ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भन्सार परिसर बन्यो गाडी आयातकर्ताको गोदाम

व्यवसायीको मनपरीमा भन्सार प्रशासन उदासीन

Aug 14, 2019  
प्रदेश ०२
Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । गाडी आयातकर्ताले बैंकको ब्याज बचाउन भन्सार परिसरमा नियमविपरीत कब्जा जमाएका छन् । व्यवसायीको यस्तो मनपरीमा भन्सार प्रशासन उदासीन देखिएको छ । भन्सारमा आइपुगेको गाडी ६० दिनभित्र जाँचपास गराउनुपर्ने नियम छ । तर, व्यवसायीले यो प्रावधानलाई लत्याएका छन् । 

तोकिएको समयभित्र जाँचपास नभएका गाडी भन्सारले जफत गर्न सक्ने नियम छ । नियम मिच्ने आयातकर्तालाई भन्सारले चाँडो जाँचपास गराएर लैजान मौखिक आग्रहबाहेक अरू केही गरेको छैन । यसबाट व्यवसायीको अनधिकृत रवैयालाई मलजल मिलेको छ । 

वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारमा गाडीको पार्किङ ३ सय दिनभन्दा बढी पुगेको नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) का वीरगञ्ज कार्यालयका प्रमुख हेमेन्द्रमोहन शाहीले बताए । नेपालतर्फको जाँच चौकी सञ्चालनको जिम्मा एनआईटीडीबीले लिएको छ ।  

आईसीपी र वीरगञ्जको इनार्वा भन्सारमा ४ सय १३ ओटा जीप÷कार थन्किएका छन् । आईसीपीमा यसरी राखिएका गाडीको संख्या सोमवारसम्ममा २८८ पुगिसकेको जानकारी शाहीले दिए । वीरगञ्जस्थित इनार्वामा १२५ ओटा यस्ता सवारीसाधन जाँचपास हुन बाँकी रहेको वीरगञ्ज भन्सारका सूचना अधिकारी मनीष महतोले बताए । ‘जफतको प्रक्रिया अघि बढाउँदा ठूलै विवाद हुन सक्छ । व्यावहारिक कठिनाइलाई ध्यानमा राखेर यो प्रक्रिया अपनाइएको छैन,’ महतोले आर्थिक अभियानसित भने । 

गाडी आयातको उच्च राजस्व र गोदाम भाडामा लाग्ने ब्याजबाट जोगिन आयातकर्ताले भन्सार परिसरलाई गोदामको रूपमा दुरुपयोग गरेका हुन् । गाडी आयातमा ३५० प्रतिशतसम्म राजस्व तिर्नु पर्दछ । भन्सारमा आइपुगेका गाडी तत्कालै जाँचपास गराउँदा तिर्नुपर्ने ब्याजको तुलनामा पार्किङको जरीवाना अत्यन्तै न्यून पर्ने आयातकर्ता बताउँछन् । 

प्रायः महँगा गाडी आयातमा यस्तो दुरुपयोग भेटिएको छ । ग्राहकले गाडी बुक गरेपछिमात्रै व्यवसायीले भन्सार प्रक्रिया अघि बढाउँछन् । व्यवसायीले आईसीपीमै लामो समयसम्म गाडी पार्किङ गर्दा व्यवस्थापनमा कठिनाइ भइरहेको एनआईटीडीबीका प्रमुख शाहीको गुनासो छ । 

एनआईटीडीबीले शुरूको एक दिन निःशुल्क पार्किङको सुविधा दिन्छ । ‘पहिलो ७ दिनसम्म प्रतिगाडी ३२१ रुपैयाँका दरले जरीवाना लाग्छ । ७ दिनपछि यो दर ४२८ रुपैयाँ पुग्छ,’ शाहीले बताए । यो रकम एक महीनामा १२ हजार १०० रुपैयाँ हुने बताइएको छ ।  

वीरगञ्जको इनर्वा र आईसीपीबाट बराबरजसो गाडी भित्रिन्छन् । आईसीपीमा रोकिएका आधाभन्दा बढी गाडीको पार्किङ अवधि सय दिनभन्दा बढी पुगेको छ । आधा दर्जनभन्दा बढी गाडी ३ सय दिन कटेका छन् । यस्ता गाडीबाट गत आर्थिक वर्ष २०७५/७६ मा पार्किङ शुल्क र जरीवानामात्रै १ करोड ८५ लाख रुपैयाँ उठेको एनआइटीडीबीले जानकारी दिएको छ । ‘भन्सार जाँचपास गराउनुभन्दा पार्किङको जरीवाना कम पर्ने भएपछि व्यवसायीले पार्किङ क्षेत्रलाई ओगटेर राखेका छन्,’ शाहीले भने । 

केही आयातकर्ताले भारतीय सीमावर्ती क्षेत्रमा जग्गा भाडामा लिएर गाडी गोदाम बनाएका छन् । भारतीय शहर रक्सौल आसपासका क्षेत्रमा करीब १ हजार गाडी यसरी राखिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्