arthik abhiyan
ad banner

१५ प्रतिशत घट्यो अर्जेन्टिनी पेसोको भाउ, विश्व शेयर बजार प्रभावित

Aug 14, 2019
अन्तरराष्ट्रिय
Image Not Found

साउन २९, ब्युनस आयर्स (अर्जेन्टिना) । सोमवार अमेरिकी डलरको तुलनामा अर्जेन्टिनाको मुद्रा पेसोको भाउ १५ प्रतिशत घटेको छ । अर्जेन्टिनी मुद्रा पेसोमा देखिएको व्यापक अवमूल्यनका कारण विश्व शेयर बजार नै प्रभावित भएको छ । मंगलवार एशियाका अधिकांश शेयर बजार घटेका छन् । आइतवार भएको प्रारम्भिक निर्वाचनमा राष्ट्रपति मौरिसिओ म्याक्री अनपेक्षित रूपमा पराजित भएसँगै पेसोको भाउ एकै दिन १५ प्रतिशत कमजोर भएको हो । सोमवार पेसोको भाउ डलरको तुलनामा अहिलेसम्मकै कमजोर बनेको थियो ।

सोमवार अर्जेन्टिनाको मुद्राका साथै शेयर बजारमा पनि ठूलो कमी आएको छ । मुलुकका केही शेयरले आधाभन्दा बढी मूल्य गुमाएका थिए । आनो पराजयपछि बजारमा देखिएको यस्तो नतीजाबारे प्रतिक्रिया दिँदै राष्ट्रपति म्याक्रीले यो केवल शुरुआत रहेको बताए । उनले विपक्षी दलप्रति लगानीकर्ताको आशा नरहेको प्रतिक्रिया दिएका छन् । म्याक्रीले अझै आर्थिक सुधारका लागि धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

सोमवार अर्जेन्टिनाको प्रमुख शेयर सूचक मार्भल इन्डेक्स ३१ प्रतिशत घटेको थियो । अर्जेन्टिनाका सबैभन्दा ठूला कम्पनीको शेयरमूल्यमा निकै कमी आएसँगै त्यसको प्रभाव समग्र शेयर सूचकमा देखिएको हो । अर्जेन्टिनामा आइतवार भएको निर्वाचनमा म्याक्री वामपन्थी नेता अल्बर्टो फर्नान्डेजसँग पराजित भएका छन् । आगामी अक्टोबरमा अर्जेन्टिनामा राष्ट्रपतीय निर्वाचन हुनेछ । यो निर्वाचनमा १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत पाउने दलले मात्र उक्त निर्वाचनमा भाग लिन पाउनेछन् ।

लगानीकर्ताले अक्टोबरमा हुने मुख्य निर्वाचनमा राष्ट्रपति म्याक्रीले जित्नु असम्भव जस्तै रहेको बताएका छन् । सन् २०१५ मा राष्ट्रपति बनेसँगै म्याक्रीले अघि सारेको अर्थतन्त्र बचाउने योजना अहिले लागू भइरहेका छन् । जसमा अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) को ऋण, सार्वजनिक खर्चमा कटौती तथा पूँजीगत नियन्त्रणको अन्त्यलगायत योजना छन् । तर, अर्जेन्टिना अझै आर्थिक मन्दीमा छ । साथै, उच्च मुद्रास्फीति दर र गरीबीका कारण म्याक्रीको योजना निष्प्रभावी देखिएको हो । निर्वाचन आउन २ महीना अझै बाँकी रहेको अवस्थामा म्याक्रीको पक्षमा पुनः जनमत बढ्न सक्ने केहीले आशा व्यक्त गरेका छन् ।

विश्व शेयर बजार प्रभावित
अर्जेन्टिनी मुद्रा पेसोमा देखिएको व्यापक अवमूल्यनका कारण विश्व शेयर बजार नै प्रभावित भएको छ । मंगलवार एशियाका अधिकांश शेयर बजार घटेका छन् । जापानको निक्केई २२५, चीनको साङ्हाई कम्पोजिट, दक्षिण कोरियाको कोस्पी, हङकङको हाङसेङ लगायत एशियाली बजार ओरालो लागेका हुन् । अमेरिका–चीन तथा जापान–दक्षिण कोरिया व्यापारयुद्ध चर्किंदो अवस्थामा रहेकाले एशियाली शेयर बजार ओरालो लागेको हो । त्यस्तै, यूरोपेली शेयरबजार पनि मंगलवारको शुरुआतमा घटेका छन् । सोमवार अमेरिकाका अधिकांश शेयरबजार घटेका थिए । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्