arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

खाद्य संस्थानकै कारण खाद्यान्न संकट

Aug 12, 2019  
१० वर्ष अघि
NA

देशका विभिन्न जिल्लामा मच्चिएको खाद्य संकटको पछाडिको कारण खाद्य संस्थान र आपूर्ति मन्त्रालयका केही अधिकारीहरूको असक्षमता र गलत नियत भएको पुष्टि भएको छ  । खाद्य संस्थानका गोदामहरू भरिभराउ भएर पनि प्रभावित क्षेत्रमा खाद्यान्न नपठाएको र पठाए पनि थोरै मात्र पठाएको पाइएको छ । 

पछिल्लोपटक खाद्यान्नको अभावको समस्या चर्केको अछाममा १८ सय क्विन्टल खाद्यान्नको माग रहेकोमा संस्थानले दुई दिनअघि धनगढीबाट केवल चार सय क्विन्टल चामल मात्र पठाएको छ जबकि संस्थानको धनगढी शाखा कार्यालयमा महिनौं अगाडिदेखि ८ हजार क्विन्टल चामल त्यसै थन्किएर बसेको छ । 

खाद्यान्न पठाउन नसक्नुमा संस्थानका अधिकारीले सेती महाकाली क्षेत्रमा व्यवसायीले चलाइरहेका सिन्डिकेटविरुद्ध अरु व्यवसायीहरूले गरेका आन्दोलनलाई कारणको रूपमा देखाएका छन् । जबकि त्यो आन्दोलन सुरु भएको करिब एक महिनामात्र भएको छ । त्योभन्दा अगाडिदेखि नै अछामका कमलबजार, विनायकलगायतका क्षेत्रहरूमा खाद्य संकटको अवस्था देखापरिसकेको थियो । त्यसबारे स्थानीय बासिन्दा, राजनीतिक पार्टी र सामाजिक कार्यकर्ताले संस्थानका अधिकारीहरूलाई बारम्बार लिखित र मौखिक रूपमा जानकारी गराएका थिए । तर पनि संस्थानले समयमा खाद्यान्न नपठाई अभाव चर्कने अवस्था सिर्जना गर्नु र त्यसको पछाडि सिन्डिकेटविरुद्धको आन्दोलनले गर्दा ढुवानी गर्न सकिएन भनेर तर्क दिनुलाई संस्थानकै अधिकारीले समेत सहज रूपमा लिन सकेका छैनन् । ‘खाद्यान्न अभाव सिर्जना हुनु नै आफ्ना लागि दसैं आएको ठान्ने प्रवृत्ति संस्थान र उद्योग मन्त्रालयका केही अधिकारीमा रहेकाले यस्तो स्थिति उत्पन्न भएको हो’ नाम उल्लेख गर्न नचाहने आपूर्ति मन्त्रालयका एक अधिकारी भन्छन् । 

वर्ष ३, अंक ४९ २०६५, साउन २७–भदौ १

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्