arthik abhiyan
ad banner

नेपाल विद्युत् प्राधिकरण : नाफा ७ अर्ब नाघ्यो, चुहावट १५% मा झर्‍यो

Aug 14, 2019 
Image Not Found
author avatar दुर्गा लामिछाने

काठमाडौ ।  विद्युत् खपतमा वृद्धि, चुहावटमा नियन्त्रण, प्रसारण संरचनामा सुधार तथा राष्ट्रिय ग्रीडमा आन्तरिक उत्पादनको बढोत्तरीसँगै प्रशासनिक र वित्तीय सुधारका कारण नेपाल विद्युत् प्राधिकरणको नाफा गत आर्थिक वर्ष (आव) २०७५/७६ मा इतिहासकै उच्च रहन पुगेको छ । 

पछिल्ला लगातार दुई आवमा नाफामा रहँदै आएको प्राधिकरणको आव २०७५/७६ मा खुद नाफा रू. ७ अर्ब २० करोड पुगेको छ, जुन अघिल्लो आवको तुलनामा १४९ प्रतिशत बढी हो । आव २०७३/७४ देखि नाफामा जान थालेको प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य सुधार ल्याउँदा गत आवमा नाफा उच्च हुन पुगेको हो । 

क्रमिक रूपमा प्रणाली विस्तार हुँदै जानुले विद्युत् खपत बढ्नु, आन्तरिक उत्पादन बढी ग्रीडमा विद्युत् थपिनु, अपुग भएकोमा आयात गरी विक्री गर्नु तथा चुहावट नियन्त्रणजस्ता कार्यले मुनाफा बढेको प्राधिकरणले बताएको छ । 

गत आवमा ५ दशमलव १३ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको प्राधिकरणको तथ्यांक छ । आव २०७४/७५ मा २० दशमलव ४५ प्रतिशत रहेको विद्युत् चुहावट गत आवमा घटेर १५ दशमलव ३२ प्रतिशत पुगेको छ । 

आव २०७२/७३ मा करीब रू. ९ अर्ब घाटामा रहेको प्राधिकरण कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएपछि ३ वर्षदेखि निरन्तर खुद नाफामा छ । २०७३ को भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले पहिलो वर्ष प्राधिकरणलाई रू. १ अर्ब ५० करोड र दोस्रो वर्ष रू. २ अर्ब ९० खुद नाफामा लगेका हुन् ।

त्यस्तै, समग्र प्रणाली विस्तारका कारण गत आवमा विद्युत् उपभोग गर्नेको संख्या ४५ लाख थप भएको छ । यो संख्यासँगै देशमा राष्ट्रिय प्रणालीको विद्युत् ७८ प्रतिशत जनसंख्यामा पुगेको दाबी प्राधिकरणको छ । 

प्रसारण संरचनामा सुधार 
गत आवमा प्रसारण संरचना निर्माणमा प्राधिकरणले उल्लेख्य प्रगति गरेको तथ्यांकले देखाउँछ । कुल ७६१ सर्किट किलोमीटर (किमी) प्रसारण लाइन निर्माण गर्ने लक्ष्य लिएको प्राधिकरणले लक्ष्यभन्दा ४ सर्किट किमी मात्रै कम अर्थात ७ सय ५७ सर्किट किमी निर्माण गरेको छ । त्यसमध्ये पनि ६ सय ६ सर्किट किमी सञ्चालनमै आइसकेको छ । 

वितरण लाइनतर्पm ३३ केभी र त्यसभन्दा मुनि गरी करीब ९ हजार ७२२ सर्किट किमी लाइन निर्माण भई सञ्चालनमा आइसकेको छ । यही अवधिमा थप ४० सबस्टेशन निर्माणबाट ९२० एमभीए क्षमता बढाइएको तथा ६ हजार ५८१ ओटा ट्रान्सफर्मर थप गरी वितरणतर्फ ६६० एमभीए क्षमता बढाइएको प्राधिकरणले जानकारी दिएको छ । ‘आगामी वर्ष हामी विद्युत् उत्पादनका साथै वितरणको क्षेत्रमा पनि ठूलो फड्को मार्नेछौं,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलवार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

बिजुली आयातमा २३ अर्ब खर्च
प्राधिकरणले गत आवमा रू. २३ अर्ब ३ करोड बराबरको विद्युत् भारतबाट आयात गर्‍यो । निजीक्षेत्र र भारतबाट आयात गरी प्राधिकरणले विद्युत् खरीद गर्न रू. ३७ अर्ब १६ करोड खर्चियो ।

गत आवमा प्रणालीमा कुल ७ अर्ब ५५ करोड युनिट (किलोवाट आवर) विद्युत् रहेको थियो । त्यसमध्ये सबैभन्दा बढी अंश भारतबाट आयात गरिएको बिजुलीको रह्यो । गत आवमा प्राधिकरणले भारतबाट २ अर्ब ८१ करोड युनिट विद्युत् आयात गरेको थियो । त्यस्तै प्राधिकरणका आफ्ना आयोजनाहरूमार्फत् २ अर्ब ५५ करोड युनिट तथा निजीक्षेत्रबाट २ अर्ब १९ करोड युनिट प्रणालीमा आएको थियो । अर्कोतर्फ गत आवमा प्राधिकरणले बढी भएको विभिन्न समयमा गरी कुल ३ करोड ४७ लाख युनिट बिजुली निर्यात गरी रू. ३२ करोड रुपैयाँ आर्जन गरेको छ । 

प्राथमिकतामा आन्तरिक खपत 
अर्को वर्ष थप १ हजार मेगावाट (मेवा) विद्युत् राष्ट्रिय ग्रीडमा थपिने हुँदा त्यसको उपयोग आन्तरिक खपतका लागि हुने ऊर्जामन्त्री वर्षमान पुनले बताए । 

आन्तरिक खपत नै पहिलो प्राथमिकता रहेको बताउँदै उनले भने, ‘चार्जिङ स्टेशन सञ्चालनसम्बन्धी कार्यविधि अन्तिम चरणमा पुगेको छ । वितरण प्रणालीले धान्ने भए २०० मेगावाट त अहिल्यै माग आइरहेको छ, दिन सकिएको छैन, त्यसैले प्रणाली सुदृढीकरण गरी खपत बढाउन सकिन्छ ।’ 

विद्युतीय चूल्हो र विद्युतीय गाडीमा प्राथमिकता दिन सबैलाई आह्वान गर्नुका साथै भारत तथा बंगलादेश निर्यात गर्ने प्रक्रिया अघि बढिरहेको पुनले बताए । विद्युत् बंगलादेश निर्यातका सम्बन्धमा छलफल गर्न आफूले चाँडै नै भारतीय तथा बंगलादेशी समकक्षीलाई निम्त्याउन लागेकोसमेत मन्त्री पुनले जानकारी दिए । 

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेशनको सुधार लगायतका कामलाई  अभियानकै रूपमा  अगाडि बढाएको छ । प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रूपमा चालिएका कदमले विद्युत् चुहावटमा उल्लेख्य सुधार आएको प्राधिकरणको भनाइ छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्