arthik abhiyan
ad banner

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना :  बल्ल बाँध स्थलको चट्टान परीक्षण  

Aug 8, 2019
प्रदेश ०७
Image Not Found
फाइल फोटो

साउन २३,  कञ्चनपुर । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल पहिचान भएको लामो समयपछि चट्टान परीक्षणको कार्य भइरहेको छ । नेपाल–भारतका प्राविधिक टोलीले संयुक्तरुपमा बाँधस्थल र पावरहाउस रहने स्थानमा चट्टान परीक्षणको कार्य गर्न लागेका हुन् ।     

‘डडेल्धुराको रुपाली गाडमा चट्टानको अवस्था परीक्षण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ’, आयोजनाका सहनिर्देशक चिरञ्जीवी चटौतले भने, ‘पञ्चेश्वर क्षेत्रमा कार्य शुरु गरिएको छ ।’ चट्टान बलियो छ वा कमजोर छ भनेर टनेल बनाएर नै परीक्षणको कार्य भइरहेको उनले बताए । आयोजनाको संयुक्त विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को खाका छलफलकै क्रममा छ, उनले भने ।  

‘डिपिआर फाइनल गर्नका लागि दुवै देशको संयुक्त कमिटी बनेको छ, चट्टानलगायतका अन्य कुराबारे परीक्षण गरी कमिटीमा रिर्पोट दिन्छौं, त्यसपछि अन्य कार्य अगाडि बढ्छन’, उनले भने । अहिलेसम्म आयोजनाको उल्लेखनीय कार्य भने केही हुन नसकेको सहनिर्देशक चटौतको भनाइ छ । संयुक्त विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने जिम्मा भारतको ‘वाटकोस’ लिमिटेडले पाएको छ ।  

  नेपाल सरकार तथा भारत सरकारबीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजना सम्बन्धमा विसं २०५२ माघ २९ गते सन्धि सम्पन्न भएपछि यो आयोजना द्वि–राष्ट्रिय लगानीमा संयुक्तरुपमा सञ्चालन गर्ने निर्णय भएको थियो ।     
     
 विसं २०६६ मंसिर ९ गते नेपाल सरकारका जलस्रोत सचिव र भारत सरकारका जलस्रोत सचिवको संयुक्त समितिको बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमति भएको थियो ।

द्विपक्षीयरुपमा आयोजनालाई गति दिनका लागि विसं २०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा पछि परियोजना अघि बढाउने सहमतिअनुसार पञ्चेश्वर विकास प्राधिकरणको पहिलो बैठकले विधान पारित गरी परियोजनाको संयुक्त विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने जिम्मा भारतीय कम्पनीलाई दिने सहमति भएको थियो ।     
     
पञ्चेश्वर र रुपाली गाडको गरी ६ हजार ७२० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ । परियोजना सम्पन्न गर्नका लागि ३ खर्ब ३६ अर्ब ९७५ अमेरिकी डलर लाग्ने अनुमान छ ।  यो आयोजना ७० मेगावाट क्षमताको मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजनाभन्दा १० गुणा, ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाभन्दा छ गुणा सस्तो छ ।

त्यसैगरी आयोजनाले विस्थापित गर्ने प्रतिमेगावाट जनसंख्याको हिसाबले पश्चिम सेती जलविद्युत् आयोजनाभन्दा २५०५ ले कम, डुबानको हिसाबले २२०५ ले कम र उत्पादनको हिसाबले ४५०५ ले बढी हुन्छ ।  त्यसैगरी, आर्थिक सूचांकको हिसाबले आइआरआर २५ दशमलव ४, लाभ लागत अनुपात २ दशमलव ५२ र उत्पादन लागत २ दशमलव ५५ प्रतिकिलोवाट घण्टा नै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको अर्काे सवल पक्षको रुपमा रहेको छ ।

जलाशययुक्त आयोजनाका रुपमा रहेको पञ्चेश्वरले महाकाली नदीमा बाढीको रुपमा आउने पानीलाई जम्मा गरी सुख्खायाममा सिँचाइको रुपमा प्रयोग गरेर कैलाली र कञ्चनपुरमा खाद्यान्न उत्पादन वृद्धि, माछापालनलगायका कार्यमा सहयोग गर्ने छ ।  रासस
 

प्रतिक्रिया दिनुहोस्