ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बैंकहरूमा थन्कियो ७३० केजी सुन

व्यवसायीले किन्छन्, ग्राहकले बेच्छन्

Aug 13, 2019  
समाचार
Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सुनको मूल्य लगातार आकाशिँदै गएपछि कारोबारमा मन्दी आएको छ । तीज नजिकिँदा पनि काठमाडौं लगायत प्रमुख शहरका सुनचाँदी पसलहरूमा सुनको कारोबार सुस्त देखिएको छ । त्यसमाथि, पसलमा गरगहना किन्नेभन्दा विक्री गर्ने ग्राहक बढी आउन थालेका छन् । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार देशभरका २२ हजार सुनचाँदी पसलमा यो मौसममा दैनिक ४० केजीसम्म सुन बेचबिखन हुने गर्थ्यो । तर, अहिले मुश्किलले १० केजी सुनको मात्र कारोबार हुने गरेको छ । 

अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि नेपालमा पनि यसको मूल्य बढेको हो । अहिले नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य रू. ७० हजार छ । साथै, अब सामान्य अवस्था आउँदा पनि सुनको मूल्य प्रतितोला रू. ६५ हजारभन्दा तल नझर्ने बताइन्छ । 

साउन महीनामा मात्र सुनको मूल्य तोलामा रू. ५ हजार ५०० बढेको छ । असार ३१ गते प्रतितोला छापावाला सुनको मुल्य रू. ६४ हजार ५०० थियो । अहिले बढेर रू. ७० हजार पुगेको छ । महासंघका अनुसार साउन १४ गतेसम्म सुनको मूल्य प्रतितोला रू. ६५ हजारमा तलमाथि हुँदै आएको थियो । साउन १५ देखि २३ गतेसम्म निरन्तर बढ्यो र २४ गतेदेखि स्थिर छ । 

कारोबार कम भएपछि सुनचाँदी व्यवसायीहरूले बैंकबाट सुन किन्न बन्द गरेका छन् । अहिले नेपाली बैंकहरूमा ७३० केजीभन्दा बढी सुन थन्किएको छ । सुन आयात गरेर व्यवसायीलाई विक्री गर्ने अधिकार वाणिज्य बैंकहरूसँग मात्रै छ । ‘कारोबार घटेपछि बैंकहरूमा सुन जम्मा हुँदै गएको छ । साथै, अहिले सुन आयात पनि लगभग ठप्प छ,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने ।

महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले सुनको कारोबार लगभग शून्य अवस्थामा भएको बताए । उनले भने, ‘नयाँ गरगहना बनाएर विक्री गर्ने काम ठप्प नै छ भन्दा हुन्छ । आफै सुन लिएर आउने ग्राहकको गरगहना बनाएर बसेका छौं ।’ 

मूल्य बढ्दा फाइदा हुने भएपछि आफूसँग भएको सुन फिर्ता गर्ने ग्राहकको संख्या बढेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । महासंघका अध्यक्ष मोहन विश्वकर्माले नाफा–घाटाको वास्ता नगरी ग्राहकको गरगहना फिर्ता लिने गरेको बताए । ‘बजारको अवस्थाअनुसार चल्नैपर्ने बाध्यता छ,’ उनले भने, ‘गत हप्ताको तुलनामा अहिले गरगहना फिर्ता गर्ने ग्राहकको संख्यामा कमी त आएको छ । तर, गरगहना किन्नेभन्दा फिर्ता गर्ने ग्राहक नै बढी छन् ।’ गत हप्ता गरगहना फिर्ता गर्ने ग्राहकको संख्या अत्यधिक बढी भएको उनको भनाइ छ ।

राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेश लकान्द्रीले ग्राहक भड्किने डरले गरगहना फिर्ता लिने गरेको बताए । ‘मैले मात्र दैनिक ३० तोला बराबरको सुन फिर्ता लिने गरेको छु । तर, ती सुन विक्री भएका छैनन्,’ उनले भने, ‘यहीअनुसार नै गरगहना फिर्ता हुने हो भने पसल बन्द गरेर बस्नुपर्ने बाध्यता आउने देखियो ।’ 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्