arthik abhiyan
ad banner

‘व्यापार युद्धका कारण चिनियाँ मुद्रा अस्थिर’

Aug 12, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

साङहाई (चीन) । चीनको केन्द्रीय बैंकले चिनियाँ मुद्रा युआनको भाउमा देखिएको अस्थिरता सामान्य रहेको बताएको छ । पिपुल्स बैंक अफ चाइना (पीबीसी) को अन्तरराष्ट्रिय विभागका महानिर्देशक चु चुनले अगस्टको शुरूयता अमेरिकासँगको व्यापार युद्ध चर्किंदो अवस्थामा रहेकाले युआनको भाउ घटेको उल्लेख गरिन् । उनले शनिवार चीनको उत्तरी प्रान्त हेइलोङचियाङमा आयोजित एक कार्यक्रममा बोल्दै व्यापार युद्धबारे देखिएको आशंकाका कारण युआनको भाउ अस्थिर बनेको बताएकी हुन् । 

गत सोमवार अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई औपचारिक रूपमा मुद्रा हेराफेरी गरेको आरोप लगाएको थियो । चिनियाँ मुद्रा युआनको भाउ ११ वर्षयताकै कमजोर विन्दुमा पुगेसँगै अमेरिकाले चीनलाई यस्तो आरोप लगाएको हो । यससँगै दुई मुलुकबीच मुद्रा युद्ध शुरू हुन सक्ने अनुमान गरिएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप ३ खर्ब डलरका सामग्रीमाथि १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यस किसिमको कदमको असर चीनको मुद्रामा परेको चुनको भनाइ छ । उनले चीनको अर्थतन्त्र जस्तो पनि समस्या समाधानका लागि तयार र सक्षम रहेको बताइन् । 

विगत १ वर्षदेखि चीन र अमेरिकाबीच जारी व्यापार युद्धका क्रममा दुवै मुलुकले एकअर्काको प्रविधिलगायत सामग्रीमाथि उल्लेख्य आयातकर बढाएका छन् । यससँगै यी दुई मुलुकको व्यावसायिक मनोबल र विश्वको आर्थिक वृद्धिदर पनि कमजोर बनेको छ । गत साता चिनियाँ मुद्रा अमेरिकी डलरको तुलनामा १ दशलमव ६ प्रतिशत घटेको थियो । एजेन्सी

चीनमा बढ्यो खाद्यान्नको भाउ
पेचिङ (चीन) । अमेरिकासँग जारी व्यापार युद्धका कारण चीनमा अमेरिकी सामग्रीको भाउ उल्लेख्य मात्रामा बढेको छ । शुक्रवार चीनले सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाईमा खाद्यान्नको भाउ अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलव १ प्रतिशत बढेको छ । सो अवधिमा चीनमा पोर्क (सुँगुरको मासु) को भाउ २७ प्रतिशत बढेको थियो । अफ्रिकी स्वाइन फ्लू देखिएसँगै पोर्कको भाउमा उल्लेख्य वृद्धि भएको हो । साथै, फलफूलको भाउ पनि ३९ दशलमव १ प्रतिशत बढेको थियो । 

चीनले अमेरिकाबाट आउने कृषि उपजको आयात रोक्ने निर्णय गरेको केही समयमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । अर्थविद्हरूले चीनको यो निर्णयले आगामी दिनमा मुलुकको मुद्रास्फीति दर छोटो समयका लागि चुलिने र यसलाई नियन्त्रणमा राख्नु चीनका लागि एक चुनौती हुने बताएका छन् । अर्थविद्हरूले अमेरिकी कृषि उत्पादनमा रोक लगाउनुले चीनको अवस्था झनै खराब हुन सक्ने बताएका छन् । 

सन् २०१८ मा चीनले अमेरिकाबाट ९ अर्ब ३० करोड डलरका कृषि सामग्री खरीद गरेको थियो । तर, अमेरिकी कृषि उत्पादनको आयातमा रोक लागेसँगै चीनमा कृषि उत्पादनको भाउ बढेको छ । तत्कालको माग पूरा गर्न तेस्रो मुलुकबाट आयात गर्दा चीनलाई आयात खर्च महँगो परेको हो । चीनले अमेरिकासँगको व्यापार युद्धपछि यूरोपेली संघ (ईयू) बाट आयात बढाउने तयारी गरिरहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्