arthik abhiyan
ad banner

जग्गा बाँझो राख्नेलाई कारबाहीको तयारी

Aug 14, 2019 
प्रदेश ०५
NA

घोराही (अस) । तुलसीपुर उपमहानगरपालिकाले कृषि उत्पादनलाई आफ्नो प्राथमिकतामा राखेको छ । उपमहानगरले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हो । उपमहानगरले कृषिमा उत्पादन बढाउनका लागि केही नीतिगत व्यवस्था समेत गरेको छ । 

वर्षभरि जमिन बाँझो राख्नेको पहिचान गरी कारबाही गर्ने तयारी भएको उपमहानगरका मेयर घनश्याम पाण्डेयले जानकारी दिए । कस्तो कारबाही गर्ने भन्ने सम्बन्धमा अहिले नीतिगत व्यवस्था गर्न छलफल भइरहेको उनले बताए । ‘दाङमा अहिले जग्गा बाँझो राख्ने प्रचलन बढेको छ, यसले उत्पादन घट्नुका साथै आयात बढिरहेको छ,’ उनले भने, ‘जग्गा बाँझो राख्नेहरूबाट खेती गर्नेहरूभन्दा बढी कर उठाउने हो भने समस्या समाधान हुन्छ ।’

उपमहानगरले चालू आवमा कृषि क्षेत्रको विकासका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । कृषि क्षेत्रको विकास भयो भने मात्रै आत्मनिर्भर हुन सकिने भएकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको पाण्डेयले बताए । बजेटमा कृषिको समग्र विकासका लािग मेयर कृषि तथा पशु विकास कार्यक्रम सञ्चालन गर्न रू. ५० लाख छुट्याइएको छ । 

त्यस्तै, रासायनिक मलको प्रयोग कम गर्न प्रांगारिक कृषि कार्यक्रम गरिने भएको छ । सो कार्यक्रम सञ्चालनका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा वर्षैभरि जग्गा बाँझो नराख्ने किसानको पहिचान गरी पुरस्कृत गर्न र त्यसको अनुगमनका लागि ५ लाख बजेट छुट्याइएको छ । कृषि लक्षित बजेटमा बगर खेतीलाई प्रोत्साहित गर्न ३ लाख, किसानसँग पशु वैज्ञानिक भेट कार्यक्रमका लागि २ लाख, सुख्खा मौसममा मोटरबाट पानी तानेर सिँचाइ गर्ने किसानलाई विद्युत् महसुलमा शतप्रतिशत अनुदान दिन ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । जग्गाको चक्लाबन्दी तथा गह्रा सुधारका निम्ति अनुदान दिन ५ लाख, बीउ तथा बेर्ना उत्पादन र वितरणका लागि ५ लाख, बाह्रै महीना खेती गर्नका लागि सिँचाइ प्रविधि जडानमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्