arthik abhiyan
ad banner

अम्रिसो खेति : वार्षिक आम्दानी ४० देखि ५० हजार 

Aug 13, 2019 
प्रदेश ०३
Image Not Found
 कमलामाई नगरपालिका–१३मा रहेको त्रिशक्ति कबुलियती वन क्षेत्रमा कृषकहरुले लगाएको अम्रिसो खेति । तस्वीर: एल.एन. शर्मा/ आर्थिक अभियान
author avatar अभियान संवाददाता

साउन २८, सिन्धुली । गरे के हुन्न ? भन्ने प्रश्न आजभोलि निक्कै सुनिन्छ । हुन पनि हो, मिहिनेत गर्ने हो भने पक्कै उपलब्धि हासिल हुन्छ ।

यो शास्वत नियम नै हो । केही वर्ष अगाडीसम्म मरुभुमि जस्तो देखिने सिन्धुलीको महाभारत र चुरे क्षेत्रका सुक्खा वन क्षेत्र यतिवेला हरियाली छन् । हरियाली आफैं बनेको भने होइन । यो क्षेत्र हरियाली मात्र  छैन अति विपन्न ३ हजार ८७२ परिवारको लागि गुजारा चलाउने माध्यमसमेत वनेको छ । 

स्थानीयको सहभागितामा कबुलियती वन गठन गरी सुक्खा अवस्थामा रहेका वन क्षेत्रमा अम्रिसो रोपिएकै कारण अहिले यी परिवारको आयआर्जनको स्रोत पनि बढेको छ ।
अहिले डिभिजन वन कार्यालयले जिल्लाका सुक्खा क्षेत्रमा कबुलियती वन गठन गरी अम्रिसो खेति विस्तार गर्दै आएको छ । शुरुका दिनमा स्थानीय कृषकहरु कमै मात्रामा आकर्षित देखिएका थिए तर अहिले उनीहरुको गुजारा चलाउने माध्यम नै बनेको छ, अम्रिसो खेति ।

जिल्लाका सुक्खा तथा मरुभुमि जस्तो देखिने वन क्षेत्रमा कबुलियती वन समुह मार्फत् अम्रिसोको विरुवा र रोप्ने प्रविधिका विषयमा ज्ञान दिएकै कारण अहिले उनीहरुले अम्रिसोलाई व्यावसायिक रुपमा खेति गरेका हुन् । 

अहिले अम्रिसो खेति गरेर वार्षिक रू.४० देखि ५० हजार आम्दानी गर्न सफल भएको दुधौली नगरपालिका–१३ का त्रिशक्ति कबुलियती वनका सदस्य वीरवहादुर सुनुवारले बताए । उनले भने, ‘ पहिला घर नजिकैको जंगल देख्दा पनि विरक्त लाग्थ्यो, अहिले त्यही स्थान हराभरा हुँदा आनन्द लाग्छ ।’उक्त कबुलियती वन क्षेत्रमा नौ हेक्टर जमीनमा अम्रिसो खेति गरिएको उनले बताए ।

व्यावसायिक रुपमा अम्रिसो खेति हुन थालेपछि यसको फूल किन्न  व्यावसायिहरु कृषकको घर–घरमा पुग्ने गरेका छन् । अम्रिसोको फूलको कुचो बन्ने भएकाले धनुषा, महोत्तरी, सिराहा, उदयपुर लगायतका स्थानबाट व्यापारीहरु खरीद गर्न आउने गरेका छन् ।

डिभिजन वन कार्यालय सिन्धुलीका कबुलियती वन शाखाका प्रमुख शुकवीर तामांगले  जिल्लामा २ हजार ७५८ दशमलव २५ हेक्टर जमीनमा अम्रिसो खेति गर्ने गरिएको बताए  ।‘जिल्लामा हालको अवस्थामा वार्षिक करीब १४ हजार क्विन्टल अम्रिसोको फूल उत्पादन हुने गरेको देखिन्छ’, उनले भने ।

महाभारत र चुरे क्षेत्रमा गरी ४२७ ओटा कबुलियती वन गठन भएपनि हाल २१५ ओटा सक्रिय रुपमा रहेको उनको भनाइ छ ।  जिल्लाको दुधौली नगरपालिका–१३ मा पाँच ओटा कबुलियती वन क्षेत्रमा अहिले नमूनाका रुपमा अम्रिसो खेति गरिएको डिभिजन वन कार्यालय सिन्धुलीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्