arthik abhiyan
ad banner

भूपरिवेष्टितता विकासको अवरोध होइन 

Aug 14, 2019 
लेख | दृष्टिकोण
Image Not Found
रामप्रसाद गौतम 

नेपाल स्वतन्त्र भए पनि भूपरिवेष्टितताले गर्दा चारै तिरबाट घेरिएको छ । स्वतन्त्र भएर पनि हाम्रा प्रत्येक दैनिकीहरू परनिर्भर छन् । एउटा रू. ३०० पर्ने छाता बनाउन सकिएला । तर, त्यो ३०० को छाताका प्रत्येक पार्ट नेपालले आयात गर्नुपर्ने हुन्छ । तुलनात्मक लाभको सिद्धान्त अनुसार हाम्रो उत्पादनभन्दा आयात सस्तो पर्छ अनि किन यहाँ उत्पादन गर्ने ? हाम्रो वास्तविकता यही हो । 

नेपालको आन्तरिक बजार सानो छ । सीमित उत्पादन र सीमित बजारको कारण नेपालमा वस्तु उत्पादन गरेर विक्री गर्न अति महँगो पर्न जान्छ । प्रविधि, व्यवस्थापन, पूँजी र बजारको आकारका कारण छिमेकी देशका बहुराष्ट्रिय कम्पनीका वस्तुसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले भारत र चीनले उत्पादन गरेका वस्तुहरूको आयात रोक्नु व्यावहारिक हुँदैन । त्यसैले नेपाल औद्योगिक राष्ट्र बन्न सक्ने अवस्था देखिँदैन ।  नेपालभन्दा भारत २२ गुणा र चीन ६५ गुणा ठूलो भएकाले उनीहरूको आधुनिक कृषि प्रणालीलाई जितेर खाद्यान्न आयात रोक्न सक्ने अवस्था छैन । त्यसैले नेपालको चुलिएको व्यापारघाटा न्यूनीकरण गर्न अत्यधिक उत्पादन गर्नुमात्र समाधान बन्न सक्दैन । नेपाल जस्तो भूपरिवेष्टित अझ भन्ने हो एक राष्ट्रपरिवेष्टित देशले के गर्दा विकास सम्भव छ त ? 

मौलिक विकासको अवधारणा
नेपालमा जे छ त्यसलाई व्यवसायीकरण गर्नु उपयुक्त हुन्छ । नेपालमा सबैभन्दा आकर्षणको बिन्दु धर्म, संस्कृति र त्यससँग सम्बद्ध कार्य हुन् । यसबाट पर्यटकको संख्या बढाउन सकिन्छ । पशुपतिनाथको मन्दिर, मनकामना, लुम्बिनी, बौद्ध, मुक्तिनाथजस्ता धार्मिक क्षेत्रमा पर्यटक आइरहेका छन् । ती स्थलको विकासमा जोड दिनुपर्छ । विकासको पहिलो चरणमा मौलिक आधार र मौलिक चिन्तनको खोजी गर्न सक्नुपर्छ । तसर्थ जे नेपालको मौलिकता थियो त्यसलाई संरक्षण र थप परिमार्जन गरेर विकास गर्न सहज हुने देखिन्छ ।

दक्ष जनशक्तिको उत्पादन 
नेपालका लाखौं युवा विदेशमा गएका छन् । तिनले प्रतिवर्ष ८ खर्बभन्दा बढी विप्रेषण पठाएका छन्, यसलाई तत्काल रोक्न सक्ने आधार र सम्भावना छैन । तर, तालीम दिएर वा प्राज्ञिक र अभ्यासमूलक कोर्सहरूको माध्यमबाट अदक्ष कामदारलाई अर्धदक्ष र अर्धदक्षलाई दक्ष बनाएर विदेश पठाउन सक्ने हो भने नेपाली श्रमको उत्पादकत्व बढ्नेछ । नेपाली श्रमिकको स्तरोन्नति हुनेछ । विदेशमा रहेका लाखौं श्रमशक्तिलाई नेपालले तत्काल रोजगारी दिने अवस्था छैन । यस्तोमा श्रमशक्तिको गुणस्तर सुधार र आपूर्तिको रणनीति अवलम्बन गरेर थप राम्रो परिस्थिति सृजना गर्न सकिन्छ । 

आयोजना अनुसारको पाठ्यक्रम 
नेपालले अहिलेसम्म हरेक विषयका पाठ्यक्रम विशेष गरी प्राविधिक विषयका पाठ्यक्रम विदेशी विश्व विद्यालय अनुसार लागू गरेको पाइन्छ । अबका दिनमा नेपालको भूगोल, यहाँका परियोजना अनुकूलका पाठ्यक्रम बनाएर ठूला आयोजनाका लागि विज्ञ र इन्जिनीयर नेपालमै उत्पादन गर्न सक्नुपर्छ । यसबाट दीर्घकालमा ठूलो रकम देश बाहिर जान रोकिनेछ । नेपालमा आवश्यकताको आधारमा शिक्षा दिने प्रणालीको विकास हुन गई सृजनशीलतामा आधारित शिक्षा प्रणालीको विकास हुनेछ । 

मौलिक उद्यमशीलताको आधुनिकीकरण 
नेपालमा हस्तकला, मूर्तिकला, थांकाचित्र, हस्तनिर्मित सामग्रीको उत्पादन हुन्छ । यिनको बजार पनि राम्रो छ । यस्ता मौलिक नेपाली उत्पादनलाई उद्यमशीलतासँग जोड्नुपर्छ । उद्यमशीलताले जहिले पनि नयाँ वस्तु बनाउने, भइरहेको वस्तुको विकल्पमा त्यस्तै वस्तु बनाउने, त्यसमा नयाँ चीज जोडेर थप उपयोगी बनाउने सृजनशीलता दिन्छ । मोबाइलमा क्यामरा, रेडियो आदि, पुरानो चीजको डिजाइन परिवर्तन गर्ने, एउटा काम गर्ने वस्तुलाई अरू काममा प्रयोग गर्ने बनाउनु आदि उद्यमशीलता हो । यो मानवीय विचारलाई व्यवहारमा परिणत गरेर बनाउने काम भएकाले यस्तो काम जसले पनि सोचेर गर्न सक्छ । यो दिमागको असीमित क्षमतासँग सम्बद्ध विषय भएकाले यसका बारेमा एक लेखले परिधि तोक्न सक्दैन ।

माथि लेखिएका कुरा पनि भावनात्मक विकासका कुरामात्र हुन् । किनकि यी सबैमा नेपालको भूपरिवेष्टित परिवेशले पनि बाधा पुर्‍याएको छ । छिमेकीमा आर्थिक, बौद्धिक, प्राविधिक, चिन्तनको स्थायित्व आदि भएकाले उद्यमशील छन् । यस्तोमा नेपाल निर्यात गर्ने अवस्थामा पुग्न कठिन छ । 

भूपरिवेष्टित  देशको विकास मोडल
सैद्धान्तिक रूपमा विकास गर्न सजिलो छ तर व्यावहारिक रूपमा भूपरिवेष्टित देशलाई विकास ज्यादै नै कठिन कुरा हो । बहादुर शाहले १८औं शताब्दीमा नेपालको सिमाना २७ किमी पर बंगलादेशसम्म लैजान सकेको भए आज नेपालको आर्थिक अवस्था र जीवनस्तर अहिलेको भन्दा २ गुणा राम्रो हुने थियो । त्यो भएन । त्यसैले अब नेपालले परम्परागत विकास मोडललाई परिवर्तन गर्न सक्नुपर्छ । 

१. अनुसन्धामा जोड : नेपालले अब शास्त्रीय विकासको धारणालाई परिवर्तन गरेर अनुसन्धानमा आधारित विकासमा जोड दिनुपर्छ । जसलाई सहजै निर्यात सकियोस् । भूगोलको कारणले गर्दा नेपालले पारवहनमा सहजता पाउन नसक्ने भएकाले नेपालले जोड दिनुपर्ने विषयमा कम्प्युटर सफ्टवेयर, जेनेटिक इन्जिनीयरिङ, औषधिको कम्पोजिशन, वातावरण प्रदूषण कम गर्ने उपायहरू, नानोटेक्नोलोजी सम्बद्ध विषय हुन् । यस्ता क्षेत्रमा अनुसन्धान गरेर त्यस्तो प्रविधिको विकासमा लगानी गर्न सक्ने हो भने भूपरिवेष्टित ता भए पनि देशको विकास सम्भव हुन सक्छ । 

२. आयुर्वेदिक औषधीको खोज : नेपालले धेरै एलोपेथिक औषधिको प्रयोगलाई प्रतिस्थापन गर्न सक्ने गरी आयुर्वेदिक औषधिको खोज गर्न सक्ने हो भने त्यसबाट पनि भूपरिवेष्टितता भित्रबाट नै नयाँ निकास खोज्न सकिन्छ । यसमा अहिलेसम्म भएको विकासलाई आधार मानेर अब थप अनुसन्धान गरी विकास गर्न सक्नुपर्छ ।

३. ज्ञानमा आधारित व्यवसाय : भूपरिवेष्टित देशले गर्ने काम ज्ञानमा आधारित हुनुपर्छ । ज्ञानलाई प्रस्फुटन गर्नमा पनि सरकारी नीतिको आवश्यकता हुन्छ । नेपालले ज्ञानमा आधारित कन्सल्टेन्सी, प्रविधिको खोज, सोच निर्माण लगायत ज्ञानको आधारमा गर्न सकिने कामहरूमा ध्यान केन्द्रित गर्न सक्नुपर्छ । 

४. पानीको बहु प्रयोग : नेपालमा जलस्रोतको राम्रो सम्भावना भएकोले पानीलाई सिँचाइको रूपमा प्रयोग गरेर कृषि उत्पादन बढाउने र जलविद्युत्को उत्पादन बढाएर त्यो इन्धन प्रयोग गर्नु नेपालका लागि उपयुक्त विकास मार्ग हो । 

लेखक कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा व्यवस्थापन विषयका अध्यापक हुन् ।
 

प्रतिक्रिया दिनुहोस्