arthik abhiyan
ad banner

राष्ट्र बैंकको नयाँ क्रान्ति

Aug 9, 2019 
तीतो मीठो
Image Not Found
author avatar मदन लम्साल

संसारमा क्रान्ति तलबाट मात्र हुन्छ भन्थे । तर हिजोआज माथि–माथिबाटै हुन थालेको छ । यसै साता मोदीले जम्मू काश्मिरलाई दिइएको विशेष अधिकार भारतको केन्द्र सरकारले अचानक फिर्ता लिएको घोषणा गरेर क्रान्ति गरे । यता, नेपालमा बैंकहरूको बाउ बैंक अर्थात् नेराबैले पनि बैंकिङ क्षेत्रमा नयाँ निर्देशिका मार्फत माथिबाटै क्रान्ति गर्र्दिएर ठूलै उथलपुथल ल्याएको छ । त्यसो त नेराबैले बेलाबेलामा यस्ता थुप्रै क्रान्ति गर्दै आएको छ, कहिले व्यवसायी र बैंकर एउटै व्यक्ति वा एकै घरानाबाट हुन नपाउने भनेर, कहिले कार्यकारी अध्यक्षको अधिकार कटौती गरिदिएर त कहिले सार्वजनिक कार्यक्रमहरूमा कम्प्लाएन्स पालना गरेनन् भन्दै बैंकर्सहरूलाई वचनवाणले घायल बनाइदिएर ।

दोस्रो क्रान्ति नेराबैले स्प्रेडदर गणना विधिमा परिमार्जन गर्दिएर गरेको छ । यसले नाफा घट्ने भो भनेर बैंकहरू त्राहिमाम् भाछन् । तर ‘कसाहीका अघि खसीको आँसुको के मूल्य ?’ भन्छन् विज्ञहरू ।

अहिले भने नेराबैले पहिलो क्रान्ति बैंकका सीईओ र डाइरेक्टरहरूको उमेरमा हदबन्दी तोकेर गरेको छ । उसले सीईओको ६५ र डाइरेक्टरको ६९ वर्ष उमेरहद तोकेको छ, सरकारले जग्गामा हदबन्दी तोकेजस्तै । यसकै कारण एक दुईजनाले तुरुन्तै पदत्याग गर्नुपर्‍यो । हुन पनि बैंकलाई निर्देशन दिनेले आफू चैं ५८ वर्षमै जागीर छाड्नुपर्ने, बैंकका ठूलाठालु चैं आजीवन कुर्सीमा टाँसिएर मस्ती गर्न पाउने ? यो त भएन नि भनेर नेराबैले यस्तो नीति ल्याएको हुनुपर्छ । क्रान्ति भनेको यस्तै केही नगरी हुँदा पनि त हुँदैन नि !

दोस्रो क्रान्ति नेराबैले स्प्रेडदर गणना विधिमा परिमार्जन गर्दिएर गरेको छ । यसले नाफा घट्ने भो भनेर बैंकहरू त्राहिमाम् भाछन् । तर ‘कसाहीका अघि खसीको आँसुको के मूल्य ?’ भन्छन् विज्ञहरू ।

त्यस्तै नेराबैले बैंकहरूलाई अब बीमाको एजेन्ट बन्न नि नपाउने, चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नैपर्ने, यै आर्थिक वर्षदेखि ‘काउन्टर साइक्लिकल बफर’ आदि के के होमा पनि पैसा थप छुट्ट्याउनैपर्ने भनेर नयाँ नयाँ क्रान्ति गरेको गर्‍यै छ ।

विचरा बैंकर्सहरू यो सबै किन भनेर प्रश्न गरिरहेका छन् । बैंकर्सहरूले खै कुरा बुझ्या ? यो सबै गरेको चैं घुमाइफिराइ ‘मर्ज गर’ भन्नलाई नै हो क्या !

त्यसो भए सीधै किन नभन्या त भन्नुहोला  । ए बाबा ! नेराबैले सीधै कहाँ हस्तक्षेत्र गर्छ त ? राजकाज चलाउने नै यसैगरी हो । कहिल्यै पनि कान समाउने सीधा होइन, घुमाएरै हो । विगतमा प्रचण्डले हत्या गर्दै हिँड्छु कहाँ भन्या थिए त ? उनले पनि सर्वहाराको मुक्ति, गरीबको उत्थान गर्ने नै भनेका थिए नि ! हो, त्यसैगरी नेराबैले पनि भन्ने भनेको बैंकहरूको गुणस्तरमा सुधार गरेर ग्राहक याने नेपाली जनतालाई सुविधासम्पन्न बनाउँदै कम्युनिस्ट सरकारले भनेको ‘समृद्धिको लक्ष्य’लाई भेट्नु नै हो ।

तर बैंकर्सहरूले कुरै बुझिरा छैनन् । उल्टै नेराबैमा लगेर साँचो बुझाउने पो भनिरहेका छन् रे ! अब एउटा राबैले २७–२८ ओटा बाबै (वाणिज्य बैंक)हरूको साँचो लिएर गर्ने के ? अनि त्यतिले गभर्नरसाप थर्किएलान् जस्तो पनि छैन । उनले पनि बुझेकै छन्, बैंकर्सहरूले गर्न सक्ने हदैसम्मको क्रान्ति भनेको घुर्की देखाउनेसम्म मात्रैै हो । किनकि जागीरको सवाल जो छ ।

यता, व्यापारीहरूले ब्याजदर घटाइमाग्न ठूलो क्रान्ति गर्‍याथे । त्यसैले ब्याजदर चैं घट्ने भो रे ! तर ऋण भने नपाउने भए । किनकि ऋण दिनलाई बैंकसँग लगानीयोग्य तरलता पनि त हुनुपर्‍यो । नेराबैैको स्प्रेडदरको सूत्र परिवर्तनले गर्दा बैंकमा पैसा धेरै जम्मा भए पनि त्यसबाट ऋण दिन चाहिँ नपाउने भो रे !

क्रान्ति गरेसि त्यसको प्रभाव त पर्छ नै । यसरी राबैको नयाँ क्रान्तिका प्रभाव र प्रतापले व्यवसायीले ऋण नपाउने, बैंकले नाफा कम पाउने, अनि समग्रमा शेयर बजार चैं घट्ने भो जस्तो छ । तर अरू जे जे हुने भैरहन्छ, आत्तिनु पर्दैन है ! किनकि यो वर्ष देशको आर्थिक वृद्धिदर ८ प्रतिशत हुने पक्कापक्की भाछ । यो कुरा दुई डाक्टरसाप अर्थात् डा. अर्थमन्त्री र डा. गभर्नरसापले एकैस्वरमा घोषणा गरिसकेकै छन् । बाँकी अरू डा. सापहरूले जेसुकै भनिरहून् न, के नै फरक पर्छ र ? अनि, देशमा आर्थिक वृद्धिदर बढे त भैगो नि । अरू कुरा कसलाई किन चाहियो र ?

प्रतिक्रिया दिनुहोस्