arthik abhiyan
ad banner

मनोरोग न्यूनीकरणमा स्वास्थ्य बीमा

Aug 13, 2019 
लेख | दृष्टिकोण
Image Not Found
पदमराज अवस्थी

मुटु दुखेको दिन डा. भगवान कोइराला सम्झन्छौं  तर मन दुखेको दिन कसलाई सम्झिने ? अलौकिक कुरा गर्ने साथीलाई ठट्टैठट्टामा पाटनमा भर्ना हुन सुझाइन्छ तर साँच्चीकै पाटन जानुपर्नेहरूको अवस्था के छ ? विरक्तिमा भासिएका जनता समग्र राष्ट्रकै लागि बल्झिरहने शूल हुन् । कर्णालीमा एउटा गीत छ ‘दुःखले म जोगी भया, जोगी बौला दुःख’ अर्थात् मुक्तिका लागि जोगी भए पनि जोगी हुँदा अझ बढ्ता दुःख भोगिन्छ । यसको अर्थ के हो भने विरक्ति यस्तो डरलाग्दो बिमारी हो जो न देखिन्छ न क्षणिक उपचारले निको हुन्छ । २० औं विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा विश्व मानसिक स्वास्थ्य महासंघले सन् २०१२ मा निराशाको डरलाग्दो अवस्था उजागर गर्दै एक प्रतिवेदन सार्वजनिक गरेको थियो । यस अनुसार हरेक २० जनामा १ एक जना निराशाको शिकार हुने गरेको छ  र संसारमा झन्डै साढे तीन अर्ब जनसंख्या निराशामा बाँचिरहेका छन् । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको तथ्यांक अनुसार संसारमा हरेक दुई सेकेन्डमा एक जना मानिस शरणार्थी हुन बाध्य हुन्छ । यसरी थातथलो छोड्नुलाई निराशाको प्रमुख कारकका रूपमा लिइएको छ । त्यस्तै, विश्व बैंकको विप्रेषण सम्बन्धी तथ्यांक २०१६ अनुसार विप्रेषण यति तीव्र रूपमा बढेको छ कि यसले अन्तरराष्ट्रिय स्तरमा दिइने दुईपक्षीय तथा बहुपक्षीय अनुदानको भन्दा पनि ठूलो आकार लिँदै छ । त्यसपछि, प्रवासलाई निराशाको प्रमुख कारकको रूपमा लिइएको छ  । 

उक्त प्रतिवेदन अनुसार हामीले गरीबी र भोकमरीलाई त बिस्तारैबिस्तारै निमिट्यान्न पार्दै आएका छौं तर अस्तव्यस्त विश्व राजनीति, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन र अव्यवस्थित जीवनशैलीले निरन्तरता पाउने हो भने सन् २०३० सम्ममा संसारको सबैभन्दा ठूलो संकटका रूपमा निराशाको समस्या देखिनेछ । राजनीतिक संक्रमण, वैदेशिक रोजगारी, निजीक्षेत्रमा हुने श्रम शोषण, शिक्षा तथा स्वास्थ्यमा हाबी राजनीति, र सामाजिक संरक्षणको प्रत्याभूति नहुनु लगायत दर्जनौं कारणले नेपालमा पनि आम स्तरमा निराशा बढेको कुरा थाहा पाउन  कुनै प्रतिवेदन हेर्नु जरुरी छैन । यसका लागि समग्र जनव्यवहार पर्याप्त छ । निराशाका आफ्नै राजनीतिक, सांस्कृतिक, र आर्थिक असरहरू छन् । तर, यो बिमारी दीर्घकालीन प्रकृतिको हुनाले यसको आर्थिक भार अत्यधिक हुन्छ । यसलाई राज्यले नै सम्बोधन गर्नु नै यसको दीर्घकालीन समाधान हो । 

राज्यले यसको सम्बोधन गर्दा सबैभन्दा सस्तो उपाय हो :  स्वास्थ्य बीमाको दायरालाई फराकिलो पार्नु । यसको अर्थ स्वास्थ्य बीमा मार्फत विरक्तताको उपचार गर्नु हो । यसको लागि सबैभन्दा पहिले राज्यले विरक्ततालाई रोगको रूपमा परिभाषित गर्नुपर्छ । स्वास्थ्य पूर्वाधार निर्माण गर्दा, जनशक्ति निर्माण गर्दा, र स्वास्थ्य वित्तको व्यवस्था गर्दा विरक्तताले पनि उत्तिकै स्थान पाउनुपर्छ । बीमामा यसलाई समावेश गर्दा शुरूमा निराशाको वर्गीकरण गर्नुपर्छ ।  जनतामाझ गएर खुशीको मापन गरेर विरक्त जनताको औसत संख्या पत्ता लगाउनुपर्छ । जनताले विरक्ततामा प्रवेश गर्ने आवृत्ति पत्ता लगाएर यसको उपचार भार कति हुन्छ भन्ने आकलन गरिसकेपछि मात्र सो उपचार खर्च धान्ने पर्याप्त बीमाशुल्क निर्धारण गर्नुपर्छ । यस्तो मनोरोगका लागि छुट्टै बीमालेख तयार पार्ने भन्दा मास्टर बीमालेखमा नै एकीकृत रूपमा यसलाई समावेश गर्नुपर्छ । वैराग्य उदासीन प्रकृतिको बिमारी हो र जीवन गीतको राग बिर्सेर निराश बनेकालाई छुट्टै बीमालेख बेच्नु असम्भव कुरा हो ।

यसको उपचार कसरी गर्ने स्वास्थ्य बीमालेखमा नै उपचार उपाय स्पष्ट रूपमा लेखिनुपर्छ । यसको उपचार गर्ने प्रयोजनको लागि स्वास्थ्य बीमा बोर्डले आफ्नो सूचीकृत सेवाप्रदायक संस्थाहरू अन्तर्गत योग तथा मनोवैज्ञानिक परामर्श केन्द्रहरूलाई पनि सूचीकृत गर्नुपर्छ । केन्द्रहरूमा बीमितहरूले योगाभ्यास र परामर्श सेवा लिए बापतको सेवाशुल्क स्वास्थ्य बीमाले बेहोर्ने व्यवस्था हुनुपर्छ । योग र साधनामा सिद्धि प्राप्त गरेकाहरूलाई पनि निश्चित मापदण्ड बनाएर उनीहरूलाई बीमादूतका रूपमा स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गराउनुपर्छ । बाह्रै मास देशैभरि घुम्ती योग तथा ध्यान शिविरको आयोजना गरी जनताको मनको तिक्तता मेटाउनुपर्छ । 

एउटा उखान छ ‘बाली बिग्रेको सबैले देख्छ तर बानी बिगे्रको कसैले देख्दैन ।’ हो, जनताको भावना र आवेगलाई नियन्त्रणमा राखेर आत्मशुद्धीकरण, अन्तस्करणको प्रष्फुटन, स्वस्थ आहार–व्यवहार र सन्तुलित जीवनशैली सहितको तन्दुरुस्त नेपालको निर्माण गर्नमा यस्ता शिविरहरूको योगदान उल्लेखनीय रहनेछ ।

त्यस्तै, स्वास्थ्य बीमा बोर्डले यसका लागि गर्नैपर्ने अर्को काम निश्चित धार्मिक तथा प्राकृतिक सम्पदाहरूलाई  नेपाल सरकारबाट बीमापीठ घोषणा गर्न लगाई सोको संरक्षण गर्नुपर्ने हो । तीर्थाटनका नाममा नेपालबाट हरेक वर्ष झन्डै २० अर्ब रुपैयाँ बाहिरिने गरेको अनुमान छ । आत्मशान्ति र मोक्षका लागि दौडिने यो भीडलाई वेद र बुद्धको भूमिमै मानसिक शान्तिको आचमन दिन पनि यस्ता क्षेत्रको संरक्षण गरी विभिन्न तिथि र पर्वहरूमा उत्सवहरूको आयोजना गरिनुपर्छ । मालिका पूर्णिमामा बडीमालिकाका पाटनहरूमा ध्यान शिविर राख्ने हो भने कसको मन संग्लो हुन्नथ्यो होला र ∕ त्यस्तै, हरेक नयाँ वर्षमा सहलेस उपहार दिएर पर्खाइमा तड्पिएका प्रेमीहरूको मन बुझाउने अनुपम संस्कृति भएको देश हो, नेपाल । जनकपुरधाममा रहेको स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयले सोही दिन लाहानमा गएर प्रेमिल महोत्सव राखेर छुटेका मुटु र टुटेका मनहरूलाई केन्द्रित गरेर दिव्य प्रवचनको आयोजना गर्दो हो त कति अधुरा प्रेमीहरू जीवनमा सन्तुलन प्राप्त गर्न सक्थे होलान् । बीमापीठ बनाउन लायक यस्ता थुप्रै ठाउँहरू छन् जसको माध्यमबाट योग, ध्यान र मनोपरामर्शलाई प्रवद्र्धन गरी कम आर्थिक भारमा नै मानसिक रूपमा स्वस्थ जनस्वास्थ्यको निर्माण गर्न सक्छौं ।

यो अवधारणाको कार्यान्वयनबाट तुरुन्तै कुल गार्हस्थ्य उत्पादन नबढ्ने भए पनि दीर्घकालीन रूपमा देशलाई जागरुक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । विप्रेषणबाट नै देश चलाउने कुरा सोच्ने भने पनि कमसेकम काम गर्न जाने युवा त स्वस्थ हुनुपर्‍यो ताकि विदेशी भूमिमा उनीहरूमा मानसिक विचलन नआओस् । देशमै रहेका घरपरिवारमा पनि सन्तुलित भावना पलाओस् । मानसिक स्वास्थ्य स्याहार गर्ने प्रमुख उपाय योग र साधना नै हो र यसको वित्तीयकरणमा राज्यले बीमाको संयन्त्र प्रयोग गर्नुपर्छ ।

लेखक बीमा अध्येता हुन् ।

प्रतिक्रिया दिनुहोस्