arthik abhiyan
ad banner

विषादी मापन मेशिन विराटनगरमा जडान गरिएपछि धरानमा अन्यौल

Aug 11, 2019 
प्रदेश ०१
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

साउन २६, धरान । कृषिजन्य वस्तुको विषादी मापन गर्न धरानस्थित कृषि उपज बजार स्थलमा विषादी मापन केन्द्रको भवन निर्माण गरिए पनि मेशिन उपलब्ध नहुँदा अन्यौल बढेको छ । 

स्थलबाट निर्यात हुने कृषिजन्य उत्पादनको विषादी मापन गरेर मात्रै बजारमा पठाउने अभियान अन्तर्गत प्रदेश सरकारले विषादी मापन गर्ने मेशिन उपलब्ध गराउने लागिएको बताएको थियो तर अहिले सम्म उपलब्ध हुन नसकेको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । 

प्रदेश सरकारले आर्थिक वर्ष २०७४/ ७५ को बजेटबाट दुई ओटा मेशिन उपलब्ध गराउने बताएको थियो । सोही अनुसार कृषि मन्त्रालयको रू.१० लाख र बजार व्यवस्थापन समितिको रू.१५ लाखमा विषादी मापन केन्द्रको भवन निर्माण गरिएको थियो । विषादी मापन केन्द्रबाट असारको पहिलो साता देखिनै मापन शुरु हुने बताए पनि मेशिन उपलब्ध नहुँदा विषादी रहित कृषिजन्य वस्तु निर्यात गर्ने योजना अल्यौलमा रहेको उनले बताए । 

उनका अनुसार धरानका लागि खरीद गरिएको विषादी मापन मेशिन विराटनगरमा जडान गरिएपछि धरानमा अन्यौल भएको छ । कृषि मन्त्रालयका सचिव हस्त बहादुर विष्टलाई उदृत गर्दै भट्टराईले भने, ‘भन्सार क्षेत्रमा विषादी मापन राख्नुपर्ने दबाब बढ्दै गएपछि धरानका लागि खरीद गरिएको मेशिन विराटनगरमा राखिएको छ, धरानमा दशैं अघि सम्ममा नयाँ मेशिन जडानको प्रक्रिया अघि बढिसकेको छ ।’

एक सदस्य भन्छन्, ‘निरन्तर पहल गरे पनि विराटनगरमै राखियो, धरान आउनेमा अझै पनि विश्वास छैन ।’नवनिर्मित भवनमा सहज कारोबारका लागि बैकिङ सेवा विस्तार  गर्ने योजना छ । कृषि बिकास बैंकको शाखा विस्तार गर्ने तयारी गरिएको उनको भनाइ छ । निर्माणाधिन चार कोठे भवनमा दुई ओटामा ल्याव र अर्को दुई ओटामा भने बैकिङ सेवा राख्ने योजना छ । 

बजार व्यवस्थापन समितिले विषादी मापन गर्न थालेपछि विषादी भेटिएको पहिलो वर्ष किसानलाई सचेत गराउने र प्रयोग नगर्न सुझाउने कार्यक्रम बनाएको छ भने दोश्रो वर्ष देखि भने प्रशासन र स्थानीय सरकारसँगको समन्वय र सहयोगबाट त्यस्ता वस्तुलाई नियम कानुन वमोजिम हुने व्यवस्था गरेको छ । 

धरानमा रहेको कृषि उपज वजार केन्द्र पुर्वी पहाडी जिल्लामा उत्पादन भएको कृषिजन्य वस्तुहरु संकलन भई देश विदेश सम्म जाने गरेको छ । केन्द्रले वार्षिक रू.५ अर्ब भन्दा वढी कृषिजन्य वस्तुको कारोबार गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्