arthik abhiyan
ad banner

उपयुक्त ब्याचलर डिग्री कहाँ र कसरी पाउने ?

Aug 8, 2019 
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

जीवनमा नयाँ चरण वा आयाम शुरू गर्नुपर्दा उत्साहसँगै तनाव पनि महसूस हुन्छ । यस्तै अवस्था ब्याचलर शुरू गर्नुअघि धेरैलाई हुन्छ । कक्षा १२ पछि तपाईं सीधै काममा लाग्नुभयो भने पढाइलाई जस्तो खासै सोच्नु नपर्ला । तर, अध्ययनलाई नै अघि बढाउने हो भने धेरै कुरामा विचार पु¥याउनुपर्छ । ब्याचलरमा उपयुक्त डिग्री छनोट गर्न धेरैले गाह्रो ठान्छन् । यसमा धेरैथरी मानिसका अनेक सल्लाह सुझावले तपाईंलाई झनै अन्योल बनाइदिन्छ । कुन विषय वा डिग्री आफूलाई उपयुक्त हुन्छ भन्ने कुरा तपाईंको रुचि, विषयगत दक्षता, पारिवारिक–आर्थिक अवस्था लगायतमा निर्भर रहन्छ । यही विषयमा केही सहयोगी पक्षबारे यहाँ चर्चा गरिएको छ :

आत्मनिरीक्षण गर्नुहोस्
ब्याचलर डिग्री हासिल गर्ने क्षेत्र वा विषय छनोट गर्नुअघि तपाईं आफैलाई हेर्नुहोस् । आफ्नो रुचि केमा छ, कुन विषयमा राम्रो छु वा राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास छ, त्यसको निक्र्योल गर्नुहोस् । केही यस्ता मानिस हुन्छन्, जो आफूले चाहेको गर्न वा बन्नकै लागि जन्मिएका हुन्छन् । उनीहरूलाई धेरै कुरा सोचिरहनै पर्दैन । स्वतः त्यसमा प्रवृत्त हुन्छन् । अर्का कतिपय यस्ता हुन्छन्, जो आनो खुबी वा रुचि केमा छ भन्दा पनि पैसा कहाँ छ भन्नेतिर दौडन्छन् । तर, बाँकी हामी, जो यी दुवैमा पर्दैनौं भने राम्ररी सोचविचार गरेरै सही निर्णय लिनुपर्छ ।

यस्तोमा पहिलो त, तपाईंलाई अहिले अध्ययनका लोकप्रिय रोजगार क्षेत्रहरूबारे थाहा हुनुपर्छ, जस्तै – सिभिल इन्जिनीयरिङ, वातावरण विज्ञान, ह्युमन मेडिसिन, अन्तरराष्ट्रिय सम्बन्ध आदि । र दोस्रो, यदि यसरी सुझाइने क्षेत्रहरूमा तपाईंको लगाव छैन भने आफैलाई प्रश्न गर्नुप¥यो – तपाईं आना साथीहरूबीच के चाहिँ सबैभन्दा राम्रो गर्न सक्नुहुन्छ ? उदाहरणका लागि, तपाईंलाई डिजाइनिङ वा कलाकारितामा रुचि छ ? के तपाईंसँग पार्टीपछि पनि घरमा जत्तिकै सुरक्षित महसूस गर्नेगरी मानिसको हेरचाह गर्ने खुबी छ ? तपाईं यात्रा÷भ्रमण आयोजना गर्न रमाइलो मान्नुहुन्छ ? यसरी तपाईं स्वतन्त्र रूपमा गर्न मन लाग्ने कामहरूलाई पछ्याउनुहोस्, जसले तपाईंलाई आफ्नो ब्याचलर डिग्री पत्ता लगाउन र त्यसलाई अघि बढाउन सघाउँछ ।

सबैलाई सोध्नुहोस्, अनुभवीलाई सुन्नुहोस्
एक्लै निर्णय लिन जोकोहीलाई मुश्किल पर्छ । झन् आपूmलाई थाहा नभएको विषयमा त अन्योल नै हुन्छ । ब्याचलर डिग्रीकै सन्दर्भमा पनि अध्ययन क्षेत्रबारे निश्चित हुनुहुन्न भने तपाईं अग्रज वा विज्ञहरूलाई अवश्य पनि सोध्नुहुन्छ । उनीहरूले जानेबुझेको सल्लाह पनि दिन्छन् । तर, यसले तपाईंलाई निर्णय लिन सघाउनुको सट्टा झन् अप्ठ्यारो पार्ने सम्भावना हुन्छ । त्यसैले विज्ञ वा प्रोफेशनललाई भन्दा यो विषय पढिरहेका अन्य विद्यार्थीलाई सोध्नुहोस् । कुन क्षेत्रमा सजिलो–अप्ठ्यारो, अवसर–चुनौती छन् भन्ने थाहा पाउन यो व्यावहारिक उपाय हो । यसका लागि तपाईं अन्तरराष्ट्रिय विद्यार्थीका अनुभव सुन्न पनि सक्नुहुन्छ ।

अध्ययनका लागि विदेश ?
अहिले नेपालकै कलेज/विश्वविद्यालयमा विश्वस्तरका धेरै विषयको पढाइ हुन्छ । त्यसैले उच्च अध्ययनका लागि विदेश जानैपर्ने बाध्यता छैन । तर, कक्षा १२ पछि विदेश ताक्नु विद्यार्थीको आम प्रवृत्ति नै बनिसक्यो । यसलाई नराम्रो भनिहाल्न पनि मिल्दैन । आफूले खोजेको–रोजेको पढाइ यहीँ हुन्छ भने फरक कुरा, नभए फरक विषयक्षेत्रमा ब्याचलर डिग्री लिने सोचमा हुनुहुन्छ भने धेरै देश तपाईंको गन्तव्यको सूचीमा हुन्छन् । सामान्यतया अमेरिका, अस्ट्रेलिया, बेलायत, आयरल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स लगायत यूरोपेली मुलुकमा नयाँ, फरक र धेरै विषयका ब्याचलर डिग्री पाइन्छन् । विदेशमा अध्ययन गर्नुको फाइदा सम्बन्धित विषयमा दक्ष हुनु वा राम्रो जागीर पाउन सक्नु मात्र होइन, भिन्न भाषा, संस्कृति, खानपान र जीवनशैलीमा आपूmलाई अभ्यस्त बनाउनु पनि हो । अनि यो पढाइसँगै हुने कुरा हुन् । देश फर्किंदा यही अनुभव तपाईंका लागि अतिरिक्त खुबी बन्न सक्छ ।

आवेदन प्रक्रियामा ध्यान दिनुहोस्
कुन विषयमा ब्याचलर डिग्री लिने भन्ने टुंगो लागिसकेपछि ध्यान दिनुपर्ने कुरा, यो विषय पढ्न सम्बन्धित कलेज वा विश्वविद्यालयमा आवदेन दिने प्रक्रिया हो । नेपालकै कलेज÷विश्वविद्यालयमा पढ्न धेरै कुरा सोध्नै पर्दैन । तर, तपाईं पढ्न विदेश जाँदै हुनुहुन्छ भने डकुमेन्ट तयार पार्ने, आवेदन दिनेदेखि भिसा पाउनेसम्म लामो प्रक्रिया पार गर्नुपर्ने हुन्छ । यसका सबै तयारी आफैले गर्न सकिने भए पनि कन्सल्टेन्सी व्यवसायीको सहयोग लिँदा धेरै सहज हुन्छ । केही सम्बन्धित कलेज÷विश्वविद्यालयले खोज्ने आवश्यक योग्यता, नतीजा, ग्याप (पढाइपछिको खाली समय वा कामको अनुभव) इन्टर्नशिप, शुल्क आदि राम्ररी नबुझी आवेदन दिँदा पैसा र समय व्यर्थ हुन सक्छ । देशअनुसार भिसा आउने समय पनि फरक हुन्छ । लामो समय यत्तिकै बस्नुपर्ने हुँदा धेरै धैर्य र तयारीको पनि आवश्यकता पर्छ । साथै, आवेदन स्वीकृत नभएमा वा भिसा नआएमा के गर्ने भन्ने पनि बेलैमा सोच्नुपर्छ । यसो गर्दा स्वदेशमै भए पनि पढ्ने वातावरण सुरक्षित रहन्छ ।

प्राथमिकता पढाइमै
तपाईंले ब्याचलर डिग्रीको छनोट गर्नुभयो । र, स्वदेश या विदेशको जुन कुनै कलेज/विश्वविद्यालयमा पढ्ने निर्णय गर्नुभयो भने एउटा मुख्य काम सकियो । अध्ययनका लागि विदेश जाँदै हुनुहुन्छ भने त्यहाँको वातावरणमा समायोजित हुन केही समय पक्कै लाग्छ । यसका लागि मानसिक रूपमा पहिले नै तयार हुनुहोस् । त्यहाँ पुगेपछि कमाउने चक्करमा अध्ययनलाई बेवास्ता नगर्नुहोस् । तपाईंको प्राथमिकता काम होइन, पढाइ हो । त्यसैले, नियमित कोर्स लिनुहोस् । प्रोजेक्ट वर्क गर्नुहोस् । प्राध्यापकहरूले सुझाएका विषयवस्तुमा गहिरो जानकारी राख्नुहोस् । आनो अध्ययन क्षेत्रमा सबैभन्दा राम्रो बन्न जे गर्नुपर्ने हो, त्यसलाई नछाड्नुहोस् । बाहिरबाट जाने विद्यार्थी हप्ताभर पढाइ र काममा व्यस्त हुनुपर्दा फुर्सद पाउनै सक्दैनन् । यसले बेचैनी, तनाव र कतिपय अवस्थामा डिप्रेशन निम्त्याएको समेत पाइन्छ । नेपाली विद्यार्थीको हकमा त यो डरलाग्दो समस्या नै बनेको देखिन्छ । यो अवस्था आउन नदिन साथीभाइ भेट्ने, घुम्ने, फिल्म हेर्ने जस्ता मनोरञ्जन गरेर आपूmलाई पुनःताजगी गर्नुपर्छ ।

प्रस्तुति : रामकुमार लामिछाने
(एजेन्सीको सहयोगमा) 

प्रतिक्रिया दिनुहोस्