arthik abhiyan
ad banner

एक महीनापछि सिद्धिचरण लोकमार्ग खुल्यो

Aug 12, 2019
प्रदेश ०१
Image Not Found
फाइल फोटो

साउन २७, गाईघाट । सिद्धिचरण लोकमार्ग खुलेपछि उदयपुर, ओखलढुंगा र खोटाङको जनजीवन सहज बन्दै गएको छ ।  

सिरहाको मिर्चैया भएर उदयपुर जिल्लाको कटारी घुर्मी हुँदै पहाडी जिल्ला ओखलढुंगा, खोटाङ जोड्ने सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका– ११ ठाँटीमा अवरुद्ध सडक एक महीनापछि सञ्चालनमा आएको छ । यो लोकमार्ग सञ्चालनमा आएसंगै उदयपुर, ओखलढुंगा र खोटाङको जनजीवन सहज बन्दै गएको हो ।    

 सिद्धिचरण लोकमार्गअन्तर्गत कटारीको ठाँटी भज्याङमा गत असारको चौथो हप्ता आएको निरन्तर वर्षापछिको पहिरोले अवरुद्ध गरेपछि उक्त मार्गको पुरानो ट्रयाक छाडेर पुन नयाँ ट्रयाकबाट सडक निर्माण कार्य शुरु गरेको थियो ।  

 सडक डिभिजन कार्यालय लहान सिरहा र कटारी नगरपालिकासहित स्थानीयवासीको सहयोगमा सो सडकको नयाँ ट्रयाक निर्माणकार्य सम्पन्न भएपछि दुई दिनदेखि सिद्धिचरण लोकमार्ग पूर्णरुपमा सुचारु हुन थालेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।  

 अवरुद्ध सडक सञ्चालनमा आएपछि सिरहाको मिर्चैया, कटारी हुँदै घुर्मी भएर हर्कपुर ओखलढुंगा र खोटाङको हलेसी दिक्तलेसम्म यातायात सुचारु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताए ।  

  कटारीस्थित ठाँटी भज्याङमा वर्षेनी खस्ने पहिरोका कारण सडक अवरुद्ध हुन थालेपछि सडकको एलाइन्स र ट्रयाक नै पूर्णरुपमा परिवर्तन गरेर अर्को सडक निर्माण गर्नुपरेको कारण केही समय लाग्न पुगेको सडक डिभजन कार्यालयका प्राविधिक प्रमुख विनोदकुमार साहले बताए ।

सो लोकमार्ग सञ्चालन भएसंगै तराईबाट कटारी हुँदै पहाडी क्षेत्र खोटाङ र ओखलढुंगा तथा खोटाङ र ओखलढुंगा हुँदै तराईसम्म यातायताका साधन सुचारु भएपछि दैनिक हजारौं यात्रु आवतजावत गर्न थालेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए । रासस
 

प्रतिक्रिया दिनुहोस्