकम

पढाइ सकिनेबित्तिकै जागीर पाइहाल्ने वा योग्य मानिने अवस्था अब रहेन । शैक्षिक प्रमाणपत्र बलियो भए पनि प्रयोगात्मक ज्ञान नहुँदा फिल्डमा गएर काम गर्न सकिँदैन । त्यसैले सम्बन्धित कार्यक्षेत्रमा सजिलै अभ्यस्त हुन पढाइसँगै काम गर्नु जरुरी ठान्छन् मेरो जब डटकम संस्थापक, अध्यक्ष एवं प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरी । १८ वर्षभन्दा बढी समयदेखि रोजगारी र जनशक्तिबीचको पुलको काम गर्दै आएका उनी नेपालको शिक्षा र रोजगारीका अवसरका सम्बन्धमा राम्रो ज्ञान राख्छन् । उनले देशका अन्तरराष्ट्रिय गैरसरकारी संस्था, बैंक, बहुराष्ट्रिय कम्पनी, सरकारी निकाय तथा इन्टरनेट सेवा प्रदायकलाई समेत जनशक्ति व्यवस्थापनमा योगदान पु¥याउँदै आएका छन् । प्रस्तुत छ, सोसाइटी फर ह्युमन रिसोर्स म्यानेजमेन्टका प्रमाणपत्र प्राप्त प्रशिक्षकका साथै एनएलपी कोच समेत उनी मेरो जब डटकमसहित तीन कम्पनीमार्फत सेवा दिइरहेका छन् । प्रस्तुत छ, रोजगारी बजार, जनशक्ति माग तथा आपूर्तिको अवस्था, शैक्षिक प्रणाली लगायत विषयमा गिरीसँग आर्थिक अभियानकी दुर्गा लामिछानेले गरेको कुराकानी :

रोजगारी बजारको अवस्था हेर्दा कुन क्षेत्रमा बढी जनशक्तिको माग छ ?
सन् २०१८ को शुरूदेखि अहिलेसम्मको मेरोमा संकलन भएको तथ्यांकका आधारमा सबैभन्दा बढी माग सूचना प्रविधि (आईटी) क्षेत्रमा छ । यस क्षेत्रमा जनशक्ति उत्पादन पनि नभएको होइन । तर माग त्योभन्दा धेरै बढिरहेको छ । दोस्रोमा पूर्व प्राथमिक तहदेखि कलेजसम्मको शिक्षण क्षेत्रमा माग छ । शिक्षणमा निश्चित विषयमा मात्रै नभई सबै विषयमा जनशक्तिको माग उच्च छ । तेस्रोमा विक्री तथा बजारीकरण (सेल्स एन्ड मार्केटिङ)मा छ । यसलाई पनि छुट्ट्याउने हो भने सेल्समा जनशक्ति माग बढी छ । यसमा खासगरी एफएमसीजी प्रडक्टको सेल, गाडीहरूका शोरूमबाट हुने सेल छन् । त्यसैगरी सेल्सअन्तर्गत नै सेवा क्षेत्रमा रिसर्च डेभेलपमेन्ट अफिसर, प्रपोजल राइटर जस्ता अवसर धेरै छन् । त्यसैगरी मार्केटिङतिर हेर्दा डिजिटल मार्केटिङमा धेरै जनशक्ति माग छ ।  

चौथोमा, विज्ञापन एजेन्सी सम्बन्धी रोजगारीको अवसर रहेको छ । जस्तै ग्राफिक डिजाइनिङ, कपी राइटर, कन्टेन्ट राइटर तथा क्लाइन्ट सर्भिसिङ जस्ता काम पर्दछन् । त्यसपछि पाँचौंमा एनजीओ÷आईएनजीओ पर्दछन् । यसमा चाहिँ नयाँभन्दा पनि अलिकति अनुभव भएको मान्छे खोजिन्छ । यसमा एम एन्ड ई, अनुसन्धाता, एडमिन फाइनान्स अफिसर जस्ता अवसर छन् । 

जनशक्तिको माग अनुसारको आपूर्ति छ कि छैन ? कुनै क्षेत्रमा अभाव नै छ कि ?
जनशक्ति आपूर्तिका हिसाबले सबै क्षेत्रमा छन् । त्यसैले यसमा चाहिँ अभावै छ भन्न सक्ने स्थिति त छैन । तर खोजेजस्तो गुणस्तरीय जनशक्तिको अभाव सबै क्षेत्रमा छ । यसो हुनुको कारण शिक्षा प्रणाली नै हो । 

कसरी ?
सूचना प्रविधि विषयमा विभिन्न किसिमका नयाँ नयाँ कार्यक्रम आइसके । तर पढाइ चाहिँ बजारको आवश्यकता अनुसार अद्यावधिक भएको छैन । यस हिसाबले सोही अनुसारको कार्यक्रम चाहिएको छ । 

सेल्स एन्ड मार्केटिङ पढाइ हुन्छ । यो पढाउने भन्दा बढी प्रयोगात्मक गरेर जान्ने कुरा हो । यसका लागि फिल्डमा जानुपर्ने हो भने त्यहीँ गएर बेचेको, मान्छेलाई भेटेको हुनुपर्छ । शोरूममा हो भने त्यहाँ बसेर कस्ता ग्राहक आउँछन् र कसरी डिल गर्ने रहेछ हेरेको हुनुपर्छ । तर शिक्षामा यस्तो गहिरोसँग अभ्यासका पक्ष नै समेटिएको छैन । यसले गर्दा पढेर उत्तीण त हुन्छन्, तर विक्री गरेर देखाऊ त भन्यो भने सक्दैनन् ।

हामीकहाँ जुनसुकै क्षेत्रमा पनि जनशक्तिको अभाव देखिन्छ । यसको कारण के होला ?
यो अभाव यहाँ मात्र होइन, संसारभर नै हो । किनभने समयसँगै बदलिँदै जाने कामका प्रकृतिले नयाँ नयाँ अवसर सृजना गर्दै गएका हुन्छन् । अनि त्यहीअनुसार जनशक्ति उत्पादन प्रणाली अगाडि नबढ्नाले यो अवस्था आउने हो । कलेज र उद्योगबीचको अन्तरसंवाद भएर कोर्स डिजाइन गर्ने चलन छैन । यसका लागि पनि पाठ्यक्रम परिवर्तनको ठूलै प्रयास गर्नुपर्ने हुन्छ । त्यो नहुने हो भने उद्योगले नै कलेज सञ्चालन गर्नुपर्ने अवस्था आउँछ । भारतमा यो क्रम शुरू भइसकेको छ । त्यहाँ आईटी कम्पनीहरू मिलेर एउटा छुट्टै विश्वविद्यालय नै खोलेका छन् । 

कलेजहरूले उद्यमी, व्यवसायीलाई गेस्ट लेक्चरका लागि ल्याउने अभ्यास छ । त्यसले मात्रै पुग्दैन भन्ने हो ? 
उहाँहरू त आउनुहुन्छ, लेक्चर दिनुहुन्छ, आफ्ना अनुभव सुनाउनुहुन्छ, जानुहुन्छ । त्यतिले विद्यार्थी भोलिको जब मार्केटका लागि तयार हुँदैन । यो भनेको त भोलि पौडी खेल्नुपर्ने मान्छेलाई पौडी यसरी खेल्नुपर्छ, मैले यसरी खेलेँ भनेर लेक्चर दिए जस्तो मात्र हो । न पढेर, न भिडियो नै हेरेर पनि पौडी खेल्न सिकिन्छ । साँच्चै पौडी सिकाउनकै लागि त पानीभित्रै लगेर सिकाउनुपर्छ । पानीभित्र छिरेपछि पानीको स्वभाव, गहिराइ, त्यहाँ पस्दाको अनुभूति मिले जस्तै कार्यक्षेत्रमा छिरेपछि बल्ल त्यसका सम्बन्धमा पनि वास्तविकता बुझिन्छ । सिग्नेचर नमिलेर बैंकको कारोबारमा कत्तिलाई समस्या परिरहेको हुन्छ । तर पढ्ने बेलामा कहिल्यै सिग्नेचर गर्नै सिकाइएको हुँदैन । त्यति मात्रै होइन, बायो डाटा बनाउन, कभर लेटर लेख्न, प्रपोजल लेख्न, अन्तरवार्ता दिन केही सिकाइँदैन र पढाइ सकिएको भोलिपल्टै कामका लागि जाँदा चाहिने पहिलो चीज भनेकै तिनीहरू नै हुन्छन् । यसले हातमा ब्याचलर वा मास्टर्स डिग्रीको सर्टिफिकेट भएको मान्छेमा पनि मैले यसै गर्ने हो भन्ने स्पष्टता र आत्मविश्वास हुँदैन । 

यसको मतलव पढाइभन्दा बाहेक पनि थप शीप सिकाउनुपर्ने अवस्था छ भन्न खोज्नु भएको हो ?
हो । त्यसैले त सरकारी सेवाअन्तर्गत निजामती, विद्युत् प्राधिकरण, टेलिकम, कृषि विकास बैंकहरूले नाम निकालिसकेकाहरूलाई आप्mना तालीम केन्द्रमार्फत तालीम दिएर मात्रै काममा खटाउने व्यवस्था छ । यसले सोझै कामको जिम्मेवारी दिन सकिने जनशक्ति निर्माणका लागि आवश्यक शैक्षिक प्रणालीको अभाव रहेको देखाउँछ । आजभोलि अन्य बैंकहरूले पनि लर्निङ एन्ड डेभलपमेन्ट डिपार्टमेन्टमार्फत गराएर, सिकाएर, बुझाएर मात्र नियमित काममा लगाउन थालेका छन् । 

स्नातकमा भर्ना हुन लागिरहेका विद्यार्थीलाई तपाईंको सुझाव के छ ?
पढाइसँगसँगै काम गर्नुस् । काम त एसएलसी सकिनासाथ शुरू गर्नुपर्छ । जसले एसएलसी सकिनासाथ सानातिना भए पनि काम गर्दै पढ्छ, उसको स्नातक सकिँदा ४ वर्षको अनुभव हुन्छ । त्यसले उसलाई जब मार्केटमा सिलेबल बनाउँछ । १ घण्टा गर्नुस् वा पाँच घण्टा गर्नुस्, काम चाहिँ गर्नुस् । त्यो काम भनेको जागिरै हुनुपर्छ भन्ने पनि छैन । आफन्त, चिनजानको मान्छेको पसल वा अन्य कुनै काममा हल्का सघाउने काम गरे पनि हुन्छ ।

मेरी छोरी अहिले १२ वर्षकी भइन्, ७ कक्षामा पढ्छिन् । उनले काम सिक्ने इच्छा देखाइन् । मैले आफ्नै अफिसमा ल्याएँ र  काम सिक्ने भए निवेदन देऊ भनेँ । बाल श्रमशोषणको हिसाबले नभई उसले काम सिक्ने हिसाबले केही समय अकाउन्ट डिपार्टमेन्टमा कागजपत्र मिलाउन राखिदियौं । त्यो क्रममा उनले रिसिट भौचर, पेमेन्ट भौचर हुँदो रहेछ भन्ने सिकिन् । त्यसपछि एचआर डिपार्टमेन्टमा राखिदियौं । एचआरले को मान्छे ढिलो आउँदो रहेछ, को चाँडो आउँदो रहेछ हाजिरी हेरेर, जोड घटाउ गरेर निकाल्न दियो । यसबाट उनले अफिसमा चाँडो आउने पनि ढिलो आउने पनि मान्छे हुँदा रहेछन् भन्ने एचआरको विषय बुझिन् । मार्केटिङअन्तर्गत फेसबुकमा कुन पोस्टमा कति लाइक आउँदो रहेछ हेर भन्दा त्यो विषय पनि बुझिन् । 

यस्ता कुरा बुझ्न स्नातक पूरा गर्नुपर्छ भन्ने छैन नि । यी कुरा कलेजमा पढाइँदा पनि पढाइँदैन । त्यसैले सबै कुरा कलेजबाट आश गर्नु पनि हुँदैन । केही भएन भने घरको नजिकैको रेस्टुराँमा गएर बेलुका म तपाईंको हिसाब किताब गरिदिन्छु, पैसा चलाउँदा पनि चलाउँदिनँ र मलाई पैसा दिनु पनि पर्दैन भन्यो भने काम दिन सक्छ । काम राम्रो लागे दैनिक आएर हिसाब गरिदेऊ, म दिनको वा महीनाको यति दिन्छु भनेर भन्न पनि सक्छ । त्यसबाट सिक्ने अवसर पाइन्छ । हिसाब किताब राख्ने क्रममा त्यहाँका कर्मचारीले कस्तो व्यवहार गर्दा रहेछन् ? सुपरभाइजरले कर्मचारीलाई कसरी काम लगाउँदो रहेछ ? सुपरभाइजरलाई टेरेन भने के गर्नुपर्ने रहेछ ? कस्ता ग्राहक आउँदा रहेछन् ? कसरी व्यवहार गर्नुपर्ने रहेछ ? सबै देख्ने अवसर हुन्छ । यो चलन विदेशमा छ । त्यहाँ विद्यालयको पढाइ सकिएपछि सबै काम सिक्न पार्टटाइम काममा जान्छन् । त्यो हामीकहाँ पनि गर्नु जरुरी छ । 

तपाईं धेरै कलेजमा गेस्ट लेक्चररका रूपमा निम्त्याइनु हुन्छ । धेरै कलेजको बारेमा पनि जानकारी छ । विद्यार्थीलाई यस्ता कलेज राम्रो भन्ने केही छ ?
सबै कलेजले कसरी आफ्ना विद्यार्थीलाई जब मार्केटका लागि योग्य बनाऊँ, ता कि उनीहरूको भविष्य राम्रो होस् भनेर प्रयास गरिरहेका छन् । कलेजहरूले विद्यार्थीलाई जब मार्केट बुझाउन इन्टर्नशिप गराइरहनु भएको छ । तर छोटो समयको कोर्सअन्तर्गतको इन्टर्नशिपले मात्र पुग्दैन । माथि भने जस्तै अन्य तरीकाले पनि काम गर्दै जाने हो भने बल्ल इन्टर्नशिपमा जाँदा काम बुझिन्छ । कलेजहरूले भिजिट त लैजान्छन्, तर धेरैजसोले उद्योग भ्रमण गराउनुपर्नेमा बाहिर बाहिर घुमाएको देखिन्छ । केही कलेजहरूले भने बाहिरसँगै उद्योग पनि घुमाउने, त्यहाँ हुने उत्पादन, व्यवस्थापन जस्ता कुरा देखाउने गर्ने गरेको देखिन्छ । यसले विद्यार्थीले पढाइ र देखाइको सामञ्जस्य गर्न सिक्छन् । यसका लागि कलेजले कति पैसा लिएको छ र कति खर्च गर्न सक्छ भन्नेमा पनि भर पर्छ ।

त्यसो हो भने त धेरै खर्च गर्न नसक्ने अभिभावकका छोराछोरीले यस्ता अवसरबाट वञ्चित हुनुपर्ने अवस्था देखियो । त्यस्ता विद्यार्थीले अवसरबाट वञ्चित पनि हुनु नपरोस् र आफ्नो आर्थिक अवस्थाले पनि धान्ने होस् भन्न कस्ता कलेजमा पढ्नुपर्ला ?
कलेज त जस्तो पढे नि हुन्छ । अझ सुविधा हुन्छ भने पार्टटाइममा पढ्ना पनि भयो । तर काम चाहिँ सिक्नुपर्‍यो । कलेजबाट उत्तीर्ण भएपछि पनि काम नै गर्ने हो । त्यसमा पनि ब्याचलर सकेर खुरुखुरु मास्टर्स गर्ने पनि होइन । ब्याचलर सकिएपछि उसले गरिरहेको पार्टटाइम काम फुलटाइम गर्ने हो । २–३ वर्ष काम गरिसकेपछि ‘मलाई यो क्षेत्र उपयुक्त हुन्छ’ भन्ने जब ठहर हुन्छ, तब त्यही क्षेत्रलाई सहयोग हुने विषयमा मास्टर्स गर्ने हो । त्यसो हुँदा जुनसुकै आर्थिक अवस्थाको परिवारको विद्यार्थी भए पनि ब्याचलरको पढाइसँगै काम गर्नुपर्छ । यसले काम गर्ने बानी बस्छ । बेलैदेखि काम सिकिएन भने पछि आफू धेरै पढेर जब मार्केटमा छिर्न खोज्दा आपूmभन्दा कम पढेको मान्छेको अन्डरमा बसेर काम गर्नुपर्ने अवस्था पनि आउँछ । अनि अहंकारले त्यो सहन सक्दैन र मान्छे विदेशिन्छ । अभिभावकले बेलैदेखि काम गर्नुपर्छ है भन्ने र काम गर्ने वातावरण बनाइदिने गर्नुपर्छ । काम चाहिँ आफैले खोज्ने, बुझ्ने र गर्ने हो । हाम्रो देशका युवाहरूमा साह्रै अल्छीपना छ । ममा पनि थियो । तर जुनबेला म झसंग भएँ, त्यतिबेला ब्याचलर सकिइसकेको थियो । त्यतिबेला रेज्युमी बनाउनुपर्ने रहेछ, अप्लाई गर्नुपर्ने रहेछ भन्ने बल्ल थाहा भयो । अन्तरवार्ता कसरी दिने भन्ने पनि थाहा थिएन । आफ्नो त्यही सिकाइकै कारण अरूलाई त्यस्तो नपरोस् भनेर पछि आवश्यक पर्ने कुराहरू बेलैमा सिक्दै गर्नुहोस्, जब मार्केट चिन्दै गर्नुहोस् भन्ने मेरो सुझाव हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्