arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माण्डवीमा १७ करोडको रंगशाला निर्माण हुँदै

रंगशाला सबै स्थानीय तहको प्राथमिकतामा 

Aug 13, 2019  
प्रदेश ०५
Image Not Found
author avatar राजेश जीसी

प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकाले सुविधासम्पन्न प्रदेश स्तरको रंगशाला निर्माण गर्न थालेकोे छ । बहुवर्षीय योजनाअन्तर्गत रू. १७ करोडको लागतमा गाउँपालिकाको वडा नं. ३ मार्सिवाङमा उक्त रंगशाला निर्माण गर्न थालिएको गाउँपालिकाले बताएको छ । रंगशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको बताइएको छ । 

इन्डोर र आउटडोर खेल खेल्न मिल्ने गरी ५२ रोपनी क्षेत्रफलमा रंगशाला बनाइने माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताए । आउटडोरअन्तर्गत क्रिकेट र फुटसल तथा इन्डोर खेलका लागि ६० मिटर लामो कभर्डहल निर्माण गरिने उनले जानकारी दिए । रिजालले भने, ‘स्थानीयले केही जग्गा उपलब्ध गराए फुटबल मैदान पनि निर्माण गर्छौं ।’ 

रंगशालामा सुविधासम्पन्न कभर्ड हल, प्याराफिटसहितको क्रिकेट, फुटसल र फुटबल मैदान, पार्किङस्थल, चमेनागृह, प्रशासनिक भवन तथा शौचालय निर्माण गरिने योजना छ । उक्त संरचना निर्माणका लागि मूल्यअभिवृद्धि कर (भ्याट) बाहेक रू. १७ करोड लागत लाग्ने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताए । उनका अनुसार आगामी दुई वर्षभित्र रंगशाला सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

गाउँपालिकाको गौरवका योजनाको रूपमा रंगशाला निर्माणलाई अघि बढाइएको छ । रंगशाला निर्माणमा हालसम्म रू. ५२ लाख खर्च भएको छ । अहिले मैदान सम्याउने र पर्खाल लगाउने काम भइरहेको छ भने प्रशासनिक भवनको निर्माण सम्पन्न भइसकेको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले गाउँपालिकाले सबै लगानी गर्न नसक्ने भएकोले प्रदेश तथा संघीय सरकारसँग सहयोग माग्ने बताए । उनका अनुसार रंगशाला निर्माणका लागि चालू आवमा रू. २० लाख छुट्याइएको छ । रंगशाला निर्माण गर्न प्रदेश सरकारले गत आवमा रू. ४६ लाख सहयोग गरेको गाउँपालिकाले बताएको छ ।

जिल्लाको ऐरावती गाउँपालिकाले पनि खेलकुद मैदान निर्माण कार्य शुरू गरेको छ । गाउँपालिकाले १३४ रोपनी जमीनमा खेल मैदान निर्माण गर्न थालेको गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिए । खेलक्षेत्रबाट गाउँपालिकालाई चिनाउन तथा खेलाडीलाई प्रोत्साहनका लागि रू. २३ करोडको लागतमा खेलकुद मैदान निर्माणको काम अघि बढाइएको हो । 

अध्यक्ष शाहका अनुसार खेल मैदान क्रिकेट, फुटबल र भलिबल खेल्न मिल्ने गरी निर्माण गरिने  छ । खेल मैदान निर्माणमा हालसम्म रू. ६९ लाख खर्च भइसकेको छ भने चालू आवका लागि रू. ४० लाख विनियोजन भएको छ । हाल मैदान सम्याउने, पर्खाल तथा जाली लगाउने काम भइरहेको उनले जानकारी दिए ।

पछिल्लो समय जिल्लाका सबै स्थानीय तहले खेलक्षेत्रलाई महत्व दिएर रंगशाला निर्माण गरिरहेका छन् । झिमरुक गाउँपालिकाले पनि गत आवमा करोडौं रुपैया खर्चेर मैदान निर्माण गरेको छ । त्यसबाहेक स्वर्गद्वारी नगरपालिका तथा सरुमारानी, नौबहिनी र गौमुखी गाउँपालिकाले पनि खेलकुद मैदान निर्माणको काम अघि बढाएका छन् ।  जिल्लाका सबै स्थानीय तहले खेलकुद मैदान निर्माण गर्न थालेपछि जिल्लाका खेलाडीहरू उत्साहित देखिएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्