arthik abhiyan
ad banner

स्नातक विशेष : उच्च शिक्षाको प्रारम्भ

Aug 8, 2019
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar ममता थापा

काठमाडौं । १२ कक्षा उत्तीर्णपछि स्नातक तहमा कम्प्युटर इन्जिनीयरिङ पढ्ने सोच बनाएका गोरखा, पालुङटार–६ का मित्र देवकोटा छात्रवृत्ति कोटामा नपरेपछि बाध्य भएर सामुदायिक क्याम्पसमा भर्ना भए । पाटन बहुमुखी क्याम्पसमा बीएससी इन फिजिक्स चौथो वर्षमा अध्ययनरत उनी हाल आफ्नो खर्च जुटाउन लगनखेलको क्याफेमा काम गर्छन् । पढाइ र कामका लागि ललितपुरमा बस्दै आएका उनी आप्mनो सपना एकातिर, पढाइ अर्कोतिर र अहिले त गुजाराका लागि झन् फरक काम गर्नुपरेको भन्दै पिरोलिए । 

नेपालमा सम्भावना धेरै कुराको भए पनि पहुँच पाउने कमै हुने देवकोटाको बुझाइ छ । रुचिको विषय पढेर गरेर ठूलै सपना साकार गर्ने आफ्नो इच्छा पूरा नभएकोमा उनी दुःखी छन् । ‘१२ मा विज्ञान लिएर पढेँ । त्यसपछि बीएससी इन फिजिक्स विषयमा भर्ना भएँ,’ उनले भने, ‘अहिले पढाइ सकिन लाग्यो, तर यो पढाइपछि नेपालमा शिक्षक हुनुबाहेक अन्य अवसर देखिनँ ।’
 
देवकोटाको जस्तै समस्या भोगेका अर्का पात्र हुन् दीपक शर्मा, जो नेपालमा भेटेरिनरी विषय पढेर उत्तीर्ण भइसक्दा पनि कामविहीन छन् । करीब २ वर्षअघि नेपालमा पढाइ अनुसारकै जागीर र कामअनुसारको मूल्य नपाउँदा उनी विदेशिएका थिए । उनी आफ्नै ठाउँमा पशु विज्ञानसम्बन्धी प्रयोगशालाको निर्माण र अध्ययन गर्न चाहन्थे । तर कमजोर आर्थिक स्थिति र पारिवारिक बाध्यताले उनलाई विदेश पलायन गरायो । विभिन्न विषय पढेर विज्ञता हासिल गरे पनि विदेशिनुको विकल्प नभएको गुनासो उनको छ ।

यसरी नेपालमा अध्ययन र कामबीचको तालमेल नमिल्दा कतिपय विद्यार्थी करीअरमा बाधा पुगेको बताउँछन् । उच्च शिक्षा योग्यता र करीअरकै प्रवेशद्वार हो । तर अवसर नपाउँदा भने धेरैमा निराशा सृजना गरेको छ । परिणामस्वरूप अधिकांश युवा विदेशिने गरेका छन् । विदेशिएकाहरूमध्ये पनि पढाइअनुसारकै काम गर्न पाउने एकदम थोरै हुन्छन् ।

अधिकांश विद्यार्थी १२ कक्षा उत्तीर्णपछि विदेशिनुको मुख्य कारण  धन आर्जन पनि हो । यसलाई हेर्दा उनीहरू करीयर बनाउन नभई आर्थिक सम्पन्नताको सपना पूरा गर्नतिर लागेको देखिन्छ । यद्यपि नेपालमै स्नातकका विविध विषयका छनोट र रोजगारका अवसर नभएका होइनन् । हाल नेपालका कलेजहरूले विद्यार्थीमा सैद्धान्तिक ज्ञानसँगै व्यावसायिक शीप विकास समेत गराउँदै आएका छन् । यस्ता कलेजमा प्रविधि र व्यवसायलाई जोड दिएर पढाइ हुने गरेको छ । व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी लगायत संकायमा आप्mनो मेहनत र लगनका साथ अध्ययन गर्ने हो भने नेपालमै अवसर पाइन्छ ।

अबको विकल्प प्राविधिक र व्यावसायिक कक्षा
अहिलेका युवाहरू व्यावहारिक कक्षा लिन आकर्षित भएका छन् । प्राविधिक र व्यावसायिक धारका शैक्षिक कार्यक्रम प्रभावकारी बन्दै गएका छन् । यस्ता कक्षाले बजार मागअनुसारको जनशक्ति तयार पार्न सघाउ पुग्छ । रोजगारीप्राप्त व्यक्तिले गरीबी घटाउन समेत भूमिका निर्वाह गर्छ ।

अधिकांशको रोजाइ व्यवस्थापन
अन्य संकायको तुलनामा स्नातक तहमा अधिकांशको रोजाइ व्यवस्थापन रहेको देखिन्छ । पढ्न चाहने विद्यार्थीका लागि बीबीए (ब्याचलर इन बिजनेश एड्मिनिस्ट्रेशन) पहिलो रोजाइमा पर्ने गरेको छ । व्यवस्थापनमा पनि हाल विभिन्न पृथक् विषय समावेश गरिएको छ । यसअघि बीबीएस (ब्याचलर इन बिजनेश स्टडिज) अध्यापन गरिरहेका कतिपय कलेजले विद्यार्थी र बजारको मागअनुसार बीबीए कक्षा सञ्चालन गर्न थालिसकेका छन् । स्नातक तहमा मानविकी, शिक्षा, विज्ञान तथा प्रविधि र कानूनभन्दा व्यवस्थापन विषय पढ्नेहरू बढ्न थालेको प्रधानाध्यापकहरू बताउँछन् । 

बजार माग र विद्यार्थीको रुचिअनुसार धेरै कलेजले बीबीएमा विभिन्न विषय राखेका छन् । बैंक, बीमा, फाइनान्स, उद्योग जस्ता व्यावसायिक प्रतिष्ठानमा समेत व्यवस्थापनका विद्यार्थीको माग बढिरहेको बर्नहाड्र्ट कलेजका प्रमुख सहदेव सिग्देल बताउँछन् । ‘मुलुकभर नै व्यवस्थापन संकायअन्तर्गत वर्षेनि १ लाखभन्दा बढी विद्यार्थीले परीक्षा दिने गरेका छन् । यसको संख्या प्रत्येक वर्ष बढेको छ । बर्नहाड्र्टमा समेत अन्य संकायको तुलनामा व्यवस्थापनमा विद्यार्थीको आकर्षण बढी छ,’ उनले भने, ‘अध्ययनपछि विद्यार्थीहरू खाली बस्नु पर्दैन ।’ यस्ता विषयको पढाइपछि बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, औद्योगिक प्रतिष्ठानहरूमा सजिलै रोजगारी पाइने भएकाले पनि विद्यार्थीको संख्या बढेको हुन सक्ने उनले बताए । 

मानविकी, शिक्षा र कानून संकाय
अधिकांशले व्यावहारिक ज्ञान पाइने विषय रोज्ने हुँदा मानविकी संकाय सबैभन्दा पछाडि रहेको देखिन्छ । यद्यपि यो संकायमा विशेषज्ञता हासिल गर्न र रोजगार सजिलै पाउन सकिने विषय भएको शिक्षाविद्हरू बताउँछन् । आम अभिभावक र विद्यार्थीमा कम ग्रेड वा नम्बर ल्याएकाले मात्र मानविकी संकाय पढ्छन् भन्ने धारणा छ । तर यो संकायअन्तर्गत अंग्रेजी, नेपाली, समाजशास्त्र, ग्रामीण विकास, पत्रकारिता, अर्थशास्त्र, विदेश सम्बन्ध, कूटनीतिक शास्त्र, राजनीति शास्त्र, सार्वजनिक प्रशासन, भूगोल, मनोविज्ञानलगायत विषय पढेका जनशक्तिको समेत राम्रो माग हुने गरेको छ । यसरी मानविकीमा विषयगत दक्षता हासिल गर्ने अवसर पनि पर्याप्त छ । अन्य संकाय अध्ययन गरेका विद्यार्थीमा एक क्षेत्रको मात्र ज्ञान हुने, तर मानविकी पढेकाले धेरै विषयमा दक्षता राख्ने त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक प्रेम प्mयाक बताउँछन् । उनका अनुसार यस्ता जनशक्तिले समग्र समाजमा राम्रो प्रभाव पार्न सक्छन् ।

विशेषगरी भोलिको देशको कर्णधार निर्माण गर्ने दायित्व एउटा शिक्षकलाई हुन्छ । यस्तो शिक्षक उत्पादन गर्न शिक्षा संकायले महŒवपूर्ण भूमिका निर्वाह गर्छ । सरकारले शिक्षण पेशाका लागि शिक्षा संकायमा विभिन्न विषय अध्ययन गरेका जनशक्तिको विशेष व्यवस्था गरेको छ । यस कारण पनि शिक्षा संकाय केही विद्यार्थीका लागि उपयुक्त स्थल हो । अन्य संकाय अध्ययन गरेका जनशक्तिका लागि शिक्षण पेशामा आउन बन्देज लगाइएको भने छैन । यसबाट शिक्षण पेशा गरेको अनुभव लगायत प्रमाणपत्र पेश गर्नुपर्ने, निश्चित समय शिक्षा संकाय अध्ययन गर्नुपर्ने बाध्यताका कारण त्यति सजिलो भने छैन । शिक्षाशास्त्र संकाय अध्ययन गर्ने विद्यार्थीलाई शिक्षक हुन अनिवार्य अध्यापन अनुमतिपत्र व्यवस्था गरेकाले अकर्षण र व्यवस्थित छ । पछिल्लो समय शिक्षक सेवा आयोेगले नियमित रूपमा स्थायी शिक्षकको विज्ञापन गर्न थालेकाले शिक्षाशास्त्रप्रति विद्यार्थीको उपस्थित राम्रो छ । अध्ययन गरेर प्रमाणपत्रधारीले जुनसुकै विद्यालय तथा कलेजमा समेत पढाउन पाउने अवसर छ ।

यसैगरी कानून संकायको माग हरेक संघसंस्थामा छ । साथै अदालत क्षेत्रमा यसले महत्त्व राख्छ । यसकारण कानून संकायमा समेत विद्यार्थीको माग बढेको छ ।

प्राविधिक कक्षा : विज्ञान तथा चिकित्साशास्त्र
यो विषय महँगो र गाह्रो हुने भएकाले आकर्षण कम भएको सरोकारवालाहरू बताउँछन् । विज्ञान विषय पढ्न धेरै अप्ठ्यारो र तल्लो तहमै राम्रो गर्नुपर्ने भएकाले थोरै विद्यार्थीले मात्र विज्ञान विषय रोज्ने गरेका छन् । विज्ञान विषय अध्ययन गर्न धेरै आर्थिक लगानी गर्नुपर्ने भएकाले विद्यार्थीको कम आकर्षण देखिएको हो । विज्ञान विषयमा पनि मेडिकल साइन्स, इन्जिनीयरिङ, कम्प्युटर साइन्स र अन्य विषयगत क्षेत्रहरू छन् । मेडिकल साइन्समा पनि नेपालमा आकर्षणको विषय एलोपेथिक मेडिसिन हो । यो चिकित्सा विज्ञानको सबैभन्दा बढी वैज्ञानिक प्रविधि हो, जसमा विभिन्न उपकरणको सहयोगले बिरामीको परीक्षण गरेर उपचार गरिन्छ । मुलुकमा डाक्टर बन्न राष्ट्रियस्तरमा हुने प्रवेश परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण गरेर छात्रवृत्तिमा पढ्न नाम निकाल्नुपर्छ । १२ कक्षा सकाएपछि फिजिक्स, केमेस्ट्री र बायोलोजीको १ सय पूर्णांकको प्रवेश परीक्षा हुन्छ । यस्तै, एमबीबीएस अर्थात् ‘ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी’,  डाक्टर अफ मेडिसिन (एमडी), मास्टर अफ सर्जरी (एमएस)को अध्ययन गर्न सकिन्छ । स्नातकोत्तर गर्न ३ वर्ष लाग्छ । यसपछि समेत सुपर स्पेसियालिटीको कोर्स डाक्टरेट अफ मेडिसिन (डीएम), मास्टर अफ चिरियोलजी (एमसीएच) गर्न ३ वर्ष लाग्छ ।

पूर्वाधार विकास हुँदै गर्दा इन्जिनीयरिङमा आकर्षण
नेपालमा स्थायी सरकार बनेपछि पूर्वाधार विकासमा सरकारले समेत जोड दिइरहेको छ । पछिल्लो समय भूकम्पपछिको पुनःसंरचनाका साथै जलविद्युत्, सडक निर्माण तथा विस्तार, पुल, सिँचाइ, टनेल निर्माणलगायत क्षेत्रमा इञ्जिनीयरिङ पढेका विद्यार्थीको माग बढेको छ । मागसँगै यो विषयको अध्ययनमा विद्यार्थीको आकर्षण समेत बढेको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनीयरिङ अध्ययन संस्थान (आईओई)ले यो तहका लागि केही वर्षदेखि दशौं हजार विद्यार्थी प्रवेश परीक्षा दिन आएको बताएको छ ।

नेपालमा त्रिभुवन, काठमाडौं, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसमा इन्जिनीयरिङ विषय पढाइरहेका छन् । यी विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी कलेजमा पनि यो विषयको पढाइ हुन्छ । नेपालमा सिभिल, मेकानिकल, बायो टेक्नोलोजी, बायो मेडिकल, सभिल, आर्किटेक्चर, कम्प्युटर साइन्स, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, जियोमेट्रिक र इन्डस्ट्रियल इन्जिनीयरिङको पढाइ हुने गरेको छ ।

उच्च शिक्षाका लागि ९ विश्वविद्यालय
उच्च शिक्षाका लागि नेपालमा ९ विश्वविद्यालय छन् । यीमध्ये त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, मध्यमश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय छन् । यी संस्थाले बीए, बीबीएस, बीबीए, बीएससी, बीएएसडब्ल्यू, सीए (आईक्यान), एमबीबीएस, एमबीए, एमए, एमएसी लगायत शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

कलेज छनोटका मुख्य आधार

  • शिक्षक (फ्याकल्टिज)को अवस्था 
  • भौतिक पूर्वाधार 
  • मनौवैज्ञानिक परामर्श 
  • करीअर परामर्श 
  • उत्प्रेरणा दिने कक्षा 
  • शैक्षिक संस्थाको अघिल्लो वर्षको नतीजा 
  • बसाइ र विद्यालयको दूरी 
  • अध्ययनको स्वतन्त्रता
  • कलेजको नेतृत्व 
  • अतिरिक्त क्रियाकलाप र विषय
     
प्रतिक्रिया दिनुहोस्