arthik abhiyan
ad banner

स्मार्टफोन तात्नुका कारण र समाधान

Aug 12, 2019 
प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अहिले स्मार्टफोनको जमाना छ । सबैका हातहातमा ठूला स्क्रीन भएका महँगा मोबाइल देखिनु नौलो होइन । यसलाई कतिपयले फेशनको रूपमा लिने पनि गरेका छन् । तर राम्ररी यसको प्रयोग गर्न नजान्दा अथवा लापरबाही गर्दा ठूलै दुर्घटना पनि हुने गरेका छन् । चार्जमा राख्दा राख्दै मोबाइल चलाउँदा पड्केर ज्यान गएको वा घाइते भएको समेत सुनिन्छ ।

कहिलेकाहीँ फोन गर्दागर्दै गाला नै पोल्नेगरी मोबाइल तात्ने समस्या सबैजसोले भोगेको हुनुपर्छ । कतिपय मोबाइल ह्याङ भएर नचल्ने अवस्थामा पनि पुग्छन् । तर कहिल्यै सोच्नुभएको छ, यसरी किन तात्छ हाम्रो मोबाइल ? मोबाइल तात्नुको कारण र समाधानका उपायबारे यहाँ चर्चा गरिएको छ । 

स्मार्टफोनलाई धेरै बेरसम्म चार्जमा राख्दा कहिलेकाहीँ तात्ने समस्या आउन सक्छ । हुन त नयाँ मोडलका मोबाइलमा फुल चार्ज भएपछि स्वतः अफ हुने प्रविधि हुन्छ । तर पुराना मोबाइलमा भने यो एउटा समस्या बन्न सक्छ । कहिलेकाहीँ अति धेरै डेटा प्रोसेसिङको कारण पनि स्मार्टफोन तात्ने गर्छ ।

जीपीएस धेरै बेरसम्म प्रयोग गरिरहँदा वा ब्लुटूथ स्पिकर बजाइरहँदा पनि फोन तात्ने समस्या आउन सक्छ । बढी र्‍याम ओगट्ने गेम वा एप चलाउँदा पनि स्मार्टफोन निकै तात्छ । कतिपय अवस्थामा त जल्ने र पड्कने खतरा पनि हुन्छ । स्मार्टफोनमा मालवेयर अथवा कुनै भाइरस छ भने पनि मोबाइल सामान्यभन्दा बढी नै तात्न थाल्छ । यस्ता भाइरसले तपाईंको डेटा सर्भिसलाई गोप्य तरीकाले निरन्तर प्रयोग गरिरहेको हुन्छ । चार्ज गर्दै गेम खेल्दा, सामाजिक सञ्जाल चलाउँदा अथवा फोन गर्दा पनि स्मार्टफोन बढी तात्छ, जुन अनुभव तपाईंले पनि गर्नुभएको होला ।

समाधानका उपाय
मोबाइलमा भाइरस लागेको शंका भयो भने खोलिएका सबै एप एकपटक बन्द गर्नुहोस् । त्यसपछि एप सेटिङमा गएर ‘इन्स्टलेशन फ्रम अन्नोन सोर्स’लाई बन्द गरिदिनुहोस् ।

चार्जर केबल र एडप्टर डुप्लिकेट छ भने पनि मोबाइलको ब्याट्री अत्यधिक तात्छ । त्यस्तो केबलको प्रयोगले मोबाइललाई ह्याङ नै गराइदिन्छ । त्यसैले सकेसम्म डुप्लिकेट केबल प्रयोग नगर्नुहोस् । पुरानो मोडलको स्मार्टफोनको ब्याट्री फुलेको छ/छैन एकचोटि जाँच गर्नुहोस् । फुलेको छ भने अर्को ब्याट्री फेरिहाल्नुहोस् । किनकि त्यस्ता ब्याट्री पड्किन सक्छ ।

आवश्यक नहुँदा वाईफाई, ब्लुटूथ, जीपीएस जस्ता ब्याट्री र मेमोरी ओगट्ने सेवा बन्द गर्नु नै राम्रो हुन्छ । कहिलेकाहीँ ब्याकग्राउन्डमा धेरै एप खुलेका छन् भने पनि एन्ड्रोइड मोबाइल तात्ने गर्छ । त्यसैले त्यस्ता एपहरू बन्द गर्नुपर्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्