arthik abhiyan
ad banner

३७५ प्रजातिका लोपोन्मुख वनस्पति संरक्षण

Aug 13, 2019 
बजार
Image Not Found

सल्यान (अस) । सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीस्थित वनस्पति अनुसन्धान केन्द्रले राज्यले प्राथमिकताको सूचीमा राखेका लोपोन्मुख ३७५ प्रजातिका वनस्पतिको संरक्षण गरिरहेको छ । आर्थिक दृष्टिले तथा औषधिको रूपमा महत्त्वपूर्ण मानिएका वनस्पतिको संरक्षण उक्त केन्द्रले गर्दै आएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख दिनेश बरालले बताए । 

केन्द्र प्रमुख बरालले वनस्पति उद्यानको प्रमुख उद्देश्य वनस्पतिको संरक्षण तथा अध्ययनअनुसन्धान गर्नु रहेको उल्लेख गर्दै केन्द्रमा श्रीखण्ड, टिमुर, विजयसाल, सतिसाल, सुगन्धवाल, चिराइतो, कुरिलो, घिउकुमारी, तेजपात, लौठसल्ला, केशर, सुगन्धकोकिला, सर्पगन्धा अश्वगन्धा लगायत रोपिएको बताए । 

विसं २०५६ मा स्थापित वनस्पति उद्यान ११३ दशमलव ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । उद्यानमा यस क्षेत्रमा रहेका २८ प्रजातिका सुनाखरीलाई संरक्षण गरी राखिएको छ,  जो उद्यानको प्रमुख आकर्षण हो ।

यसका साथ नेपालबाट साइटिसको अनुसूचीमा परेका १३ प्रजातिका वनस्पतिमध्ये यस उद्यानमा साइकस, लौठसल्ला, सर्पगन्धा, गुन्सी तथा सुनाखरीको साइटिक गार्डेन बनाई संरक्षण गरिएको छ । यसबाहेक उद्यानमा टिमुर उत्पादन, पोलीहाउस, फर्न गार्डेन, रक गार्डेन, जलीय उद्यान, अर्किड हाउस, मौसमी फूल बगैंचा, जडिबुटी सूचना केन्द्र आदि छन् । 

अनुसन्धान केन्द्रका हेड फिल्ड असिस्टेन्ट कृष्ण पुनले केन्द्रमा अवलोकन गर्न धेरै आउने गरेको बताए । उद्यान निःशुल्क अवलोकन गर्न सकिने उनको भनाइ छ । उद्यानले वर्षेनी लोपोन्मुख तथा बहुमूल्य जडीबुटीका बिरुवा उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्