arthik abhiyan
ad banner

पूँजीबजारको लगानीले आर्थिक रूपमा सुरक्षित बनाएको छ

Aug 11, 2019
अन्तरवार्ता
Image Not Found
कञ्चनकृष्ण न्यौपाने,शेयर लगानीकर्ता एवं अधिवक्ता

कञ्चनकृष्ण न्यौपाने पूँजीबजारका लगानीकर्ता हुन् । शेयर बजारसँगै उनले अधिवक्ता पेशालाई पनि निरन्तरता दिँदै आएका छन् । २०५० सालमा उनी यो क्षेत्रमा प्रवेश गरेका थिए । त्यति बेला आफ्नो पिताले दिएको १० हजार रुपैयाँले उनले हिमालयन बैंकको आईपीओ खरीद गरेका थिए । शेयर बजारमा गरेको लगानीको आम्दानीबाट अहिले आफूले सहज जीवनयापन गरिरहेको उनी बताउँछन् । यो क्षेत्रमा २६ वर्षको अनुभवबारे आर्थिक अभियानकी प्रजिता बुढाथोकीले उनीसँग गरेको कुराकानीको सार :

पूँजीबजारमा कहिलेदेखि लगानी गर्दै आउनुभएको छ ?
म यो क्षेत्रमा विद्यार्थी बेलादेखि लगानी गर्दै आएको छु । २०५० सालमा कलेज सकेर के गर्ने भनेर बसिरहेको थिएँ । त्यति नै बेला पूँजीबजारको बारेमा जानकारी पाएँ । त्यो समयमा बजारको अवस्था एकदम राम्रो थियो । अन्य क्षेत्रमा लगानी गरेर फाइदा हुँदैन भन्ने लागेर पूँजीबजारमा निरन्तर लगानी गर्दै आएको छु ।

त्यतिबेला लगानीको स्रोत कहाँबाट जुटाउनुभयो ?
शुरूमा पिताजीसँग रू. १० हजार लिएर हिमालयन बैंकको आईपीओमा लगानी गरेको हुँ । त्यसमध्ये पनि रू. २ हजार ५ सयको मात्र आईपीओ परेको थियो । मैले २०५२ मा एउटा ‘कम्युनिकेशन सेन्टर’ खोलेर आफ्नै व्यवसाय शुरू गरेको थिएँ । त्यहाँबाट आम्दानी हुन थालेपछि बजारमा खुलेका सबैजसो आईपीओमा लगानी गर्न थालेँ । २०५० सालमा हिमालयन बैंकमा गरेको लगानी २०५३ सालमा कति भएछ भनेर बुझ्दा रू. २ लाखजतिको भएछ । त्यतिबेला प्राप्त गरेको पूँजीगत लाभले योबाहेक अन्य क्षेत्रमा मेरो मन नै गएन ।

त्यो बेला पूँजीबजारमा युवाहरूको सहभागिता कत्तिको हुन्थ्यो ?
म प्रवेश गर्दाको समयमा यस क्षेत्रमा युवाको सहभागिता निकै कम थियो । म सम्झन्छु, धेरैजसो बैंक तथा वित्तीय संस्थाबाट अवकाश प्राप्त कर्मचारी हुनुहुन्थ्यो । त्यसैले त्यति बेलाको शेयर बजारमा युवाहरू भन्दा पनि अलि परिपक्व उमेरका मानिस बढी हुन्थे ।

पूँजीबजारमा आउनुअघि यो क्षेत्रलाई कसरी बुझ्नुभएको थियो र अहिले कस्तो पाउनुभयो ?
त्यो समयमा बजार बढिरहेको भएर पनि होला, धेरै मानिसमा शेयरमा लगानी गर्नुपर्छ, यसमा नाफा हुन्छ भन्ने सोच थियो । आपूm पनि प्रवेश गरेको थोरै समयमै राम्रो प्रतिफल पाएकाले अन्य क्षेत्रभन्दा राम्रो प्रतिफल यही क्षेत्रमा हुने रहेछ भन्ने बुझेको थिएँ । अहिले लामो समय यो क्षेत्रको अनुभव बटुलिसकेको छु । लगानीका सबै क्षेत्रमा चुनौती छ । तर शेयरबजारमा चुनौतीसँगै अवसरको सम्भावना उच्च छ भन्ने मलाई लाग्छ ।

अधिवक्ताको रूपमा पनि कार्यरत हुनुहुन्छ । पछिल्लो समय पू“जीबजारमा भएको उतारचढावप्रति कत्तिको जानकार हुनुहुन्छ ?
म अधिवक्ता पेशामा भए पनि शेयरबजारमा लगानीलाई पनि निरन्तरता दिँदै आएको छु । आप्mनो सम्पत्तिको चासो सबैलाई हुन्छ, मलाई पनि छ । यसर्थ हरेक दिन बजारको बारेमा जानकारी राख्ने गर्छु । नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का जिम्मेवार पदाधिकारीले केही बोलिदिनु भयो भने अहिलेको हाम्रो बजार तत्कालै प्रभावित हुने अवस्था छ । पछिल्लो समय लाभकर गणना तथा नेपाल राष्ट्र बैंकको निर्देशनमा भएको स्प्रेड गणना विधि परिवर्तनका कारण बजारमा उतारचढाव भएको जस्तो मलाई लाग्छ । लाभकरको विषयमा सम्बद्ध पक्षहरूले साउन १ गतेदेखि लागू हुने प्रक्रिया के आधारमा गर्ने भन्ने पहिले नै टुंग्याएर त्यसलाई लिखित रूपमा अगाडि ल्याउनुपथ्र्यो ।

पूँजीगत लाभकर गणना प्रक्रियामा अन्योलको अवस्था कसको कमजोरीले आएको ठान्नुहुन्छ ?
यस विषयमा लगानीकर्ता संघका प्रतिनिधिहरूसँग पनि मेरो छलफल भएको थियो । जिम्मेवार त सबै आ–आफ्नो ठाउँमा हुनुहुन्छ । एउटा कुरा, यसमा समन्वयको अभाव देख्छु । त्योबाहेक बजारसम्बन्धी जो नीतिनिर्माता क्षेत्रका कर्मचारी हुुनुहुन्छ, उहाँहरूमा बुझाइको अलिकति कमी हो । किनभने म कानूनको विद्यार्थी हँु । आयकर २०५८ को व्यवस्थाअनुसार करको निर्णय सरकारी बजेटबाट गरिन्छ वा कर अधिकृतहरूले गर्न सक्छन् । साथै मन्त्रिपरिषद्को निर्णयबाट पनि गर्न सकिन्छ । लाभकर गणनाको विधिले पनि करमा प्रभाव पार्छ । त्यसैले अर्थ मन्त्रालयले नै धितोपत्र बोर्डलाई यो समस्या समाधानका लागि निर्देशन दिएकाले बोर्डले नै आधिकारिक निर्णय गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

कुनै लगानीकर्ता संघहरूमा तपाईंको प्रतिनिधित्व छ ? हाल संगठित पा“च लगानीकर्ता संघहरूले गरेको पहललाई कसरी हेर्नुहुन्छ ?
म हालसम्म कुनै संघमा आबद्ध भएको छैन । संघका पदाधिकारी साथीहरूले संघमा आबद्ध हुनुपर्छ भनेर आग्रह गरिरहनुभएको छ । संघमा प्रतिनिधित्व नभए पनि संघका साथीहरूसँगको समन्वयमै छु । अहिले जति पनि लगानीकर्ता संघहरू छन्, उनीहरूले आ–आफ्नो ठाउँबाट टेवा पुर्‍याउने काम गरिरहेका छन् । अहिलेको समयमा एक्लै भन्दा सामूहिक रूपमा उठाएको आवाजले काम गर्छ । बरु पाँच संगठन एक भएर गए अझ बलियो हुने मेरो विश्वास छ । लगानीकर्ता संघहरूले नियामक निकायलाई नीति निर्माण र कार्यान्वयनका लागि दबाब दिनुका साथै आम लगानीकर्तालाई हौसला दिने काम गरिरहेका छन् ।

अदालती प्रक्रियामा पूँजीबजारका मुद्दाहरू आएको पाउनुभएको छ ?
मैले जानकारी पाएसम्म अन्य क्षेत्रको तुलनामा पूँजीबजारका मुद्दाहरू कम आएका छन् । एकजना संस्थापक, जो विदेशमा भएका बेला हकप्रद शेयर भर्न नपाएको अवस्थामा उहाँले पुनरावेदन अदालतमा दिएको उजुरीको आधारमा हक दिलाएका थियौं । कम्पनी ऐनमा आधारभूत शेयरधनीलाई हकप्रद शेयरको जानकारी लिखित सूचनामार्फत गराउनुपर्ने व्यवस्थाअनुसार नदिएका कारण उहाँले पछि भर्न पाउनुभएको थियो ।

तपाईंले पूँजीबजारमा लगानी गरेर पाएको महत्त्वपूर्ण उपलब्धि के हो जस्तो लाग्छ ?
पूँजीबजारमा लगानी गरेर पाएको उपलब्धि अहिले म आफ्नो व्यवसायमा आर्थिक रूपमा मजबूत भएर लाग्न पाएको छु । मैले आफ्ना साथीभाइहरूलाई पनि भन्ने गरेको छु । म सही समयमा पूँजीबजारमा प्रवेश गरेछु । पूँजीबजारको लगानीले म आर्थिक रूपमा सुरक्षित छु ।

पूँजीबजारको कागजी युगदेखि प्रविधियुगसम्मको अनुभव गरिसक्नुभएको छ । अहिलेको अवस्थामा पूँजीबजार सुधारका लागि थप के आवश्यक देख्नुहुन्छ ?
पछिल्लो समय अल्पकालीन लगानीकर्ताका कारण बजारमा उतारचढाव देखिएको हो । प्रत्येक लगानीकर्ता नाफा लिनकै लागि प्रवेश गरेका हुन्छन् । सबैले नाफा गर्ने अवस्था पनि हुँदैन । दीर्घकालीन प्रतिफलको आशा गर्ने लगानीकर्ता यो क्षेत्रबाट सुरक्षित हुन्छन् भन्ने मेरो अनुभव छ । पहिलाको तुलनामा पूँजीबजारमा धेरै सुधार भएको मैले पाएको छु । मानिसलाई सुविधा जति भयो, थप त्यति चाहिन्छ । अझ पनि सबै लगानीकर्ताले घरमै बसेर अनलाइन कारोबार गर्न सकेका छैनन् । नीति निर्माताहरूले पनि पूँजीबजारका बारेमा राम्रो धारणा बनाएको अवस्था छैन । कारोबारका लागि बैंक तथा वित्तीय क्षेत्रका कम्पनीबाहेक अन्यको उपस्थिति कम छ । उत्पादनमूलक क्षेत्रका कम्पनी प्रवेश भएको छैन । बजार निर्मातालाई भिœयाउने आधार बनेको छैन । यी कुरामा सुधार भए बजारलाई केही टेवा मिल्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्