arthik abhiyan
ad banner

विदेशको शीप र लगानीले गाउँमै उद्यम

Aug 14, 2019
बजार
Image Not Found

महेन्द्रनगर (अस) । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरवस्तीका एक युवा इच्छाशक्ति र जाँगर भए नेपालमै केही गर्न सकिन्छ भन्ने कुराको गतिलो उदाहरण बनेका छन् ।  अमरवस्तीका ३१ वर्षीय उत्तमप्रकाश मल्लले वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएपछि गाउँमै फर्केर व्यावसायिक लोकल कुखुरा पालन शुरू गरेका हुन् । 

मल्लले विदेशमै रहँदा नेपाल फर्केर के गर्ने भन्ने योजना बनाइसकेका थिए । कोरियाको पाँचवर्षे बसाइमा उनले चार वर्ष निर्माण क्षेत्र र फर्किने बेला एक वर्ष कुखुरापालन फर्ममा काम गरेका थिए । उनले भने, ‘मैले कोरियामा रहँदा सिकेको निर्माणसम्बन्धी काम नेपालमा गर्न सकिने जस्तो लागेन, त्यसैले कुखुरा पालन शुरू गरेको हुँ ।’ 

उनले हाल १० कठ्ठा जमीन घेरबार गरी कुखुरापालन गरिरहेका छन्  । ६०० कुखुराबाट व्यवसाय शुरू गरेका मल्लले अहिले ३ हजारभन्दा बढी कुखुरा पालेका छन् । उनले कोरियाकै सिस्टममा आधुनिक खोर निर्माण गरी व्यवसाय गरिरहेका छन् । उनको मासिक २ हजार चल्ला उत्पादन गर्ने योजना छ । 

काठमाडौं लगायतका अन्य सहरबाट लोकल कुखुराको चल्ला फर्ममा भित्रिने मल्लले बताए । करीब ७० लाखको लगानीमा व्यवसाय शुरू गरेका मल्लले तीन जनालाई रोजगारी दिएका छन् भने परिवारका सदस्यहरूले उनलाई काममा सघाउने गरेका छन् । कुखुराको आहारा बाहिरबाट किन्दा कुखुराको तौल नबढ्ने र बढी खर्चिलो हुने गरेकाले कुखुराको दाना पनि आफै उत्पादन गर्ने योजना बनाएको मल्लले उल्लेख गरे । इच्छाशक्ति भए नेपालमा व्यवसायका थुपै्र सम्भावना रहेको बताउँदै उनले विदेश गएर दुःख गर्नुभन्दा क्षमताअनुसार स्वदेशमै उद्यम गर्नु सही निर्णय हुनेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्