arthik abhiyan
ad banner

दैलेखको प्रस्तावित चुप्रा औद्योगिक क्षेत्र : घोषणा नहुँदा अघि बढेन काम

Aug 12, 2019
प्रदेश समाचार प्रदेश ०६
Image Not Found
प्रदेश स्तरीय औद्योगिक क्षेत्रका लागि प्रस्तावित दैलेखको चुप्रा । तस्वीर : आर्थिक अभियान

पंखबहादुर शाही 

दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिका–१, चुप्रामा औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव केन्द्रको मन्त्रिपरिषद्मा अड्किँदा काम अघि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वर्ष नै दैलेखसहित देशका अन्य स्थानमा ५ ओटा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पास नगर्दा औद्योगिक क्षेत्र स्थापनामा अन्योल देखिएको हो । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, काठमाडौंले प्रादेशिक स्तरको प्रस्तावित औद्योगिक क्षेत्रको सूचीमा चुप्रालाई पनि समावेश गरेको छ । उक्त कार्यालयका अनुसार यहाँको औद्योगिक क्षेत्र २ सय बिघा क्षेत्रफलमा स्थापना हुनेछ । कार्यालयले जग्गा पहिचान गरी पूर्व सम्भाव्यता अध्ययन कार्य समेत सम्पन्न गरिसकेको छ । गत आर्थिक वर्ष २०७५/७६ सम्म प्रस्तावित औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन र वातावरण प्रभाव मूल्यांकन तयार पार्ने लक्ष्य राखिए पनि प्रस्ताव पारित नहुँदा काम रोकिएको कार्यालयले जानकारी दिएको छ ।

पूर्वमा लाकुरी खोला, पश्चिममा चुप्रा बजार, उत्तरमा लोहोरे खोला र दक्षिणमा खाँडा गाउँ पर्ने सो क्षेत्रमा केन्द्रका दुई टोलीले अध्ययन÷अनुसन्धान समेत गरेको थियो । दैलेख क्षेत्र नं. १ बाट निर्वाचित नेकपाका प्रतिनिधिसभा सांसद रवीन्द्रराज शर्माले औद्योगिक क्षेत्र घोषणाका लागि मन्त्रिपरिषद्मा पेश गरिएको र प्रस्ताव पारित भएपछि मात्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन शुरू हुने बताए ।

डीपीआरमा औद्योगिक क्षेत्र स्थापनाका लागि कति बजेट लाग्ने, कस्ता संरचनाहरू स्थापना गर्ने र भौतिक पूर्वाधारका योजना कस्तो हुने भन्नेबारे उल्लेख हुने उनले जानकारी दिए । औद्योगिक क्षेत्र घोषणाका लागि आफूहरूले प्रयास गरिरहेको उनले बताए । ‘यहाँ औद्योगिक क्षेत्र बन्न सके दैलेख मात्र नभई छिमेकी जिल्लाहरूको विकासमा पनि ठूलो टेवा पुग्नेछ,’ उनले भने ।

यहाँको मध्यपहाडी लोगमार्ग, दुल्लु–कालिकोट, दैलेख सदरमुकाम महाबु–कालिकोट–जुम्ला जस्ता सडकहरूको समेत केन्द्र हुने भएकाले चुप्रामा औद्योगिक क्षेत्र स्थापना उपयुक्त हुने देखिन्छ । दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले सो क्षेत्रमा लघु उद्यमीका लागि औद्योगिक ग्राम स्थापनाको तयारी भइरहेको समेत जानकारी दिए । हाल उक्त ठाउँमा जिल्लाको लघु उद्यमी समूहले ढाका बुनाई कार्यक्रम सञ्चालन गरिरहेको छ, जहाँ ८ जनाले काम गरिरहेको लघु उद्यम समूह संघ दैलेखका प्रमुख कविराज खत्रिले बताए । 

औद्योगिक क्षेत्र स्थापना हुन सके रोजगारी सृजना हुने त छँदै छ, त्यसबाहेक दैलेखको मात्र नभई कर्णालीका थुप्रै जिल्लामा पाइने कच्चा पदार्थ उपयोग हुन सक्ने सम्भावना छ । चुप्रामा औद्योगिक क्षेत्र स्थापना गर्न सके यहाँको आर्थिक विकासले फड्को मार्ने दैलेख उद्योग वाणिज्य संघका महासचिव राजेशकुमार हमाल बनाउँछन् । खानीको उपयोगका साथै व्यापारिक केन्द्रको विस्तार समेत हुने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्