arthik abhiyan
ad banner

किसानको पीडा :  हिउँदमा असिना, वर्षामा खडेरीको मार

Aug 12, 2019
प्रदेश ०४
Image Not Found
author avatar रोशन तिवारी

साउन २७, पर्वत । हिउँदमा असिनाको मार खेपेका जिल्लाका कृषकहरु अहिले वर्षामा खडेरीको मारमा परेका छन् ।

पानी नपरेपछि जिल्लामा २५ प्रतिशत खेत अझै बाँझो अवस्थामा छन् । जेठ महीनामा चार पटक असिनापानीका कारण मकै खेती भित्र्याउन नपाएका कृषक अहिले खडेरीले धान रोप्न नपाउँदा मर्कामा परेका हुन् । ‘यो वर्ष जस्तो असिना र खडेरी मैले अहिलेसम्म महसुस गरेको थिइन,’ फलेवास– ३ का ९५ वर्षीय जयलाल जैसीले भने, ‘हिउँदमा मकै जति असिनाले खायो, अहिले खडेरीले धान रोप्न पाइएन ।’ 

साउन सकिनै लाग्दासम्म मनसुन कमजोर अवस्थमा रहेको छ । वर्षा नहुँदा रोपेको धान खेतमा पनि धाँजा फाटेको छ । पर्वतको कुश्मा र फलेबास नगरपालिका तथा मोदी गाउँपालिकाका धेरै क्षेत्रमा गएको जेठमा परेको असिनाले मकै र कोदो सबै खेतबारीमै नष्ट भएको थियो । असिनाका कारण मकै उत्पादन कुनै ठाउँमा शतप्रतिशत नै घटेको छ भने धेरै ठाउँमा ५० प्रतिशत पनि भएको छैन । 

असार र साउन महीनामा पानीका मुल फुट्ने गरि वर्षा नहुँदा आकाशेपानीको भरमा रहेका कृषकहरुले धान रोप्न पाएका छैनन् ।  समयमै रोप्न नपाउँदा धानको बीउ ढल्ने अबस्थामा छ भने रोपेको खेतमा पानी नहुँदा धाँजा फाटेको छ । वर्षा नभएका कारण जिल्लाको २५ प्रतिशत भन्दा बढी धानखेतमा रोपाईं हुन नसकेको कृषि ज्ञान केन्द्रले बताएको छ । 

पर्वतमा करीब ९ हजार हेक्टर क्षेत्रफल धानखेतीका लागि योग्य रहेको  छ । तर पछिल्ला वर्षहरुमा धानखेती गर्ने क्रममा घट्दो छ ।  आवश्यकता अनुसार  सिंचाई सुविधा नहुनु, जग्गा खण्डिकरण  हुँदै  जानु, सडक बिस्तारका क्रममा खेत नष्ट हुनु,बसाइँसराईपछि गाउँको खेतबारी बाँझै छोड्नु लगायतका कारणले ८ हजार ७०० हेक्टर क्षेत्रफलमा मात्र धान लगाउने गरिएको तथ्यांक छ ।

पर्वतमा प्रतिहेक्टर जमिनमा २ दशमलव ८ मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस्