arthik abhiyan
ad banner

स्नातक विशेष : अभिभावकको कर्तव्य कि बाध्यता ?

Aug 8, 2019
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

नुवाकोटका कृष्णप्रसाद सापकोटा कक्षा १२ उत्तीर्ण आफ्नो छोरालाई स्नातक भर्ना गराउन आफ्नी श्रीमतीका कान र घाँटीका गहना बेचेर काठमाडौं आएका छन् । उनको चाहना छ, छोराले काम नगरी मन लगाएर स्नातक पढोस् मात्रै । तर  प्रतिमहीना रू. ५ हजार कोठाभाडा, मासिक खर्च, कलेजको शुल्क, खाजा खर्च यी सबैको हिसाब गर्दा उनको निधारबाट चिट्चिट् पसिना आए, मुख प्याकप्याक्ती भयो । 

‘नपढाऊँ, यस्तो प्रतिस्पर्धाको समय छ, पढाऊँ आफ्नो बुताले नधान्ने अवस्था,’ उनले भने, ‘ऊ त काम गर्दै पढ्छु भन्छ, पढाइ बिग्रिने डरले मैले नै हुन्छ भन्न सकेको छैन ।’ गाउँको कलेजमा शिक्षा संकाय मात्रै भएको तर छोराले व्यवस्थापन अन्तर्गत बीबीए पढ्न चाहेकाले उनी यहाँ आइपुगेका हुन् । ‘आप्mनो क्षमताले नभ्याउने देखेर, गाउँमै एजुकेशन नै पढ् न त, देशमा राम्रा शिक्षकको पनि अभावै छ भनेको, मान्दै मानेन,’ उनले दुखेसो पोखे, ‘छोराछोरीले नबुझिदिएपछि के लाग्छ र ?’

उनका छोरा दिनेशको चाहना आईटी पढ्ने हो । तर बीबीए पढे समय पनि निकाल्न सक्छु कि भन्ने उनको सोच छ । ‘सानैदेखि पछि गएर आईटी पढ्छु भन्ने थियो, तर यहाँ आएर बुझ्दा त्यसका लागि पूरै टाइम दिनुपर्छ भन्ने थाहा पाएँ,’ उनले भने, ‘बीबीए पढे पनि स्कोप राम्रै देखेर पार्टटाइम काम गर्दै पढ्ने विचार गरेको, बुबा काम गर्न नि नदिने, खर्च धान्न पनि सक्दिनँ भनेर छट्पटिने गरिरहनु भएको छ ।’

विद्यालय तह (कक्षा १२) पार गरेका आजभोलिका विद्यार्थीले आफ्नो रुचि, त्यो विषय पढेर काम पाउने अवस्था तथा त्यसभन्दा अगाडिको आप्mनो ग्रेडका आधारमा विषय छान्ने गरेको प्राइभेट एन्ड बोर्डिङ स्कूल्स अर्गनाइजेशन, नेपाल (प्याब्सन)का सहअध्यक्ष डीके ढुंगाना बताउँछन् । ‘विद्यार्थीहरूलाई कक्षा ९ देखि नै विषय छनोट गर्ने अभ्यास हुन्छ,’ उनी भन्छन्, ‘यसले गर्दा स्नातक भर्नासम्म पुग्दा उनीहरू आफूलाई उपयुक्त हुने विषय छान्न सक्षम हुन्छन् ।’

यो उमेरका विद्यार्थी आफ्नो भविष्यका लागि के उपयुक्त हुन्छ निर्णय गर्न सक्ने हुने हुँदा अभिभावकले पनि बुझिदिनुपर्ने अभिभावक महासंघका संयोजक सुप्रभात भण्डारी बताउँछन् । ‘हामी छोराछोरीको लालन, पालन, शिक्षा बाबुआमाको दायित्व हो भन्ने संस्कारमा हुर्किएकाले उनीहरूले पढ्न चाहेजति आफैले पढाउनुपर्छ भन्ने ठान्छौं,’ उनी भन्छन्, ‘तर एउटा अध्ययनले औसत मानिसको कमाइको ४० प्रतिशत छोराछोरीको शिक्षामा मात्रै खर्च हुने तथ्य बाहिर ल्याएको छ, यस्तो अवस्थामा काम गर्ने उमेर पुगेका सन्तानलाई काम गर्दै पढ नभन्ने हो भने आमाका ढुंग्रीमुन्द्री बेच्ने र बाबुले भोको पेटमा पटुका कसे पनि गाह्रो छ ।’ उनी १६ वर्षभन्दा माथिका छोराछोरीलाई पढ्दै आफूले सक्ने जति कामाऊ भन्नैपर्छ भन्छन् । देशको जनशक्ति र रोजगारीलाई जोड्ने काम गरिरहेका मेरो जब डटकमका संस्थापक, अध्यक्ष एवं प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीको जोड पनि जतिसक्दो चाँडो काम गर्न थाल्नुपर्छ भन्नेमै छ ।

प्रतिक्रिया दिनुहोस्