arthik abhiyan
ad banner

बैंक तथा वित्तीय संस्थामा उमेरहद : राष्ट्र बैंकको व्यवस्था सर्वोच्चद्वारा अस्वीकार

प्राईम बैंकका सीईओ मानन्धरलाई यथास्थानमा राख्न आदेश

Aug 13, 2019
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले गत साउन २० गते बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को उमेरहद सम्बन्धी गरेको व्यवस्थालाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सीईओको उमेरहद तोकेपछि यसबाट असन्तुष्ट भएका प्राईम बैंकका सीईओ नारायणदास मानन्धरले साउन २२ गते उक्त व्यवस्थालाई खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले मंगलवार प्राइम बैंकका सीईओ मानन्धरको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

उक्त अन्तरिम आदेशले सीईओ मानन्धरलाई यथावत कामकाज गर्न दिनु भनेको छ । साथै उमेरहद सम्बन्धमा राष्ट्र बैंकले जारी गरेको एकिकृत परिपत्र तत्कालका लागि कार्यान्वयन नगर्न समेत सर्वोच्चले अन्तरिम आदेश दिएको छ । सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

केन्द्रीय बैंकले एकिकृत निर्देशिका २०७५ लाई संशोधन गर्दै गत साता ६५ वर्ष नाघेका व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त हुन नपाउने र ६९ वर्ष नाघेको सीईओ स्वतः पदबाट अवकाश हुने व्यवस्था गरेको थियो । यो व्यवस्थाले प्राइम बैंकका सीईओ मानन्धरलाई पदमुक्त बनाएको थियो । उनी करीब १२ वर्षदेखि प्राईम बैंकको सीईओ पदमा कार्यरत छन् ।

 

प्रतिक्रिया दिनुहोस्