arthik abhiyan
ad banner

प्रविधिमैत्री बन्दै यातायात : पोखराका सार्वजनिक सवारीमा ई–टिकेटिङ

Aug 13, 2019 
यातायात
Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखरा महानगर क्षेत्रभित्र सञ्चालन हुने भाडाका सवारीसाधनमा भदौ १ गतेदेखि शुरू हुने ई–टिकेटिङ (विद्युतीय प्रणाली)को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाको अगुवाइमा सञ्चालन हुने ई–टिकेटिङ प्रणाली अन्तिम चरणमा पुगेपछि ओम् डेभलपमेन्ट बैंकले यात्रा स्मार्ट कार्डसमेत वितरण शुरू गरेको छ ।

परीक्षणका रूपमा शुक्रवारदेखि पोखराको सिमपानीबाट आँखा अस्पतालको रूटमा सञ्चालन हुने १३ ओटा बसमा आन्तरिक ई–टिकेटिङ लागू गरिएको छ । महानगरले स्मार्ट सिटी बनाउने योजनाअनुसार पोखरा क्षेत्रका सार्वजनिक सवारीसाधनहरूमा ई–टिकेटिङ सेवाको योजना अगाडि बढाएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए ।

तत्कालका लागि नगद र कार्ड दुवै प्रणालीबाट पैसा लिने र कार्ड वितरणलाई बढाउँदै नगद कारोबार बन्द गर्ने उनको भनाइ छ । ‘ई–टिकेटिङ प्रणाली शुरू भएपछि यात्रु ठगिने गरेको गुनासो अन्त्य हुनेछ,’ उनले भने । पोखराका वडा कार्यालय, बस सञ्चालक समितिका कार्यालय र ओम् डेभलपमेन्ट बैंकका शाखाबाट कार्ड खरीद गर्न सकिने व्यवस्था मिलाउने जिसीले जानकारी दिए । 

बैंकिङ व्यवस्थापनका लागि ओम् डेभलपमेन्ट बैंकसँग समन्वय गरिएको छ । यात्रुले कार्ड लिँदा सय रुपैयाँ धरौटी राख्नुपर्छ । कार्ड लिएपछि बोनसस्वरूप सित्तैमा सय रुपैयाँ रिचार्ज हुन्छ । पछि त्यसलाई फिर्ता गर्दा धरौटी रकम फर्काइनेछ । परिचय खुल्ने कागजात र २ प्रति फोटो बुझाएर कार्ड लिन सकिन्छ ।

साउन मसान्तसम्म परीक्षण गरेर भदौ लागेपछि पूर्णरूपमा कार्ड प्रणाली लागू गर्ने तयारी छ । बैंकले आवश्यक यात्रा स्मार्टकार्ड वितरण तथा सार्वजनिक सवारीको दैनिक रूपमा हुने आम्दानीको व्यवस्थापनको समेत जिम्मा लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

उनका अनुसार पहिलो चरणमा पोखराभित्रका स्कूल तथा कलेज अध्ययन गर्ने विद्यार्थीका लागि स्मार्टकार्ड वितरण शुरू गरिएको छ । बैंकले परीक्षणका रूपमा कार्ड वितरण शुरू गरेसँगै केही बसहरूमा समेत यसको परीक्षण नियमित रूपमा गरिएको छ । अब तुरुन्तै पोखरा महानगरभित्रका सम्पूर्ण वडा कार्यालयहरूमार्फत सबैका लागि कार्ड वितरण गरिने अधिकारीले बताए । 

प्रथम चरणमा पोखरा महानगरपालिकाभित्र चल्ने करीब ८०० सवारीसाधनमा टर्मिनल जडान गर्ने र ४ वर्षभित्रमा ३ लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्टसिटीको रूपमा विकसित गर्ने महानगरपालिकाको योजना छ ।

पहिलो चरणमा छोटो दूरीमा व्यवस्था गरिएको ई–टिकेटिङ विस्तारै लामा दूरीका गाडीमा पनि राखिने यातायात व्यवसायी बताउँछन् । ‘एन क्लाउड’ नामक संस्थाले प्राविधिक पक्ष व्यवस्थापन गर्ने जिम्मा लिएको छ ।

बस व्यवसायी र यात्रु दुवैलाई सुविधा हुने गरी विद्युतीय मेशिनबाट पैसा तिर्ने व्यवस्था मिलाइएको कम्पनीका प्रमुख दीपेन्द्रनारायण श्रेष्ठले बताए । ‘यात्रुले तोकिएकै भाडादरमा पैसा तिर्न मिल्ने र कति यात्रु चढे र कति आम्दानी भयो भन्नेबारे सीधै जानकारी पाउन सकिन्छ,’ उनले भने, ‘यात्रु ठगिनबाट बच्ने र समय पैसा दुवैको बचत हुनेछ ।’

के हो ई–टिकेटिङ प्रणाली ?
ई–टिकटिङ सवारी भाडा भुक्तानी गर्ने माध्यम हो । बसका सहचालकसँग एउटा डिभाइस हुन्छ । सहचालकसँग भएको त्यही डिभाइसमार्फत यात्रुहरूले प्रविधियुक्त टिकट पाउँछन् । यस प्रणाली शुरू भएपछि प्रत्येक यात्रुले विशेष प्रकारको यात्रा कार्ड पनि पाउनेछन् । 

व्यवसायीले दिएको त्यही कार्ड गाडीका सहचालकले डिभाइसमा ‘टच’ गराउनेछन् । त्यसपछि लागेको भाडा त्यही कार्डबाट बसको खातामा ट्रान्फर हुनेछ । त्यस कार्डमा यात्रुले पहिल्यै पैसा जम्मा गरेको हुनुपर्छ । जीपीएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस्