arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पुराना कपडा : ‘ चाहिन्छ लानुहोस् , चाहिंदैन ल्याउनुहोस् ’

असहायलाई सहयोग गर्न कपडा बैंक सञ्चालन    

Aug 12, 2019  
प्रदेश बागमती
Image Not Found

साउन २७, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका कार्यालय अगाडि कपडा बैंक स्थापना गरिएको छ । 

बनेपा नगरपालिका–८ का स्थानीय बासिन्दा सर्वश्री अधिकारीको सक्रियतामा शनिवारबाट कपडा बैंक सञ्चालनमा ल्याइएको हो । बैंकले दिनदुःखीका लागि निःशुल्करुपमा कपडा उपलब्ध गराउँदै आएको छ । असहाय तथा विपन्न गरीबलाई सहयोग पुर्‍याउने उद्देश्यले खेर गइरहेको सामान प्रयोगमा ल्याउने गरी सो कपडा बैंक स्थापना गरिएको सञ्चालक सर्वश्री अधिकारीले बताए । 

‘हाम्रो लक्ष्य भनेको नै दिनदुःखी र गरीबीको लागि सहयोग पुर्‍याउने हो ।’ उनले भने, ‘चाहिन्छ लानुहोस, चाहिंदैन ल्याउनुहोस् भन्ने नाराका साथ सफा, नच्यातिएको टुटफुट नभएको आफूलाई आवश्यक नभएको तर अरुलाई आवश्यक हुने सामान ल्याउनको निमित्त अनुरोध गर्न चाहन्छु ।’

१०० एस ग्रूपको सदस्य र दिनानाथ दाहाल स्मृति प्रतिष्ठान काभ्रे तथा नवजीवन परोपकार समाज काठमाडौंको आजीवन सदस्यसमेत रहेका उनले सो संस्थाको अगुवाइमा काठमाडौंको अनामनगर, जावलाखेल र सामाखुशीमा समेत कपडा बैंक सञ्चालनमा ल्याएको बताए । 

पुराना कपडासँगै जुत्ता, भाँडाकुँडासमेत कहाँ राख्ने, कसलाई दिने, के गर्ने भनेर चिन्तामा हुनुहुन्छ भने ती सामान आफूहरुलाई कपडा बैंकमा ल्याएर उपलब्ध गराउन उनले अनुरोध गरेका छन् ।    

त्यसको लागि बनेपा नगरपालिकाले नगरपालिकाको गेट नजिकैको पश्चिमपट्टिको खाली जग्गामा नगरपालिकालाई आवश्यक पर्दा खाली गर्ने गरी अहिलेको लागि कपडा बैंक राख्न अनुमति दिएको नगरपालिकाले बताएको छ । रासस    
     
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्