arthik abhiyan
ad banner

नेपाल टेलिकमको रोमिङ शुल्कमा छूट

Aug 13, 2019 
बजार
NA

काठमाडौं (अस) । हाल नेपाल टेलिकमले ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छूट प्रदान गरेको छ । कम्पनीका जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा यो सहुलियत प्रदान गरिएको हो । 

नेपाल टेलिकमले २०७६ वैशाख १६ देखि जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि चीन र भारतमा अन्तरराष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ । अन्तरराष्ट्रिय रोमिङ सुविधा कार्यान्वयनपछि भारत जाँदा नेपाल लगायत जुनसुकै मुलुकबाट आएको आगमन कलको शुल्क प्रतिमिनेट करसहित जम्मा १४ रुपैयाँ लाग्छ । यसैगरी भारतमा रहँदा उक्त सेवामार्फत नेपाल वा भारतमा फोन गर्दा प्रतिमिनेट करसहित ३० रुपैयाँ लाग्छ । त्यस्तै २४ रुपैयाँमा विश्वभर सन्देश पठाउन सकिने कम्पनीले उल्लेख गरेको छ । 

यस्तै, चीनमा रहेका बेला नेपालमा फोन गर्दा प्रतिमिनेट ९० रुपैयाँ र नेपाल लगायत विश्वका जुनसकै मुलुकबाट आगमन कलको शुल्क प्रतिमिनेट ५३ रुपैयाँ मात्र लाग्छ । यसैगरी चीनभरी जुनसुकै नम्बरमा (कम्पनीको जीएसएम प्रिपेड मोबाइलमा समेत) कुरा गर्दा प्रतिमिनेट ५० रुपैयाँ र त्यहाँबाट विश्वभर जम्मा ५४ रुपैयाँमा सन्देश पठाउन सकिने कम्पनीको भनाइ छ  । 

कम्पनीले जीएसएम पोस्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने न्यूनतम धरौटी शुल्कलाई ३० हजारबाट घटाएर १० हजार रुपैयाँ मात्र कायम गरेको छ । साथै कम्पनीका जीएसएम प्रिपेड मोबाइल सेवा प्रयोगकर्ताले थप धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् । प्रिपेड मोबाइलमा अन्तरराष्ट्रिय रोमिङ सेवा कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट लिन सकिन्छ । हाल टेलिकमले विश्वभरका ८७ ओटा मुलुकका १९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्