arthik abhiyan
ad banner

‘कार लाइट’ सेवा विवादबारे पठाओको स्पष्टीकरण : ‘दूरी र प्राविधिक पक्षले थप भाडा’

Aug 14, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अनलाइन यातायात सेवा प्रदायक कम्पनी पठाओ नेपालले हालै सञ्चालन गरेको ‘कार लाइट’ सेवामा विवाद आएपछि स्पष्टीकरण जारी गरेको छ । कम्पनीले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर दूरी र प्राविधिक पक्षका कारण ट्याक्सी बुकिङ चार्जबापत सय रुपैयाँ थप भाडा लिइएको स्पष्ट पारेको हो । 

कम्पनीले शुक्रवारदेखि प्रविधिमा आधारित ‘कार लाइट’ सेवा शुभारम्भ गरेको थियो । त्यसमा काठमाडौं उपत्यकाभित्रका यात्रुले यातायात सेवाका लागि पठाओको मोबाइल एप्समार्फत कालो नम्बर प्लेट भएको ट्याक्सी बुकिङ गर्न सक्छन् । उक्त सेवामा कम्पनीले ट्याक्सी बुकिङ चार्जबापत सय रुपैयाँ थप भाडा लिने व्यवस्था गरेको थियो । तर, थप भाडा तिर्न औचित्य नभएको बन्दै सरोकारवालाहरूले विरोध तथा टीकाटिप्पणी गर्दै आएका छन् । 

त्यसपछि कम्पनीले स्पष्टीकरण जारी गर्दै थप भाडा लिन आवश्यक रहेको दाबी गरेको हो । सो सेवामा नेपाल सरकारले तोकेको बमोजिम नै भाडा निर्धारण हुने कम्पनीले बताएको छ । तर, ३ किमीसम्मको दूरीमा ग्राहकलाई लिन जानुपर्दा, फोनसंवाद तथा निरन्तर अनलाइन बस्दा हुने लगायतका खर्चलाई समायोजन गर्न सय रुपैयाँ बराबर थप भाडा निर्धारण गरिएको कम्पनीको भनाइ छ । साथै, यात्रुको चाहनाबमोजिम कुनुपर्ने अवधिको ‘वेटिङ चार्ज’लाई समेत त्यसैमा समायोजन गरेको कम्पनीले बताएको छ । साथै, यसमा निजी चारपांग्रे गाडी पनि समावेश हुने भनेर गरिएको प्रचार गलत भएको कम्पनीको भनाइ छ । 

यस्तै, कम्पनीका प्रबन्धक शशांक शमशेर थापाले नेपालको यातायात क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्र्याउन आवश्यक रहेको बताए । ‘अहिले पठाओजस्ता प्रविधिमा आधारित यातायात कम्पनीहरूलाई गैरकानूनी भएको टिप्पणी गर्दै आएका छन् । यस्तो अवस्थामा सरकारले आवश्यक कानून तर्जुमा गरेर सहजीकरण गर्न आवश्यक छ,’ उनले भने, ‘यातायात सम्बन्धी कानूनले प्रविधिलाई परिकल्पना गर्न सकेन, यसमा हाम्रो के दोष ?’

पठाओले यस अघिदेखि नै प्रविधिमा आधारित मोटरसाइकल सेवा सञ्चालन गर्दै आएको छ, जसले ट्याक्सी प्रयोगकर्ताको संख्या घटेको थियो । पठाओले कार लाइट सेवा पनि शुरू गरेपछि अन्य ट्याक्सी व्यवसायीहरू थप सशंकित भएका छन् । साथै, संघ तथा समितिमा आबद्ध ट्याक्सीहरूलाई उनीहरूले पठाओमा आबद्ध नहुन निर्देशन नै जारी गरेका छन् ।

तर, पठाओले यो सेवा ट्याक्सी व्यवसायीहरूको हित विपरीत नभएको बताएको छ । प्रविधिको जमनामा सबै ट्याक्सीहरू अब अनलाइन तथा प्रविधियुक्त प्रणालीमा नै आउनुपर्ने कम्पनीको भनाइ छ । ‘संसारभर प्रचलनमा आएको प्रविधिलाई नेपालमा विरोध गर्नुको औचित्य छैन,’ कम्पनीका एक अधिकारीले आर्थिक अभियानसँग भने ।

यस सेवामा मंगलवारसम्म करीब ६ सय ट्याक्सी दर्ता भएका छन् । ती ट्याक्सीहरूले दैनिक पाँच सयभन्दा बढी ट्रिप दिने गरेको कम्पनीको प्रबन्धक थापाको भनाइ छ । यद्यपि, कम्पनीले यात्रुको बीमाबारे भने स्पष्ट नीति बनाएको छैन । कम्पनीकाअनुसार हाललाई सम्बन्धित ट््याक्सी तथा मोटरसाइकलले व्यक्तिगत रूपमा लिएको बीमा पोलिसीमार्फत नै यात्रुको सुरक्षण गरिनेछ । तर, यसमा कम्पनीले यात्रु बीमाको लागि छुट्टै व्यवस्था गर्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्